कांग्रेस महाधिवेशन : केन्दीयस्तरका नेता पनि प्रदेशको नेतृत्वको दौडमा

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार प्रदेश कार्यसमिति चयन हुँदै छन् । प्रदेश २ बाहेक अन्य सबै (६ वटा) प्रदेशमा जारी प्रदेश अधिवेशनहरूमा निर्वाचन प्रक्रियामा गएर कार्यसमिति चयन हुन लागेका हुन् । प्रदेश कार्यसमिति कांग्रेसको नयाँ संरचना हो । कांग्रेसले यसपटक विधान संशोधन गरेर आठ तहमा पार्टी संरचना गठन गर्ने व्यवस्था गरेको छ । विधानअनुसार अब कांग्रेसको संरचना टोल, वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा हुनेछ । तर कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत वडा कार्यसमितिबाट मात्र अधिवेशन सुरु गरेको छ ।

शनिबार निर्वाचन प्रक्रियामा गएर गठन हुन लागेका कांग्रेसको प्रदेश कार्यसमितिलाई विधानले बलियो अधिकार प्रत्यायोजन गरेको छ । कांग्रेसले पछिल्लो समय संशोधन गरेको विधानले पार्टीको प्रदेश कार्यसमितिलाई बलियो बनाएपछि नेतृत्व लिने आकांक्षी पनि बढेका छन् ।
जसकारण केन्द्रीय कार्यसमितिमा अटाइसकेका, संविधान लेखनमा भूमिका निर्वाह गरिसकेका, सरकार सञ्चालनमा सहभागी भइसकेका नेताहरू पनि प्रदेश कार्यसमितिको नेतृत्व लिने दौडमा छन् ।

कांग्रेसको केन्द्रीय राजनीतिमा छुट्टै परिचय बोकेका नेताहरूमा पर्ने केन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्वमन्त्रीहर वीरबहादुर बलायर, भीमसेनदास प्रधान, पूर्व राज्यमन्त्री इन्द्रबहादुर बानियाँलगायत नेता प्रदेश कार्यसमितिको सभापति बन्ने प्रतिस्पर्धामा छन् । कांग्रेसले मातहत निकायबाट प्राप्त रायसहित पार्टीका तर्फबाट उम्मेदवारको नाम सिफारिस र निर्णय गर्ने अधिकार प्रदेश कार्यसमितिलाई दिएको छ ।

यस्तै प्रदेश सरकारमा सहभागी हुने, नहुने वा कसैलाई समर्थन गर्ने अथवा नगर्ने देखि प्रदेश सरकारमा जाने मन्त्रीको मापदण्ड तयार गर्ने अधिकारसमेत प्रदेश कार्यसमितिलाई दिइएको छ । ‘पार्टी प्रदेश सरकारमा सहभागी हुने वा नहुने वा कसैलाई समर्थन गर्ने वा नगर्ने सम्बन्धमा केन्द्रसँग समन्वय गरी नीतिगत निर्णय गर्ने र सरकारमा सहभागी हुने अवस्थामा केन्द्रको स्वीकृतिमा प्रदेश सरकारमा जाने मन्त्रीको मापदण्ड तयार गर्ने’, प्रदेश कार्यसमितिको अधिकारबारे विधानमा भनिएको छ ।

प्रदेशस्तरीय कार्यसमिति चयन गर्न प्रदेश सभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधि, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशभित्रका निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय कार्यसमितिका सदस्य मतदाता मानिन्छन् ।
यस्तै प्रदेशभित्रका पार्टीको जिल्ला कार्यसमितिका सभापति, प्रदेशका भ्रातृ÷शुभेच्छुक संघ–संस्थाका प्रमुख पनि प्रदेश अधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी हुन पाउने कांग्रेसको विधानले व्यवस्था गरेको छ ।

विधानअनुसार प्रदेश अधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी हुने प्रदेशका भ्रातृ÷शुभेच्छुक संघ–संस्थाका प्रमुखहरूलाई मतदान अधिकार भए पनि उम्मेदवार बन्न पाउँदैनन् । प्रदेश अधिवेशनका प्रतिनिधिले कम्तीमा १५ वर्ष निरन्तर क्रियाशील सदस्य रहेका प्रदेश अधिवेशनका प्रतिनिधिमध्येबाट एक जना सभापति चुन्नेछन् ।

अधिवेशनबाट कम्तीमा १० वर्ष निरन्तर क्रियाशील सदस्य रहेका प्रदेश अधिवेशन प्रतिनिधिमध्येबाट प्रदेश कार्यसमितिका लागि दुई जना उपसभापति, दुई जना महामन्त्री र एक महिलासहित तीन जना सहमहामन्त्री चयन हुने विधानमा व्यवस्था छ । प्रदेश सभापतिले प्रदेश कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी कोषाध्यक्ष मनोनयन गर्न पाउँछ । प्रदेश कार्यसमितिमा रहने सदस्य भने विधानमा गरिएको व्यवस्थाअनुसार अधिवेशनले चयन गर्नेछ ।

कांग्रेसको क्षेत्रीय कार्यसमिति चयन गर्न सुरु अधिवेशनमा सबैभन्दा बढी बागमती प्रदेशमा अधिवेशन प्रतिनिधि सहभागी हुँदै छन् । बागमती प्रदेशमा २ हजार १ सय ३७ प्रतिनिधि सहभागी हुने केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रदेश १ मा १ हजार ७ सय ७०, लुम्बिनी प्रदेशमा १ हजार ६ सय ४२, गण्डकी प्रदेशमा १ हजार १ सय ५३, सुदूरपश्चिम प्रदेशमा १ हजार १६ र कर्णाली प्रदेशमा ७ सय ४९ प्रतिनिधि मतदाताका रूपमा सहभागी भइरहेका छन् ।

जसअनुसार प्रदेश २ बाहेकका प्रदेशमा जराी प्रदेश अधिवेशनमा सहभागी कांग्रेसका प्रतिनिधिको संख्या ८ हजार ४ सय ६७ हुन आउँछ। प्रदेश अधिवेशनभन्दा तल्लो तहमा अधिवेशन हुन बाँकी रहेका कारण प्रदेश २ मा भने प्रदेश अधिवेशन सुरु हुन नसकेको बाइएको छ ।

प्रतिक्रिया