सल्यानमा जिपले ठक्कर दिँदा दुई जना छात्राको मृत्यु, तीन घाइते

सल्यान । सल्यानमा शुक्रबार बिहान जिपले ठक्कर दिँदा दुई जना छात्राको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । जिल्लाको थारमारेबाट श्रीनगरतर्फ आइरहेको लु २ च ५७०१ नम्बरको डबल क्याप जिपले शारदा नगरपालिका– ६ बाङ्गे सल्लाका नजिकै सडक छेउमा वसिरहेका छात्राहरुलाई ठक्कर दिएको थियो ।

जिपको ठक्करबाट गम्भीर घाइते भएकी शारदा नगरपालिका– ६ बरला निवासी १८ वर्षिया रेखा बुढाथोकी र सोही ठाउँकी १८ वर्षिया सुनिता नेपालीको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा दाङ जिल्लाको राम्रीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका रेखा र सुनितालाई छाती तथा मुखमा चोट लागेको थियो । उनिहरुको प्राथमिक उपचारपछि थप उपचारका लागि रिफर गरिएकोमा गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडीको ठक्करबाट घाइते भएका शारदा नगरपालिका– ६ बरालाकी १८ वर्षिया मिना परियार, १६ वर्षिया सुशिला नेपाली र १८ वर्षिया दिपा बुढाथोकीलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

शिवजन माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्राहरु सडकको छेउमामा बसिरहेको बेला तिव्र गतिमा रहेको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ । घाइतेहरुको छाती तथा मुखमा गम्भीर चोट लागेको र जिल्लामा उपचार हुन नसकेपछि नेपालगञ्ज रिफर गरिएको प्रहरीको भनाई छ ।

जिपमा सवार ४ जना सकुशल भएको र जिप सडक भन्दा १० मिटर तल खसेको इलाका प्रहरी कार्यालय शितलपाटीका प्रहरी नायव निरीक्षक लिलाराम चन्दले जानकारी दिए ।

दुर्घटना पछि जिप चालक शारदा नगरपालिका ४ निवासी टंक बहादुर वलीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया