म माथि राजनीतिक हिंसा गरियो : गुरुराज घिमिरे

काठमाडौं । कांग्रेस नेता गुरुराज घिमिरेले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाबाट `राजनीतिक हिंसा´ भएको आरोप लगाएका छन् । हालै सम्पन्न प्रदेश १ को अधिवेशनमा बहालवाला मन्त्रीहरूलाई पठाएर आफूविरूद्ध मोर्चाबन्दी गराउने, शक्तिको दुरूपयोग गराउने र पैसाको खोलो बगाउँदै सभापति पदमा हराएर दोस्रोपटक हिंसा गरेको आरोप लगाए ।

प्रदेश १ को सभापति पदमा २ मत अन्तरले पराजित भएपछि काठमाडौंको चाक्सिबारीस्थित पत्रकारहरूसँग मंगलबार घिमिरेले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘मलाई पहिले (२०७४) पनि उम्मेदवार बनाउन बञ्चित गर्नुभयो । अहिले फेरि दोहोरियो । प्रदेश १ मा मलाई हराइयो र राजनीतिक हिंसा गरियो । पैसाको खोलो बगाए । त्यस्तो हुँदा एक निरीह कार्यकर्ताले कसरी जित्छ ?´

प्रदेश १ अधिवेशनको मतगणनाको क्रममा १६३४ सम्म गणना गर्दा नेतृत्व गरेका नेता घिमिरे अन्त्यमा २ मतले पराजित भएका हुन् । उनले आफ्नो हारलाई चमत्कारिक हार भन्दै यसलाई नियोजित भएको बताएका छन् ।

तर मतपरिणामपछि उनले निवेदन दिए पनि केन्द्रले पुन: मतगणना गर्न आलटाल गरेको बताएका छन् । ‘मैले पुन: मतगणना भनेर निवेदन दिएपछि तुरून्त हुनुपर्ने हो । निर्वाचन संयोजकलाई भनेको छु तर आलटाल गर्नु भएको छ । म प्रदेश १ मा पीडित भएको छु,’ उनले भने ।

प्रतिक्रिया