एमालेले तेस्रो मुख्यमन्त्री पनि गुमायो

काठमाडौं । झण्डै दुईतिहाइ मत सहित सरकार सम्हालेका एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएपछि सत्ता गुमाउने पालो मुख्यमन्त्रीमा सरेको छ ।

बुधबार राजीनामा दिएकी वागमती प्रदेशकी मुक्यमन्त्री अष्टलक्ष्मी शाक्य सत्ता गुमाउने तेस्रो एमाले मुख्यमन्त्री हुन् । यस अघि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका शंकर पोखरेलले मुख्यमन्त्री पदबाट हात धोइसकेका छन् ।

वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राजीनामा पछि गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री हुने निश्चित भएको छ ।

गठबन्धनको तर्फबाट पाण्डेले बुधबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष दावी पेश गरेका छन् । शाक्यको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले आज बिहीबार ३ बजे सम्मका लािग नयाँ सरकार दावी गर्न आह्वान गरेका छन् ।

एमालेबाट एकल बहुमतको हैसियतमा मुख्यमन्त्री नियुक्त भएकी शाक्यले विश्वासको मत लिन बुधबार डाकेको बैठकमा मार्गप्रशस्त गरेको घोषणा गरेकी थिइन् । शाक्य गत २ भदौमा मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।

एकल बहुमत अर्थात् एमालेका ५६ जना प्रदेशसभा सदस्यको समर्थन दावी गर्दै मुख्यमन्त्री बनेकी शाक्य पार्टी विभाजन भएर १३ सदस्य एकीकृत समाजवादीमा लागेपछि अल्पमतमा परेकी थिइन् ।

अहिले प्रदेशमा एमालेका ४३ जनामात्रै सांसद छन् । वागमती प्रदेशसभामा १०९ जना प्रदेशसभा सदस्य रहेकोमा सरकार गठनको लागि ५५ सदस्यको समर्थन आवश्यक पर्छ ।

यहाँ नेकपा माओवादी केन्द्रका २३, कांग्रेसको २२, विवेकशील साझा पार्टीको तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) को एकजना प्रदेशसभा सदस्य छन् ।

नेकपा (एकीकृत समाजवादी)संसदीय दलका नेता सांसद राजेन्द्र पाण्डेले माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल, नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँसहित जनता समाजवादी पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्रीको लागि पाण्डेले दाबी पेस गरेका हुन् । पाण्डे आजै मुख्य मन्त्रीमा नियुक्त हुनेछन् ।

प्रतिक्रिया