निर्देशनमा फर्किए नवीन

काठमाडौं । नेपाली चलचित्रमा मौलिकताको बहस छेडेका निर्देशक नवीन सुब्बा लामो समयपछि निर्देशनमा फर्किएका छन् । दश वर्षअघि उनको निर्देशनमा बनेको ‘गुड बाई काठमाडौं’ ले निकै चर्चा पाएको थियो । त्यसपछि उनी अहिले चलचित्र ‘गाउँ आएको बाटो’ मार्फत निर्देशनमा फर्किएका छन् । राजधानीमा मंगलबार एक कार्यक्रमका बीच चलचित्र निर्माणको घोषणा गरिएको हो । सो अवसरमा निर्देशक सुब्बाले लामो समयपछि निर्देशनमा फर्किन पाउँदा आफूलाई खुसी लागेको बताए ।

भोजपुरको ग्रामीण क्षेत्रमा छायांकन गरिन लागिएको चलचित्र ‘गाउँ आएको बाटो’ मा राई समुदायको कथालाई उतारिने जनाइएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकारको प्रमुख भूमिका रहनेछ ।

चलचित्र छायांकनका लागि अमेरिकाबाट मार्किन कापरोन आएको निर्देशक सुब्बाले जानकारी दिए । उनका अनुसार आफ्नो सोच नमिल्ने र खर्चको दृष्टिले समेत धान्न नसकिने भएकाले अमेरिकाबाट छायांकार ल्याएइएको हो । यस्तै, चलचित्रको कार्यकारी निर्मातामा नेपालबाट सञ्जु राई, हङकङबाट देवराज राई, युकेबाट नरहाङ राई र अमेरिकाबाट भीम राई रहेका छन् । हङकङ, मकाउ, नेपाल, युके, अमेरिका, बेल्जियम, दक्षिण कोरिया, नेदरल्यान्ड, पोर्चुगल र जर्मनी निवासी व्यक्तिसमेत चलचित्रको सह–निर्मातामा रहेको निर्माण पक्षले जनाएको छ ।

निर्देशक सुब्बाले चलचित्र राम्रो बनाउन कोशिस गर्ने सुनाए । सो अवसरमा अभिनेता दयाहाङले निर्देशक नवीन सुब्बासँग काम गर्नु आफैमा चुनौती र अवसर दुवै भएको जिकिर गरे । निर्देशक सुब्बाले निर्माण गरेको टेलिचलचित्र ‘दलन’ मा काम गरेका दयाहाङले फेरि काम गर्ने अवसर मिल्दा खुसी लागेको बताए ।

प्रतिक्रिया