दशैँलाई लक्षित गरी ढाकारामको ‘खाडी देशैमा’

काठमाडौं । हिन्दुहरुको महान पर्व बडा दशैँलाई लक्षित गरी लोकदोहोरी गायक ढाकाराम पौडेलले ‘खाडी देशैमा’ बोलको गीत ल्याएका छन् । उक्त गीतमा गायक पौडेल, गायिका शान्ति श्री परियार र अञ्जना खड्काको आवाज रहेको छ ।

गीतमा भीम बहादुर अर्यालले शब्द रचना र संगीत भरेका छन् भने गौरव गिरीले संगीत संयोजन गरेका हुन् । त्यस्तै उक्त गीतको भिडियोमा पनि गौरवकै निर्देशन, छायांकन र सम्पादन रहेको छ ।

जुना गुरुङ, दिपक सापकोटा, लक्ष्मण बस्नेत, किस्ना कुमारी, हरि भट्टराई र शुसीला खड्कालगायतले गीतको भिडियोमा अभिनय गरेका छन् । वर्षा म्युजिकको युट्युब च्यानलमर्फत् उक्त भिडियो सार्वजनिक गरिएको छ ।

खाडी मुलुकमा गएर आम नेपालीले दुःख पाएको र चाडपर्वको समयमा घर आउन नपाउँदाको पीडालाई गीतको शब्दमार्फत पस्किएको गायक पौडेलले बताए ।

‘लाखौँ नेपाली दाजुभाइहरु खाडी मुलुकमा पसिना बगाइरहेका छन्, देशमा बडा दशैँ नजिकै आइसकेको छ, आफूले चाहेर पनि महान पर्वमा घर फर्किन नपाउँदाको पीडालाई शब्दमा समावेश गरिएको छ’, उनले भने ।

प्रतिक्रिया