काठमाडौं । थाहा आन्दोलनका प्रवर्तक रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र ‘रुदानेः विद्रोहको नेपाली नाम’ को टिजर सार्वजनिक भएको छ । चार वर्षअघि चलचित्रको पोस्टर नै धेरैले मनपराएका थिए । पोस्टरमा देखिएका अभिनेता दिव्यदेवले समेत धेरैलाई प्रभावित पारेको थियो । बुधबार सार्वजनिक भएको चलचित्रको पोस्टरलाई जस्तै टिजरलाई समेत धेरैलाई आकर्षित गरेको छ । टिजरमा कतै भाषण गरिरहेको, भित्तामा थाहा लेखिरहेको, हतकडी लगाएको त कतै मानिसलाई प्रशिक्षण दिइरहेको पात्रका रुपमा रुदानेको हुलिया देख्न सकिन्छ । करिब दुई मिनेट लामो टिजरमा रुदानेको चरित्र–चित्रण गरिएको छ । टिजरमा रुपचन्द्र विष्ट अर्थात् रुदानेले बाँचेको समय र परिवेश देख्न सकिन्छ । अमित किशोर सुवेदी र विकास ढकालको संयुक्त लेखन तथा निर्देशन गरेको यस चलचित्रमा दिव्यदेवका साथमा अभिनेत्री नम्रता श्रेष्ठ, सुभाष गजुरेल, रवि गिरि, अमर सुवेदी लगायतका कलाकारको प्रमुख भूमिका छ ।
जागृत रायमाझीको निर्माण र भानुभक्त थापाको सहनिर्माणमा बनेको यो चलचित्रमा शोषण, अत्याचार तथा अन्यायका विरुद्धको आवाजलाई कलात्मक रुपमा देखाइएको छ । मकवानपुरमा जन्मेका क्रान्तिकारी व्यक्तित्व रुपचन्द्र दामन नेपाल अर्थात् रुदानेको जीवनीलाई चित्रण गर्ने निर्माण पक्षले जनाएको छ । जनमुखी राजनीतिको पक्षधर उनले आफ्नै मौलिक शैलीको ‘थाहा’ अभियान चलाएका थिए । चलचित्र टिजरमा पनि ‘थाहा’ शब्द ठाउँ–ठाउँमा प्रयोग भएको देख्न सकिन्छ । रुपचन्द्र विष्टको बायोपिकमा दिव्य देवले रुदानेको भूमिका निर्वाह गरेका छन् ।
एक सम्पन्न परिवारमा जन्मिएका रुदाने अन्याय तथा शोषणप्रति घृणा गर्थे । उनलाई भौतिक सुख सुविधा पुग्दो थियो । उनले पारिवारिक रुपमै आफूलाई चाहिने प्रायः सम्पूर्ण भौतिक घर, गाडी सबै उपलब्ध थियो । सबैकुरा त्यागेर उनी समाज सुधारका लागि निस्किए ।
उनले समाजमा सुधार गर्ने लक्ष्य लिएर झुत्रे–झाम्रे भएर गाउँ गाउँमा हिँडेका थिए । देश र जनताका लागि केही गर्नुपर्छ भन्ने मान्यता राखेर उनले समाज सुधारका जनता जगाउँदै गाउँ गाउँमा हिँडेका थिए । उनले २०२९ र ३० सालतिर थाहा आन्दोलन सुरु गरेका थिए । रुपचन्द्र र उनका सहकर्मीले भित्ता, चट्टान, रुखदेखि खाली कागजमा समेत थाहा लेख्दै हिँडे । थाहा आन्दोलन वास्तवमा सर्वसाधरणमा अन्याय र अत्याचारविरुद्धको जागरण र चेतना ल्याउनु थियो । उनीहरुले सामाजिक, राजनीतिक र शैक्षिक परिवर्तन ल्याउने लक्ष्यका साथ अभियान छेडेका थिए । उनले आफ्नो जन्मभूमि मकवानपुरबाट समाज सुधारको काम थालनी गरेका थिए ।
प्रतिक्रिया