विवाह पञ्चमीमा श्रद्धालुको घुइँचो

जनकपुर । धार्मिक र सांस्कृतिक महत्व बोकेको प्रसिद्ध सीताराम विवाहपञ्चमी महोत्सवअन्तर्गत जनकपुरमा श्रद्धालुको घुइँचो लागेको छ । त्रेतायुगमा भगवान् राम र सीताको विवाह भएको मान्यताअनुसार विवाहपञ्चमीमा जनकपुरधाममा राम र सीताको प्रतिकात्मक विवाह गरिएको थियो । विवाहपञ्चमीका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सीताराम स्वयम्वर र विवाह समारोह आयोजना गरिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशनदास बैष्णवले जानकारी दिए । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट दिउँसो सीताराम स्वयम्बरका लागि बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहसानमा राखी रंगभूमिमा पु¥याइएको थियो भने सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमि मैदानमा लगिएकोे थियो ।

रंगभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिकविधि सम्पन्नपश्चात सीता र रामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न भयो । यस अवसरमा निस्केको भगवानको डोला शोभायात्रामा स्थानीयका साथै सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी भएका थिए । रंगभूमि मैदानमा वर र बधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेका सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ संख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको झभल्को दिएको थियो । गोश्वामी तुलसी दासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।
त्रेता युगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेको र शिव धनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको मान्यता छ ।

रामायणमा उल्लेख गरिएअनुसार जनकपुरधामको रंगभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरीबहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिक्षा जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।

विवाह पञ्चमीका अवसरमा हुने भिडभाडलाई दृष्टिगत गरी जनकपुर उपमहानगरपालिकाले नगरक्षेत्रका सामुदायिक तथा निजी विद्यालयमा तीन दिन बिदा दिएको छ । प्रदेश–२ सरकारले पनि बुधबार प्रदेशभरी सार्वजनिक बिदा दिएको थियो । विवाहपञ्चमीको अवसरमा हुने भिडभाडमा आपराधिक घटना हुन नदिन र शान्ति सुरक्षा कायम राख्न जनकपुर नगरक्षेत्रभित्र १ हजार ३ सय सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया