नेप्सेमा ८० अंकको पहिरो

काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्सेमा ८० अंक माथिको पहिरो गएको छ । यसदिन नेप्से परिसूचक ८०.२९ अंकले घट्दै २६ सय ५१.४९ विन्दुमा झर्न पुगेको छ भने आज सबैजसो उपसमूहहरु ऋणात्मक हुँदा बजार नै राताम्मे देखिएको छ ।

अघिल्लो हप्ता यस्तो सूचक ३.२२ अंकले घट्दै २७ सय ३१.७८ विन्दुमा अडिएको थियो । मौद्रिक नीतिको समीक्षा, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो (कर्जा/निक्षेप अनुपात)सँगै सेयर धितो (मार्जिन ल्यान्डिङ) को ४/१२ को सीमा परिमार्जन गर्ने आम लगानीकर्ताहरुको अपेक्षा थियो ।

तर, राष्ट्र बैंकले त्यसो गरिदिएन । अर्थात् यसअघिकै मौद्रिक नीतिको व्यवस्था राष्ट्र बैंकले ९० प्रतिशतको सीडी रेसियोको नीति र ४/१२ को सेयर धितो सीमा परिमार्जन नगरिदिएपछि आम लगानीकर्ताहरु पेनिक हुन पुगेका हुन् । जसको प्रभाव सेयर बजारमा पहिलो दिन नै देखिएको छ ।

त्यसो त आज सेयर बजार करिब ३ प्रतिशत (२.९४ प्रतिशत) ले नै घटेको छ । यद्यपि, ८० अंक माथिले घटेको बजारमा आज ५ अर्ब ८३ करोड ५१ लाख कारोबार भएको छ ।

प्रतिक्रिया