प्युठानमा खोलाले बगाउँदा एकको मृत्यु, दुई जना बेपत्ता

प्युठान । प्युठानमा अविरल वर्षाको कारण आएको खोलाले तीन जनालाई बगाएको छ । माण्डबी गाउँपालिकास्थित अरङखोला एक्कासी बहाव बढेपछि एक महिला र दुई बालबालिकालाई बगाएको प्रहरीले जनाएको छ ।

माण्डबी गाउँपालिका– ४ आपचौरबाट उनिहरु स्थानीय अस्पताल जाने क्रममा आज बिहान साढे आठ बजेको आसपास घर नजिकैको अरङखोलाले बगाएको थियो । माण्डबी गाउँपालिका – ४ आपचौर बस्ने २८ वर्षिया देविसरा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै देविसरा कार्कीको दुई वर्षिय छोरा दिनेश कार्की, स्थानीय मधु अधिकारीकी ८ वर्षीया छोरी अनुस्का अधिकारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देबिप्रसाद गैरेले जानकारी दिए । प्रहरी निरीक्षक गैरेका अनुसार माण्डबी गाउँपालिका– २ ढिकावनमामा देविसराको शव फेला परेको छ ।

बेपत्ता दुई जना बालबालिकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । आइतबारदेखि जिल्लामा निरन्तर पानी परिरहेकोले नदिहरुमा पानीको बहाव बढी भएकोले खोजि कार्यमा समस्या भएको छ । स्थानीय सुरक्षाकार्मी प्रहरीले मिलेर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया