जनताले संघीयताको अनुभूत गरेका छन्

लाजुराम चौधरी, अध्यक्ष, कैलारी गाउँपालिका कैलाली

स्थानीय तहको निर्वाचन भएको र स्थानीय तहले जनप्रतिनिधि पाएको चार वर्ष बितिसकेको छ । यस अवधिमा कैलालीको कैलारी गाउँपालिकामा विकास निर्माणका केकस्ता कामहरू भए, जनताले शिक्षा, स्वास्थ्य खानेपानी लगायतका आधारभूत कुराहरू के कति प्राप्त गरे, कार्यकाल कस्तो रह्यो, के कस्ता चुनौती सामना गर्दै आइएको छ ? लगायतका विषयमा कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीसँग सौर्य दैनिकका लागि सुरेन्द्र ताम्राकारले गरेको संवादको संपादित अंश :

कार्यकालको अन्तिम वर्षतिर हुनुहुन्छ, यो कार्यकाललाई कसरी मूल्यांकन गर्नुभएको छ ?

हामीले चार वर्ष पूरा गरेर पाँचौँ वर्षमा प्रवेश गरेका छौँ । हाम्रो मूल्यांकनमा हामीले निर्वाचनमा प्रतिवद्धता जनाएका विषयहरू, जनजीविकामा प्रभाव पार्ने खालका जनताका तत्कालीन समस्याहरू हल गर्दै आएका छौँ । यहाँको सामाजिक, आर्थिक, भौतिक पूर्वाधारको विषयको कुरा होस् अथवा यहाँको हरेक मानवीय आवश्यकताको कुराहरू हामीले पूरा गर्दै आएका छौँ । जनतामाझ हामीले गरेका प्रतिबद्धतामा ९० प्रतिशत कुराहरू पूरा गरेका छौँ ।

जनताले साच्चिकै संघीयताको अनुभूत गर्न पाएका छन् त ?

संघीयता के हो भनेर हामीले गहिराइमा अध्ययन गर्नुपर्छ । विभिन्न देशमा विभिन्न खालका संघीय प्रणालीहरू छन् । हाम्रो नेपालको संघीय संरचना बिल्कुलै फरक छ । हाम्रो देशको संघीय संरचनामा तीन तहको व्यवस्था गरेको छ । संघ, प्रदेश र स्थानीय सरकार छ र तीन ओटै सरकारलाई उत्तिकै शक्तिशाली हाम्रो नेपालको संविधानले दिएको छ । त्यस आधार हेर्दा संघ, प्रदेश र स्थानीय सरकारले गरेका विकासहरू जनताले अनुभूत गरेका छन् । जस्तो की विगतमा जो गाविसको संरचना थिए त्यसमा जति सुविधा पाउनुपर्ने हो त्यो पाएका थिएनन्, जति विकास हुनुपर्ने हो त्यति विकास भएको अवस्था थिएन । अहिले जनताले पाउने सुविधा पाइराखेका छन् । जुन त्यतिबेला सिंहदरबार केन्द्रित रहेको अधिकार विकेन्द्रित गरेर तीन वटै तहको सरकारमा केन्द्रित गरेको छ त्यससकारण जनताले संघीयताको पूर्णरूपमा अनुभूत गर्न पाएका छन् । तर, जनताले चाहेको स्वायत्वता, आत्मनिर्भरका कुराहरू, कला संस्कृति, पहिचान र भूगोलका कुराहरू छन त्यो विषयमा भने अपनत्व गर्न सकेका छैनन । तर विकास निर्माणमा पूर्णरूपमा संघीयताको अनुभूत गर्न पाएका छन भन्ने मलाई लागेको छ ।

शिक्षा स्वास्थ्य खानेपानी जस्ता आधारभूत अधिकारका क्षेत्रमा भएका खास परिवर्तन के हुन् ?

शिक्षा एउटा गम्भीर विषय पनि हो । पहिलेको शिक्षा प्रणाली बेग्लै किसिमको थियो र अहिले प्रविधिको युग छ र त्यही खालको शिक्षामा पनि परिवर्तन भएको छ । त्यति बेला सरकारले प्रत्यक्षरूपमा निगरानी, अनुगमन गर्न नसकेको विद्यालयहरू थिए । जनताको आकर्षणको विषय सामुदायिक विद्यालय थिएनन् । विद्यार्थी र अभिभावकको आकर्षण निजी विद्यालयमा थियो । अहिले विद्यार्थी, अभिभावको आकर्षणको केन्द सामुदायिक विद्यालय बन्दै गएको छ । यो ठाउँमा हामीले १३ वटा नमुना विद्यालयहरू बनाएका छौँ । त्यो विद्यालयलाई आकर्षणको केन्द्र बनाएका छौँ । शिक्षामा गुणस्तरीयता भएपछि विद्यार्थीको आकर्षण बढेको छ । शिक्षा क्षेत्रमा नीति जुन प्रकारले परिवर्तन भएको छ त्यसले अहिले शिक्षा क्षेत्रमा निकै प्रगति भएको छ । पहिले गाविसहरूमा मात्र स्वास्थ्य इकाइ थिए ।

अहिले हामीले प्रत्येक वडामा स्वास्थ्यचौकी, आधारभूत स्वास्थ्य इकाइहरू स्थापना गरेका छौँ । जनताले आफ्नो उपचारका निम्ति धेरै टाढा पैदल हिँडेर जानुपर्ने अवस्था छैन । त्यसमा जनताले सुविधा पाएका छन । आँखाको उपचार लागि गेटासम्म जानुपर्ने अवस्था थियो अहिले यहीँ आँखाको उपचार केन्द्र स्थापना गरेका छौँ । त्यस्तै क्लिनिकहरू पनि स्थापना गर्दै गइरहेका छौँ । सिकलसेल जर्जर अवस्थामा छ हामीले सिकलसेलका बिरामीको उपचारका निम्ति बाटो खर्चको व्यवस्था गरेका छौँ । सिकलसेलसम्बन्धी यहाँ परामर्श केन्द्र पनि स्थापना गरेका छौँ । खानेपानीको कुरा गर्दा प्रत्येक वडामा ओभरहेड ट्यांकी स्थापना गरेका छौँ । पानी ननस्किने ठाउँमा साना साना मोटर जडान गरेर ट्यांकीमा पानी भर्ने गरी शुद्ध खानेपानीको व्यवस्था मिलाएका छौँ । हामीले तीन सय फिट गहिराइका नलहरू पनि वितरण गरेका छौँ । अहिले खोलानालाको पानी खाने अवस्थामा यहाँका जनता छैनन् ।

तथ्यांकको आधारमा भन्दा कुन कुन क्षेत्रमा के के परिवर्तन देखिएको छ त ?

स्थानीय संरचना भइसकेपछि जब जनप्रतिनिधि आए त्यसपछि यो संरचना ६ वटा गाविसहरू मिलेर कैलारी गाउँपालिका बनेको छ । त्यतिबेला आर्थिकरूपमा सबैभन्दा कमजोर हाम्रो गाउँपालिका थियो । त्यतिबला जम्माजम्मी ६५ लाख राजस्व संकलन हुन्थ्यो अहिले यहाँको राजस्व बृद्धि गरेर साढे ३ करोड पु¥याएका छौँ । बाटोघाटो पनि ग्राभेल गरेका छौँ र कहीँकहीँ मात्रै बाँकी छन् । सडक कालोपत्रेको सुरुआत पनि भएको छ । कृषि क्षेत्रमा पनि परम्परागत ढंगले खेती गर्दै आएका किसान अहिले आधुनिकीकरणमा गइरहेका छन् । किसानहरू व्यवसायिकरण, आधुनिकीकरणमा गइरहेका छन् । त्यही आधारमा आफ्नो उत्पादनलाई वृद्धि गर्दै गइरहेका छन् । शिक्षा, स्वास्थ्य क्षेत्रमा उन्नति गरेका छौँ । सामाजिक चेतनाको पनि विकास भएको छ । अपांग, ज्येष्ठ नागरिक, सीमान्तकृत वर्ग सम्मान गर्ने कुराहरूमा पनि मानवीय चेतनामा विकास भएको छ ।

बेरोजगारी समस्याको बारेमा केही परिर्वतन भएको छ ?

यसमा मैले यसो हेर्दाखेरी एउटा कुरा प्रधानमन्त्री रोजगार कार्यक्रम पनि छँदै छ । मजदुर वर्गले त्यसबाट पनि रोजगार पाएका छन् । हाम्रो गाउँपालिका कृषि क्षेत्रमा आधारित गाउँपालिका हो त्यस कारण हामीले सबै युवालाई कृषि पेसातिर लाग्न प्रेरित गरेका छौँ सरकारले दिने अनुदानबाट व्यवसायतिर लाग्नुस् भनेर हामीले यहाँ बंगुर, गाई, भैँसी, कुखुरापालन, मासु पसल हरेका आधारमा अनुदान दिइराखेका छौँ । यसरी बेरोजगारहरू स्वरोजगार भएका छन् । अर्को हामीले क्षमता विकास रोजगार कार्यक्रमसमेत सञ्चालन गर्दै आइरहेका छौँ । त्यसमा कसैले वालपेन्टिङ, कसैले हाउस वायरिङ, कसैले ड्राइभिङ, कसैले सिलाइकटाइ पनि तालिम लिएका छन् । यी तालिम लिएकाहरू अहिले पूर्णरूपमा व्यवसायमा लागेका छन् । त्यसैले बढीभन्दा बढी बेरोजगारलाई रोजगार दिनेतर्फ गइरहेका छौँ ।

स्थानीय सरकार चलाउन खास समस्या के के रहेछन् ?

यो विषय जटिल पनि हो । पहिलो कुरा त मान्छेको चेतनामा वृद्धि गर्न जरुरी हुन्छ । सरकारी नीति, कानुनहरू मापदण्डहरू जनताले बुझ्न जरुरी छ । सरकारको ध्येय उद्देश्य केहो त्यो रणनीतिको बारेमा जनताले जान्न जरुरी छ । त्यो बुझाइको समस्याचाहिँ हो अहिले । चेतनाको समस्या छ । मान्छेको व्यक्तिवादी, पुँजीवादी चिन्तनले गर्दाखेरी अहिले काम गर्नलाई अलि समस्याचाहिँ हुन्छ । कानुन निर्माण गर्दा दक्ष कर्मचारी नहुँदा कहिलेकाहिँ अप्ठ्यारो हुन्छ । प्राकृतिक स्रोतसाधन सरकारको मातहत ल्याउँदा पनि कहिँ न कहीँ अराजक प्रवृत्तिहरू, त्यस्ता पात्रहरू निस्किन्छन त्यस्ता समस्याहरूचाहिँ हुन्छन् । सानातिना समस्या धेरै छन सरकारको नीति, कानुन, कार्यविधि, मापदण्ड बुझ्ने कुराहरूमा जटिलता जनताहरूमा छ ।

स्थानीय प्राकृतिक स्रोतसाधनको उत्खनन् र उपयोग कत्तिको व्यवस्थित गर्नुभएको छ ?

यस क्षेत्रलाई हामीले व्यवस्थित गर्दै गइराखेका छौँ । मान्छेको व्यक्तिगत सोचाइ, पुँजीवादी चिन्तनले गर्दाखेरी समस्याहरू छन । यहाँका तालतलैयाहरू एकद्धारा प्रणाली अन्तर्गत गाउँपालिकाको मातहतमा राख्ने, ठेक्कामा दिइ आयस्रोतको बृद्धि गर्ने, संरक्षण गर्ने गरिरहेका छौँ । जलवायू परिवर्तनलाई मध्यनजर गरी पानीको सञ्चितीकरणमा पनि जोड दिइरहेका छौँ । यहाँ भएका बालुवालाई पनि व्यवस्थित गर्दै लगिरहेका छौँ ।

आर्थिक पारदर्शिताका चुनौती के कस्ता छन् ?

जनताको माग र आवश्यकताहरू थुपै छन् । आर्थिक अभाव भएको हुनाले त्यो पूरा गर्न कठिनाइ छ । स्रोत संकलन र परिचालन गर्ने कुराहरूमा त्यसलाई पारदर्शितामा राख्ने कुराहरूमा केही कार्यविधि निर्माण गर्ने कुराहरूमा, कानुन बनाउनेकुराहरूमा कहीँ न कहीँ त्यो कानुनका कारण चाहीँ अस्पष्टताका कुराहरूले गर्दाखेरीमा त्यस्ता चुनौती आउँछन् । कहीँ आवश्यकताभन्दा बढी काम गर्ने कहीँ कम गर्ने हुँदा केही बढी भुक्तानी केही कम भुक्तानीका समस्याहरू छन् । त्यसकारण कहीँ न कहीँ आर्थिक पारदर्शिताका समस्याहरू छन् । तैपनि यसलाई पारदर्शी बनाउनका लागि हामी लागिरहेका छौँ ।

संघ र प्रदेश सरकारको व्यवहार कस्तो पाउनुभएको छ ?

संघ सरकार प्रत्यक्ष जनतासँग सरोकार राख्ने सरकार छैन् । पालिका र संघ सरकारको सम्बन्ध निकट नै छ । तर, प्रदेश सरकारले स्थानीय सरकारसँग प्रतिस्पर्धा गर्ने कि भन्ने विषय यहाँ उठेको छ । स्थानीय सरकारले जुन खालको विकास गरिरहेको छ प्रदेश सरकारले पनि त्यही आधारमा गर्न खोजी राखेको छ कि भन्नेचाहिँ हामीलाई महसुस भइरहेको छ । त्यसकारण कम लगानीबाट हुने कामहरू प्रदेश सरकारले ससर्त अनुदान दिनुपर्छ । त्यही नदिएका कारण जनता प्रदेश सरकारमा जाने दुःख पाउने भएकाले प्रदेश सरकारले केही न केही समस्या गरेको छ । त्यस्ता योजना स्थानीय सरकारलाई दिनुपर्छ । त्यसो गर्न सकिएमा जनताले सरल रूपमा सेवा र विकासको अनुभूति पाउनेछन् ।

तपाईंले चाहेर पनि गर्न नसकेका काम केही छन् ?

हामीले आयस्रोतको अभावका कारण गर्न नसकेका काम छन् । यहाँका ठूलठूला पुलहरू निर्माण गर्नुपर्नेछ, एक स्थानीय तहबाट अर्को स्थानीयतह जोड्ने बाटोहरू कालोपत्रे गर्नुपर्ने छ आर्थिक अभावले त्यो गर्न सकिराखेका छैनौँ । क्याम्पस, अस्पताल स्थापना गर्न नसकेको अवस्था छ ।

अन्त्यमा थप केही भन्नु छ कि ?

मिडियामार्फत मेरोे आवाज, सोचाइ विचारहरू जनतासम्म पु¥याइ दिनुभएकोमा धन्यवाद दिन चाहान्छु । सबै यहाँ बासिन्दाहरूले उच्च चेतनाका साथ स्थानीय सरकारलाई सहयोग गर्नुपर्छ । स्थानीय सरकाले पनि जनतालाई सहयोग गर्छ । हामीले अपेक्षा राखेका छौँ ।

प्रतिक्रिया