रिलायन्स लाइफकाे ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बिमा योजना’

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बिमा योजना’ सार्वजनिक गरेको छ । सो बिमा योजनाअन्तर्गत बीमितलाई प्रत्येक वर्ष बिमालेखको वार्षिकोत्सव मितिमा बिमाङ्‍कको पाँच प्रतिशत रकम भुक्तान गरिने कम्पनीले जनाएको छ । उक्त व्यवस्थाले बीमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बिमाङ्‍क रकम बराबरको रक्षावरणसमेत प्रदान गर्ने कम्पनीको भनाइ छ । ‘यो योजना बीमितले १५ वा २० वर्षको अवधिका लागि लिन सक्ने छन् ।

१५ वर्षको बिमा अवधिको समाप्तिमा बीमितलाई अग्रिम वार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाइ बाँकी रहेको बिमाङ्‍क रकम र आर्जित बोनस प्रदान गरिनेछ भने २० वर्षको बिमा अवधिको समाप्तिमा अग्रिम वार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाइ बाँकी बिमाङ्‍क रकम, आर्जित बोनस र बिमाङ्‍क रकमको १० प्रतिशत थप रकम (एक पटकको लागिमात्र) प्रदान गरिनेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस योजनामा बिमा अवधिमा बीमितको मृत्यु भएमा इच्छाएको व्यक्तिलाई बिमाङ्‍क रकम र आर्जित बोनस प्रदान गरिने कम्पनीले जनाएको छ । यो योजना १८ देखि ५५ वर्ष उमेरका ग्राहकले लिन सक्ने छन् । यो योजनाअन्तर्गत न्यूनतम बिमाङ्‍क रकम एक लाख रुपैयाँ कायम गरिएको छ। यो योजनासँगै बीमितले थप न्यूनतम बिमा शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बिमा शुल्क मिनाहाजस्ता अतिरिक्त सुविधाहरु पनि लिनसक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया