सल्यान । जिल्लामा शिघ्र कुपोषण भएका बालबालिकाहरूको एकीकृत व्यवस्थापनका लागि बहिरंग उपचार केन्द्रको स्थापना भएको छ । जिल्लाको शारदा नगरपालिका–१ स्थित खलंगा स्वास्थ्यचौकी र छत्रेश्वरी गाउँपालिका–६ स्थित छायाक्षेत्र स्वास्थ्य चौकीमा केन्द्र स्थापना गरिएको हो ।
जिल्लामा शिघ्र कुपोषणबाट प्रभावित बालबालिकाहरूको उपचारमामा सहजता ल्याउने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो । केन्द्रको स्थापना लगत्तै शिघ्र कुपोषित तीन जना बालबालिकाको उपचार सुरु गरिएको छ । दलित विकास समाज सल्यानको प्राविधिक सहयोग तथा सुआहारा कार्यक्रमको आर्थिक सहयोगमा केन्द्र स्थापना गरिएको छ ।
स्थापना भएका बहिरंग उपचार केन्द्रमा कडा, शिघ्र तथा मध्यम कुपोषण भएका ६ देखि ५९ महिना सम्मका बालबालिकाहरूलाई उपचारात्मक खानामार्फत उपचार गरिनेछ । केन्द्रमा बालबालिकाहरूलाई बालभिटा, पाखुरा मापनको माध्यमबाट सबै प्रकारका कुपोषित बालबालिकाहरूको पहिचान गरी उपचार गरिने शारदा नगरपालिका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र हमालले जानकारी दिए ।
‘जिल्लामा हालसम्म कुपोषित बालबालिकाहरूको उपचारका लागि केन्द्र सञ्चालन नहुँदा उपचारका लागि जिल्ला बाहिर लिनुपर्ने वाध्यता थियो अब आफनै जिल्लामा केन्द्र भएपछि उपचार गर्न सहज हुनेछ’, स्वास्थ्य शाखाप्रमुख हमालले भने । जिल्लाका सबै स्थानीय तहहरूमा पनि बालबालिकाहरू कुपोषणको सिकार भएकोले यस प्रकारको बहिरंग उपचार केन्द्र स्थापना गर्नुपर्ने आवश्यक रहेको हमालले बताए ।
कुपोषणबाट प्रभावित बालबालिकाहरूको उपचार आप्mनै स्थानीय तहमा हुन थालेपछि स्थानीयहरू समेत खुसी हुन थालेका छन् । शारदा नगरपालिकास्थित खलंगा स्वास्थ्यचौकीमा शिघ्र कुपोषणबाट प्रभावित छोरालाई उपचार गर्न पाउँदा खुसी भएको बताइन् । ‘नगरपालिकाभित्र कुपोषणका बिरामीहरूको उपचार गर्ने ठाउँ नहँुदा जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो अब आफ्नै घरछेउमै आफ्नो छोराको उपचार गर्न पाउँदा खुसी लागेको छ’, शारदा नगरपालिका–१ शान्तिनगरकी टीका नेपालीले भनिन् ।
छत्रेश्वरी गाउँपालिका–६ रानागाउँकी भुमी रोकाले पनि कुपोषित भएकी छोरीलाई आप्mनै गाउँपालिकामा उपचार गर्न पाउँदा खुसी लागेको बताइन् । ‘जिल्ला बाहिर लैजाँदा पैसा खर्च धेरै हुने अनि अहिलेको महामारीमा फेरी कोरोना संक्रमणको पनि डर भयो तर मैले मेरै घरछेउमै रहेको स्वास्थ्यचौकीमा उपचार गर्न पाउँदा धेरै खुसी लागेको छ’, भुमी रोकाले भनिन् ।
ग्रामीण समुदायमा गर्भवती महिला र सुत्केरी महिलाहरूलाई विभिन्न धार्मिक तथा परम्परागत सोचाइका कारण पनि पोषिलो खानेकुरा खान नदिने भएकोले बालबालिकाहरू कुपोषित हुने गरेका छन् । जिल्लामा कुपोषित बालबालिकाहरूका लागि बहिरंग उपचार केन्द्र स्थापना गरेर जिल्लामै उपचार सुरु गरिएको दलित विकास समाज सुआहारा कार्यक्रमका फिल्ड संयोजक तोरण बुढाथोकीले जानकारी दिए । ‘कुपोषित भएका बालबालिकाहरूको समयमै उपचार गर्न सकेमा कुपोषणबाट मुक्त गराउन सकिन्छ तर समयमै उपचार नपाउँदा ज्यानसमेत जाने जोखिम भएकोले हामीले जिल्लाका सबै स्थानीय तहहरूमा केन्द्रको स्थापना गर्न लागेका हौँ’, फिल्ड संयोजक बुढाथोकीले जानकारी दिए ।
प्रतिक्रिया