कात्तिक २९ सम्मका लागि स्थगित भयाे प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक कात्तिक २९ गतेसम्मका लागि स्थगित भएको छ । एमालेका सांसदहरुले बिहीबार पनि सदन अवरुद्ध गरेको थियो । सभामुख अग्नीप्रसाद सापकोटाले संसदको अवरोध हटाउन गरेको आग्रहलाई प्रमुख प्रतिपक्षी दल एमालेले अस्वीकार गर्दै आएको छ । कारबाही गरेका १४ सांसदलाई पद मुक्त नगरी पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले भदौ २३ बाट लगातार संसद अवरोध गर्दै आएको छ। अवरोधका बीच सभामुख सापकोटाले संसदमा सरकारको बिजनेस अघि बढाएपछि एमाले झनै रुष्ट छ।

अवरोधका बीच बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हालेको जानकारीसम्बन्धी राष्ट्रपतिको कार्यालबाट प्राप्त पत्र पढेर सुनाएका थिए । त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बढूले राष्ट्रिय दलित आयोगको प्रतिवेदन सभामा पेस गरे ।

बिरामी भई उपचार गराइरहेका सांसदहरुको बिदा आजको बैठकले स्वीकृत गरेको छ । उपचार गराइरहेका सांसदहरू झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरि लगातार १३ वटा बैठकमा अनुपस्थित भएका छन् । बैठकले उनीहरूको बिदा स्वीकृत गरेको हो । वरिष्ठ नेता खनाल उपचार गराएर स्वदेश फर्किइसकेका छन् भने घले र गिरिले विदेशमा उपचार गराइरहेका छन् ।

प्रतिक्रिया