‘गाँवै रमाइलो’ भाग २ ले दर्शकको मन लोभ्याउँदै

काठमाडौं । हिन्दुहरुको महान पर्व बडा दशैँ नजिकिएसँगै दशैँ गीत ‘गाँवै रमाइलो’ को भाग २ सार्वजनिक भएको छ । गीत सार्वजनिक भएको छोटो समयमै धेरैले मन पराइरहेका छन् ।

पोहोर साल पनि यही समयको अवसर पारेर ‘गाँवै रमाइलो’ को भाग १ ल्याएर सफलता प्राप्त गरेपछि अहिले पनि भाग २ ल्याएको उक्त गीतकी गायिका सविता परियारले बताइन् । केही दिन अगाडि सार्वजनिक उक्त गीतमा शिव हमालको शब्द रचना र संगीत, तथा सुनील परियारको संगीत संयोजन रहेको छ भने गायिका सविता परियार, विमल परियार र कुलेन्द्र विश्वकर्माले आवाज दिएका छन् ।

भाग १ को गीतमा पनि हमालकै शब्द र संगीत थियो । तर, आवाज भने गायिका सविता र विमलको मात्रै आवाज रहेको थियो । अहिलेको गीतमा कुलेन्द्रको आवाज थपिएको हो । उक्त गीतको भिडियोमा बिक्रम चौहानको निर्देशन रहनुका साथै राजेश घिमिरेले छायांकन गरेका छन् ।

त्यसैगरी भिडियोमा रामजी खाँण, कुलेन्द्र विश्वकर्मा, राजु गुरुङ, रञ्जीता गुरुङ, रीना थापामगर, राजकुमार अधिकारी, निर आले, शिसिर पौडेल, अर्जुन खड्का, रमेशबाबु थापा, रितु तामाङ, मदन परियार, बविन सिंह ठकुरी, गोविन्द बिवस, शरद एलजी, निशा मगर, अस्मीता राना, नारायणी खत्री, इन्दी गुरुङ, चाहना मगर, बालचन्द्र बराल, केदार गिरी, करिश्मा परियार, ममता रानामगर, आरती परियार, नविन परियार, बिक्रमबाबु विश्वकर्मा, प्रकाश भावुक रसाइली, अकवर खाँणलगायत धेरै कलाकारहरुको नृत्य रहेको छ ।

मिलन विश्वकर्माले सम्पादन गरेको उक्त भिडियोलाई गीतकार शिव हमालको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । आफ्नो जागीरको सिलसिलामा देश तथा विदेशमा छरिएर बसे पनि दशैँको समयमा आफ्नै गाउँमा फर्किएर दशैँ मनाउँदा रमाइलो हुन्छ भन्ने सन्देश यस गीतको शब्दमार्फत दिन खोजिएको गीतकार हमालले बताए ।

गाउँघरमा लठ्ठे पिङ खेलेर साथीभाईबीच एक आपसमा खुशी साटासाट गरेर दशैँ मनाएको विगतका पल पनि गीतको शब्दमा प्रस्तुत गरिएको उनको भनाइ थियो । त्यस्तै गायिका सविता परियारले भाग १ गीत धेरै दर्शक स्रोताले मन पराएकोमा खुशी व्यक्त गर्दै आफूलाई थप उचाइमा पुर्याएको जिकिर गरिन् ।

‘पहिलाको गीत धेरै दर्शक स्रोताहरुले मन पराइदिनुभयो, त्यसैको सफलताले अहिले पनि त्यसैको भाग २ ल्याएका छौँ’, उनले भनिन्, ‘भाग १ लाई जस्तै यसलाई पनि मन पराइदिनुहुन्छ भन्ने अपेक्ष गरेको छु ।’ यही गीतको सफलताले नै देशमा लकडाउन खुकुलो भएपछि धेरै ठाउँका मेला महोत्सवहरुबाट अफर आउन थालेको गायिका परियारले सुनाइन् ।

प्रतिक्रिया