आर्मी र मच्छिन्द्रको बराबरी

काठमाडौं । साविक विजेता मच्छिन्द्र फुटबल क्लबर र उपविजेता विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा आर्मी र मच्छिन्द्रले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । यो बराबरीसँगै दुवै टोलीको उपाधि यात्रामा धक्का लागेको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

२६औं मिनेटमा रन्जित धिमालको क्रसमा नुर्लान नोभ्रुजोभको ब्याकहिललाई गोलरक्षक विकेश कुथुले नियन्त्रणमा लिन नसकेको बललाई सुनिल बलले प्रयास गरेपनि डिफेन्डरले क्लियर गर्दा मच्छिन्द्र अग्रता लिनबाट चुक्यो । ६०औं मिनेटमा सुनिल बलको फ्रिकिकलाई गोलरक्षक विकेश कुथुले नियन्त्रणमा लिन नसक्दा डिफेन्डरले क्लियर गरिदिदै आर्मीको संकट टारे । दोस्रो हाफमा दुवै टोलीबाट खासै आक्रमण बुन्न सकेन ।

गत सिजनको लिगको अन्तिम खेलमा मच्छिन्द्रले आर्मीलाई १–० ले पराजित गर्दै पहिलोपटक उपाधि जितको थियो । बराबरीसँगै मच्छिन्द्रको दुई खेलबाट ४ अंक पुगेको छ । दोस्रो बराबरी खेलेको आर्मीको २ अंक छ ।

प्रतिक्रिया