बन्दसत्रमा पदाधिकारीको संख्या बढाउने विधान संशोधन प्रस्ताव पेश

काठमाडाैं । नेकपा एमालेको दशौं महाधिवेशन अन्तरगत जारी बन्दशत्रमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने प्रस्ताव पेश गरेको छ । विघटित केन्द्रीय कमिटीका उपमहासचिव एवं विधान महाधिवेशनका लागि गठन भएको विधान संशोधन मस्यौदा समितिका संयोजक विष्णु पौडेलले शनिवार साझ विधान संशोधनको प्रस्ताव पेश गरेका हुन् । प्रस्तावमा उपाध्यक्षको संख्या बढाएर ६ पुर्याउन प्रस्ताव गरिएको छ । यस्तै उपमहासचिवको संख्या ३ बनाउन प्रस्ताव गरिएको छ । गत असोजमा सम्पन्न विधान महाधिवेशनले एक वरिष्ठ उपाध्यक्षसहित ४ उपाध्यक्ष तथा उपमहासचिव एकजना मात्र राख्ने प्रस्ताव गरेको थियो ।

शुक्रवार मध्यरातमा बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले सहमतिको प्रयासका लागि भन्दै केन्द्रीय कमिटी सदस्यको संख्या बढाउन प्रस्ताव लैजाने निर्णय गरेको थियो । विधान संशोधन प्रस्तावमा ४५ सदस्यीय स्थायी कमिटी सदस्य र ९९ सदस्यीय पोलिटब्युरो बनाउन प्रस्ताव गरिएको छ । महाधिवेशनको बन्दशत्र संचालनका लागि केपी ओलीसहितको अध्यक्ष मण्डल बनाइएको छ । अध्यक्ष मण्डलमा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, इश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालवावु पण्डित र गोमा देवकोटा सदस्य रहेका छन् ।

प्रतिक्रिया