राजेन्द्र पाण्डे भोलि मुख्यमन्त्री नियुक्त हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे भोलि, बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुने भएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री नियुक्तिका लागि बाटो खुलेको छ । संघीय सरकारमा गठबन्धन गरिरहेका चार दलमध्ये प्रदेश सभामा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीले यसअघि नै पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति गरिसकेका छन् ।

मुख्यमन्त्री शाक्यको राजीनापछि अब प्रदेश प्रमुखले निश्चित समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् । माओवादी केन्द्रका सांसद विशाल खड्काले प्रदेश प्रमुखले भोलिसम्मको समय दिएर सरकार गठनको आह्वान गर्ने र पाण्डे भोलि मुख्यमन्त्री नियुक्त हुने बताए । ‘भोलि उहाँ (राजेन्द्र पाण्डे) मुख्यमन्त्री नियुक्त हुनुहुन्छ । त्यसपछि गबन्धनबाट एक/एक जना मन्त्रीले समेत शपथ लिनुहुन्छ’, खड्काले भने । पाण्डे झण्डै सात महिना मात्रै मुख्यमन्त्री हुनेछन् । गठबन्धनबीचको सहमति अनुसार त्यसपछिको बाँकी समय कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्नेछन् ।

प्रतिक्रिया