दक्षिण भारतमा देखियो ‘नोरो भाइरस’

दक्षिण भारतको केरला राज्यमा ‘नोरो भाइरस’ फेला परेको पुष्टि भएको छ । केरलाकी स्वास्थ्यमन्त्री वीना जोर्जले केही दिनअघि सर्वसाधारण नागरिकलाई नोरो भाइरसबारे सतर्क रहन आग्रह गर्दै त्यसबाट जोगिने उपायहरू सार्वजनिक गरेकी छन् । यो भाइरसलाई अंग्रेजीमा ‘विन्टर भमिटिङ बग’ पनि भनिन्छ । यसको संक्रमण हुँदा मानिसलाई उल्टी र पखाला लाग्छ । नोरो भाइरस जनावरबाट मानव शरीरमा सर्छ र यो अतिसंक्रामक हुन्छ । विज्ञहरूले यसलाई ‘भाइरसको संसारको फरारी’ को संज्ञा दिने गरेका छन् । दुई हप्ताअघि वायनाड जिल्लाको विथिरनजिकै रहेको पुकोडेस्थित एक पशुचिकित्सा क्याम्पसका १३ जना विद्यार्थी नोरो भाइरसबाट संक्रमित भएको पुष्टि भएको थियो । स्वास्थ्य अधिकारीहरूले भने भाइरस नियन्त्रणमा आइसकेको र उक्त भाइरस थप फैलिएको कुनै सूचना नआएको बताएका छन् ।

अहिले सर्वसाधारणलाई यो भाइरसबारे जानकारी दिन थालिएको छ । पशुचिकित्सा विज्ञान क्याम्पसका विद्यार्थीहरूको विवरण पनि राखिएको छ । उक्त क्याम्पसका अधिकारीहरूका अनुसार संक्रमण सबैभन्दा पहिले क्याम्पस परिसर भन्दा बाहिर बस्ने विद्यार्थीहरूमा देखा परेको थियो । भाइरस देखापरेपछि स्वास्थ्य अधिकारीहरूले त्यसको नमुना लिएर परीक्षणका लागि अलाप्पुझास्थित भाइरस विज्ञान संस्थान (एनआइबी) मा पठाएका थिए । राज्यकी स्वास्थ्यमन्त्री वीना जोर्जले स्वास्थ्य अधिकारीहरूको एउटा बैठकको अध्यक्षता गरी वायनाडको स्थितिबारे जानकारी लिइन् ।

स्वास्थ्य विभागले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार मन्त्री र सरकारी अधिकारीहरूले भाइरस फैलिन नदिनका लागि आवश्यक कार्य तीव्र गतिमा गर्न निर्देशन दिएका छन् । अहिले चिन्ता गर्नुपर्ने परिस्थिति नरहेको तर सबैले सतर्कता भने अपनाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ । यो भाइरस दूषित खाद्य पदार्थ र पानी अनि संक्रमित व्यक्तिबाट फैलिन्छ ।

केरलाको स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा नोरो भाइरसबाट संक्रमित मानिसहरूले घरमै आराम गर्नुपर्ने बताइएको छ । त्यस्ता व्यक्तिहरूले जीवनजल र उमालेको पानी पिउनुपर्ने हुन्छ । खाना खानुअघि र शौचालय गइसकेपछि साबुनपानीले राम्ररी हात धुन भनिएको छ । सरकारी सूचनामा पशुपक्षीसँग सम्पर्कमा रहने मानिसले विशेष ध्यान दिनुपर्ने उल्लेख गरिएको छ । स्वस्थ मानिसमा नोरो भाइरसको प्रभाव त्यति धेरै नपर्ने भए पनि बालबालिका, वृद्ध र स्वास्थ्यसम्बन्धी अन्य समस्या झेलिरहेका मानिसहरूलाई भने यसले गम्भीर प्रभाव पार्न सक्छ ।

लक्षण के हुन् ? ः इंग्ल्यान्डमा यो वर्षको जुलाई महिनामा १ सय ५४ जनामा नोरो भाइरस संक्रमण भएको पुष्टि भएको थियो । अचानक पखाला लाग्नु र उल्टी हुनु यो संक्रमणको लक्षण हो । त्यसबाहेक उच्च ज्वरो र शरीरमा दुःखाइ पनि यसको लक्षण हो । संक्रमित भएको एकदेखि दुई दिनपछि लक्षणहरू देखा पर्छन् । यो भाइरस निकै तीव्र गतिमा फैलिन्छ । संक्रमित व्यक्तिबाट भाइरसका करोडौँ कण निस्किन सक्ने र अरूलाई सर्न केही कण मात्रै पर्याप्त हुने बताइएको छ । संक्रमित व्यक्तिसँग संसर्ग भए वा थुकबाट यो भाइरस फैलिन सक्ने सम्भावना रहन्छ ।
अनुसन्धानकर्ताहरूले ४० वर्षदेखि नोरो भाइरस संक्रमणको उपचार खोजिरहेका छन् । तर यसका विरुद्ध कुनै उपाय पनि प्रभावकारी देखिएको छैन । चिकित्सकहरूका अनुसार यो भाइरसबाट जोगिन पटकपटक साबुन र तातो पानीले हात धुनुपर्छ । कपडा र शौचालय सफा राख्नुपर्छ र पानीमा ब्लीच हालेर घरको सफाइ गर्नुपर्छ । एल्कोहलले कोरोना भाइरसलाई मारे पनि नोरो भाइरसलाई मार्न सक्दैन । तर ६० डिग्री तापमानमा कपडा धुँदा भने यो भाइरस मर्न सक्छ भनिएको छ ।

प्रतिक्रिया