झोलुङ्गे पुल बनाउने होड

पर्वत । पछिल्लो समय पर्वतमा बनेका अग्ला र लामा झोलुङ्गे पुलहरुले आन्तारिक र विदेशी पर्यटकलाई जिल्ला भित्राउन सहयोग पुर्याएको छ । नेपालका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक अग्ला र लामा झोलुङ्गे पुल अवलोकन गर्न पवर्त आउने क्रम बढ्दो छ । पर्वतमा अहिलेसम्म ६ वटा अग्ला र लामा झोलुङ्गे पुल निर्माण भइसकेका छन् । २०६४ सालमा पहिलोपटक कुश्मा ज्ञादी झोलुङ्गे पुल निर्माण भएको थियो । मोदिखोलाको गहिरोे खोँचमाथि दुई ठुला पहाड जोड्ने गरि बिचमा पुलको निर्माण गरिएको छ । यो पुलको लम्बाई तीन सय ४४ मिटर र उचाई एक सय ३५ मिटर छ ।

यो पुल बनाउन दुई करोड रुपैँया खर्च भएको थियो । यो पुलको निर्माण कार्य सम्पन्न भएको केही वर्षमै फेरि कुश्मा र बलेवा जोडे्ने गरी अर्को लामो र अग्लो पुल निर्माण भयो । यो पुल भने कालिगण्डकीको खोँचमा कुस्माको बडागाउँदेखि बागलुङको बेलेवा जोड्ने नेपालकै लामो र अग्लो पुलको रुपमा निर्माण भएको हो । यो पुलको लम्बाइ तीन सय ४७ मिटर छ ।

दक्षिणी क्षेत्रका बासीन्दालाई सदरमुकाम कुस्मा बजारसम्म आएर फर्किनसक्ने गरी बनाएको कुस्मा–मुडिकुवा झोलुङ्गेपुललाई पनि बाइक, साइकलजस्ता सवारीहरु एकतर्फी रुपमा आउजाउ गर्न मिल्ने गरी निर्माण गरीएको छ । यो पुल तीन सय ५९ मिटर लामो र एक सय ५७ मिटर उचाइको छ । एक करोड ७६ लाख रुपियाँमा यो पुल बनेको हो । यो पुल निर्माण भएपछि दक्षिणी भेगका नागरीकलाई सदरमुकामसम्म आउन एक घण्टा समय कम लाग्ने भएको छ ।


यसैगरी सदरमुकाम कुस्मा बजारलाई ज्ञादी जोड्ने गरी कुस्माको खरेहा बाट–ज्ञादी अधिकारी फाँट झोलुङ्गे पुल बनेको छ । यो पुल पनि तीन सय ५० मिटर लामो र एक सय ५० मिटर उचाइको छ । यो पुलबाट कटुवा चौपारी, पिपलटारी, ठुलीपोखरी, शंकरपोखरी लगायतका वडालाई प्रत्यक्ष फाइदा पु¥याएको छ । दुई करोड २० लाख रुपैयाँमा यो पुल निर्माण भएको हो । पुलको निर्माण भएपछि सदरमुकामदेखि नजिकका वडामा कृषकले लगाएको कृषि उपज सामाग्री बजारसम्म पुर्याउन किसानलाई सजिलो भएको छ ।

बर्षेनी थपिएका एकपछि अर्र्को अग्ला र लामा पुलहरुकै सूचिमा कुस्मा नगरपालिका–१ पाङ अदुवाबारीदेखि बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने गरी अर्को पुल पनि थएिको छ । यो पुलको लम्बाई पाँच सय ७६ मिटर छ । २०७६ फागुनमै सक्ने भनिएको पुल दुईवटा राजमार्ग माथिबाट लट्ठा तान्दा समय लागेको थियो ।

पुलले एकपटकमा ८५ मेट्रिक टन धान्न सक्ने गरी क्षमता राखिएको छ । पुलबाट एक घण्टा बढी पैदल यात्राबाट पुग्न सकिने पाङ १० मिनेटमै पुग्न सकिने छ । सुरुमा १२ करोड २२ लाख लागत अनुमान गरिए पनि लट्ठा र लट्ठा तान्ने मेसिन मन्त्रालयले उपलब्ध गराएपछि ६ करोड ९१ लाखमा निर्माण सम्झौता भएको थियो ।

यसरी नै पुलहरु बन्ने होडबाजीमा पर्वतको फलेवास नगरपालिका सिर्सुवादेखि बागलुङको कैया जोड्ने गरी अर्को पुल पनि निर्माण भएको छ । यो पुल बनेपछि भने बागलुङको बलेवा जान दुई घण्टा लाग्ने समय अहिले ३० मिनेटमा पुग्न सकिने भएको छ ।


यसले दुई जिल्लाको पर्यटन तथा आर्थिक विकासमा ठुलो टेवा पुगेको छ । पर्वतमा बनेका विभिन्न ६ वटा पुलले दुई जिल्लाका मात्रै नभएर बागलुङ र पर्वत हुँदै म्याग्दी, मुस्ताङ जाने पर्यटकलाई समेत आकर्षित गरेको छ । बाग्लुङ–कुश्मा ,कुश्मा–मुडिकुवा र मुडिकुवा बलेवा पुलको दुरी जम्मा पाँच मिनेटको छ । नजिकैको दुरीमा सरकारले करोडौ रुपैँया खर्चेर यी पुलको निर्माण गरेको छ । सो क्षेत्रमा गएर पुलको अवलोकन गर्ने हो भने चक्रपथ जस्तो देखिन्छ । ३० मिनेटमा यहाँ भएका तीनवटा पुल परिक्रमा गर्न सकिन्छ ।

प्रतिक्रिया