अलमुताइरीको म्याद आगामी मार्चसम्म

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपपछि नेपाल नआई कतार पुगे । भारतसंगको फाइनल खेलअघि उनले त्यही खेल नै नेपाली टिमसंग आफ्नो अन्तिम खेल हुनेसमेत घोषणा गरे । साफले प्रतिबन्ध लगाएपछि भारतसँगको फाइनल खेल स्ट्याण्डमा बसेर हेरेका उनले खेल सकिएपछि नेपाल आफ्नो मुटुमा रहेको र कसैले हटाउन नसक्ने प्रतिक्रिया दिए । प्रशिक्षक अल्मुताइरीले बुधबार मात्र फिफाले आयोजना गरेको फ्युचर अफ फुटबल भिडियो कन्फरेन्समा नेपालकै प्रतिनिधित्व गरेका छन् । उक्त भिडियो कन्फरेन्समा पुरुष राष्ट्रिय टिमका प्रशिक्षकहरु सहभागी थिए ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बुधबार नै अलमुताइरीसँग भेट गरेको फोटो फेसबुकमा पोष्ट गरे । उनले लेखेका छन्, ‘नेपाली राष्ट्रिय फुटबल टिमलाई थप मजबुत बनाउने सम्बन्धमा आजको हाम्रो छलफल ।’ एन्फा महासचिव इन्द्रमान तुलाधरले पनि अलमुताइरीको सम्झौता अझै बाँकी रहेको बताए । ‘उहाँ अहिले भ्याकेसनमा जानुभएको हो, फर्किनुहुन्छ । हाम्रो छलफल भइरहेको छ’ तुलाधरले भने । अलमुताइरीले सम्झौता सकिन लाग्यो भनेका छन् नि भन्ने प्रश्नमा तुलाधरले ‘उहाँले के भन्नुहुन्छ थाहा भएन । तर उहाँको सम्झौता आउँदो मार्चसम्म छ ।’

एन्फाले गत चैत अर्थात अप्रिल २०२१ मा एक वर्षका लागि अलमुताइरीसंग सम्झौता गरेको थियो । त्यस अनुसार उनीसँगको सम्झौता २०२२ मार्च सम्म रहन्छ । अलमुताइरीले यसअघि पनि राजीनामा दिने भन्दै सामाजिक सञ्जालमा लेखेर विवादमा आएका थिए । नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पु¥याएर उनले इतिहास रचिसकेका छन् । उनको चर्चा सबैतिर छ । नेपाली समर्थक पनि उनी अझै नेपाल बसेको हेर्न चाहन्छन् । यस्तै अलमुताइरी पनि सामाजिक सञ्जालमा हिट छन् र समर्थकलाई आकर्षित गर्न माहिर छन् । उनले वान टिम, वान गोल, जय नेपाल भन्ने नारा नै बनाएर टिमलाई एकबद्ध बनाएका छन् । तर मैदान बाहिरको गतिविधि, सामाजिक सञ्जालको गतिविधि र त्यसबाट आएको विवादले भने उनी विवादमुक्त छैनन् ।

प्रतिक्रिया