भेट्रान्स फुटबलको विजेतालाई ५ लाख

काठमाडौं । यसै साता सुरु हुने मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पाउने भएको छ । आयोजक फुटबलर्स मिसन टुगेदरले राजधानीमा बिहीबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी पूरा भएको उल्लेख गर्दै विजेता, उपविजेता टोलीका लागि पुरस्कार राशीको पनि घोषणा गरेको थियो । प्रतियोगितामा दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र लगनखेलमा रहेको आर्मीको खेल मैदानमा हुने बताइएको छ । शनिबार सुरु हुने प्रतियोगिता कात्तिक १६ गते सम्म चल्नेछ । प्रतियोगिताका सहभागी २१ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ ।

हरेक समूहको शीर्ष टोलीसँगै ७ समूहको उपविजेतामध्ये एक उत्कृष्ट टोली क्वाटरफाइनलमा पुग्नेछन् । समूह चरणका खेल कात्तिक ११ गते सम्म हुने आयोजनले जनाएको छ । क्वाटरफाइनलको कात्तिक १२ देखि सुरु हुनेछ । सेमिफाइनल कात्तिक १४ गते र त्यसको दुई दिन पछि फाइनल हुनेछ । मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा ४० वर्षमाथिको खेलाडी हुनुपर्नेछ । ३ जना ३५ वर्षमाथिको खेलाडी राख्न पाउने प्रावधान आयोजकले तय गरेको छ । उद्घाटन खेलमा नेपाल आर्मी भेट्रान्स र फुटबल फेलोसिपबीच हुने यसअघि नै सर्वजनिक भइसकेको छ ।

प्रतियोगिता सञ्चालनका लागि झन्डै २२ लाख रुपैयाँ लाख्ने अनुमान गरिएको छ । प्रतियोगिताबाट उठेको रकम खर्च कटाएर अक्षयकोष स्थापना गरिनेछ । हरेक उमेर समुहलाई स्वास्थ राख्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका सदस्य विज्ञानराज शर्माले जानकारी दिए । भिआईपीतर्फ १ सय र साधरणतर्फ ५० रुपैयाँ टिकट शुल्क तोकिएको छ ।

प्रतिक्रिया