वाग्मती । वाग्मती प्रदेशलाई देशकै पहिलो साक्षर प्रदेश घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमबीच प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्दै साक्षरता स्तम्भको अनावरण गरिन् । साक्षरता कार्यक्रमअनुसार विभिन्न मापदण्डका आधारमा साक्षरताको मूल्यांकन गर्दा कम्तीमा ५० प्रतिशत सक्षमता हासिल गर्नसक्ने व्यक्तिलाई साक्षरताको प्रमाण पत्र दिने व्यवस्था छ र त्यस्ता प्रमाण पत्र प्राप्त व्यक्तिहरूको संख्या ९५ प्रतिशत पुगेका वडा, स्थानीयतह, जिल्ला र प्रदेशलाई साक्षर घोषणा गर्ने व्यवस्था रहेको छ । मापदण्डअनुसार वाग्मती प्रदेशमा साक्षरहरूको संख्या ९७ दशमलव २२ पुगेपछि साक्षर प्रदेश घोषणा गरिएको हो ।
मापदण्डअनुसार राष्ट्रभाषा वा मातृभाषाका अक्षरको पढाइ र लेखाइ जानेको, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिलको पढाइ गर्न जानेको, आफ्ना परिवारका नाम उमेर आदिको पढाइ र लेखाइ गर्न जानेको, मोबाइल र क्याल्कुलेटरका अक्षर तथा अंक चिनेर प्रयोग गर्न जानेको, शून्यदेखि नौ सम्मको अंक वा अक्षर लेख्न र पढ्न जानेको, एकदेखि सयसम्म गणना गर्न जानेको, लेनदेनका हरहिसाब राख्न जानेको, सरल चित्र, पोस्टर, साइनबोर्ड तथा ट्राफिक संकेत पढ्न र बुझ्न सक्ने, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउने, घडी हेरेर समय बताउन सक्ने, भित्ते पात्रो हेरेर तिथिमिति बुझ्न र बताउन सक्ने र बैंक भौचर तथा चेक भर्ने काम गर्न सक्नेलाई साक्षर मानिन्छ ।
वाग्मती प्रदेशको शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशका १३ जिल्लामा रहेको कुल जनसंख्या ५५ लाख २९ हजार ४ सय ५२ मध्ये १५ वर्षदेखि ६० वर्षसम्मका उमेर समूहका ३३ लाख ४३ हजार १ सय ४४ जना छन् । यसमध्ये ९७ दशमलव २२ प्रतिशत साक्षर छन् । निर्देशनालयले उपलब्ध गराएको विवरणअनुसार ललितपुर शत्प्रतिशत साक्षरता दरसहित पूर्ण साक्षर जिल्ला भएको छ भने दोलखाको प्रतिशत सबैभन्दा कम रहेको छ । विवरणअनुसार सिन्धुलीको साक्षरता दर ९९ दशमलव १३ प्रतिशत रहेको छ । त्यस्तै ९८ दशमलव ९७ प्रतिशतसहित मकवानपुर तेस्रो स्थानमा छ । निर्देशनालयले उपलब्ध गराएको विवरणअनुसार धादिङको ९८ दशमलव ४० प्रतिशत, नुवाकोटको ९८ दशमलव १९ प्रतिशत, सिन्धुपाल्चोकको ९७ दशमलव ६८ प्रतिशत, चितवनको ९७ दशमलव ५०, काठमाडौंको ९६ दशमलव ८८ प्रतिशत, भक्तपुरको ९६ दशमलव ७० प्रतिशत, काभ्रेको ९६ दशमलव ४८ प्रतिशत, रामेछापको ९६ दशमलव ४० प्रतिशत, रसुवाको ९६ दशमलव २९ प्रतिशत र दोलखाको ९५ दशमलव ३७ प्रतिशत रहेको छ ।
‘साक्षर वाग्मती प्रदेश’ घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले शिक्षाका लागि विभिन्न कालखण्डमा भएका कार्यक्रमको परिणामस्वरूप प्रदेशका १५ वर्ष देखि ६० वर्ष उमेर समूहका ९७ दशमलव २२ प्रतिशत नागरिक साक्षर भएको बताए । शाक्यले देशमा भएका सात प्रदेशमध्ये वाग्मती प्रदेश पहिलो साक्षर प्रदेश भएकामा खुसी व्यक्त गर्दै यस कार्यमा खट्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । उनले विभिन्न मापदण्डहरूका आधारमा साक्षर घोषणा भए पनि प्रदेशमा ४५ हजार ३ सय ४५ जना अझै निरक्षर रहेको विवरण पाएकाले त्यो संख्यालाई न्यून बनाउँदै शून्यमा झार्नुपर्ने र त्यसका लागि सरकार तथा सरकारी संयन्त्रले भूमिका खेल्नुपर्ने धारणा राखे । कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले साक्षर प्रदेश घोषणापश्चात् १५ देखि ६० वर्ष उमेर समूहका निरक्षरहरूका लागि स्थानीय तहहरूसँग समन्वय गरेर पूर्णसाक्षरता अभियान सञ्चालन गर्ने बताए । घोषणा सभामा बोल्दै प्रदेशको शिक्षा विकास निर्देशक चन्द्रप्रसाद लुइँटेलले साक्षर प्रदेश घोषणापूर्व भएका तयारीका बारेमा अवगत गराए ।
प्रतिक्रिया