ऐतिहासिक मूर्ति प्रदर्शनी

ललितपुर । नेपालको परम्परागत कला शैली झल्किने दूर्लभ मूर्तिकला प्रदर्शनी भएको छ । पाटन ओकुबहालस्थित लिच्छवीकालीन कलाको उत्कृष्ट नमूना रहेको रुद्रवर्ण महाविहार परिसरमा तीन दिने प्रदर्शनी भएको हो । ‘विश्व पर्यटन दिवस २०२१’ को अवसर पारेर भएको उक्त प्रदर्शनीको उद्घाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले गरे । ललितपुर महानगरपालिका हस्तकला प्रवद्र्धन समिति र वडा नम्बर ६ पर्यटन प्रवद्र्धन समितिले संयुक्तरुपमा आयोजना गरेको प्रदर्शनीमा कुलपति कर्माचार्यले नेपाली परम्परागत कलाको संरक्षण, प्रर्वद्धन र विकासका निम्ति राज्यका सबै तह लाग्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘कला र संस्कृति समृद्ध सहरका रुपमा परिचित पाटन मूर्तिकलाको पनि केन्द्र होे । यस क्षेत्रले नेपाली परम्परागत मूर्तिकलाको विरासतलाई धान्दै र उँचो बनाउँदै आएको छ ।’


कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले नेपाली कलाको ऐतिहासिक विरासतलाई पाटनका मूर्तिकारले धान्दै आएको बताए । उनले कला र इन्जिनियरिङको महत्वका बारेमा चर्चा परम्परागत सीप प्रविधिलाई समयानुकूल विकास गर्दै जानुपर्नेमा जोड दिए । उपकुलपित प्रा.डा.थापाले भने, ‘कलाको विकासले मात्रै राष्ट्र समृद्ध हुने भएकाले यसको सीपगत प्रविधिमा समेत विकास गर्दै व्यवसायिककरणमा ध्यान दिनुपर्दछ ।’ ललितपुर महानगरपालिका–६ का वडा अध्यक्ष हिटलर शाक्यले पाटनको ऐतिहासिक पहिचानलाई धानेको बताउँदै परम्परागत कलाको संरक्षणमा महानगरपालिका जुटिरहेको विचार व्यक्त गरे । वडा पर्यटन समितिका उपाध्यक्ष कलाकार तेजेशमान शाक्यले मौलिक सीप र कलालाई संरक्षण गर्दै समाजमा जागरण ल्याउने लक्ष्यका साथ प्रदर्शनीको आयोजना गरिएको बताए ।

उनले भने, ‘महानगरको ६ नं. वडामा रहेका देश तथा विदेशमा परिचित मूर्धन्य कलाकारको सम्मान तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेर ६० वर्ष नाघेका कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको हो ।’ उपाध्यक्ष शाक्यले नेपालको मौलिक शिल्प र शैली नयाँ पुस्तामा हस्तान्तरण गर्न र समाजमा सचेत जागरण ल्याउन प्रदर्शनीले भूमिका खेल्नेमा आफू विश्वस्त रहेको धारणा राखे । महानगर पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष सुरेश महर्जनले मूर्तिकला प्रदर्शनी पाटनको मात्रै नभएर देशकै मौलिक कलाको संरक्षणका निम्ति निकै महत्वको रहेको बताए । परम्परागत सीप र सिर्जनालाई नजिकबाट नियाल्न प्रदर्शनीको विशिष्ट महत्व रहेको विचार राख्दै अध्यक्ष महर्जनले भने, ‘कलाको विकासविना सभ्यता विकास हुन सक्दैन । सभ्यता बचाउन र नेपालको मौलिक पहिचान चिनाउनका लागि पनि प्रदर्शनीले विशिष्ट महत्व राखेको छ ।’
प्रदर्शनीमा ललितपुर महानगर वडा ६ मा जन्मिएका तीन दर्जन बढी दिवंगत तथा ६० वर्षमाथिका कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको उपाध्यक्ष शाक्यले जानकारी दिए ।


त्रि–दिवसीय विशेष कला प्रदर्शनीमा स्व.जोगमान शाक्य, स्व.मानज्योति शाक्य, स्व.बोधिराज शाक्य स्व.सिद्धिराज शाक्य, स्व.न्हुच्छेराज शाक्य, स्व.लुम्बिनीराज शाक्य, स्व.रत्नराज शाक्य, स्व.जगतमान शाक्य, स्व.आशाकाजी शाक्य, स्व.सिद्धिराज शाक्य, स्व.रत्नबहादुर शाक्य ‘माइला शाक्य’, स्व.भीमराज शाक्य, स्व.नुनेमराज शाक्य, स्व.सागर शाक्य, स्व.राजकुमार शाक्यका कलाकृति राखिएको छ । यस्तै, ६० वर्षमाथिका क्रोधकला शिरोमणि कालु कुमाले, सिद्धिराज शाक्य, सन्तबहादुर शाक्य, चन्द्रभाई शाक्य, राजेश अवाले, खर्गराज शाक्य, तेजरत्न शाक्य, सिद्धिरत्न शाक्य, फत्तेज्योति शाक्य, डा.महेन्द्ररत्न शाक्य, जीवन शाक्य, महेन्द्र शाक्य, मणिरत्न शाक्य, महेन्द्र महर्जन, बेखारत्न शाक्य, बेखाराज शाक्य, राजेन्द्र शाक्य, एलिजा शाक्य, जेनी डंगोल लगायतका कलाकारका मूर्तिकला प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व राख्ने कलाकृति राखिएको अग्रज कलाकार राजेश अवालेले बताए । उनले प्रदर्शनीमा राखिएका कलाकार र कलाकृति नेपालकै निधि र सम्पत्ति भएको विचार व्यक्त गरे । ललितपुरको ओकुबहाल क्षेत्र कलाको खुला संग्रहालयका रुपमा लिइन्छ । प्रदर्शनी बुधबारसम्म रहने जनाइएको छ ।

प्रतिक्रिया