‘टुल्की’ मा बहुपति प्रथा

काठमाडौं । बहुपति प्रथामा केन्द्रित रही निर्माण गरिएको चलचित्र ‘टुल्की’ को टिजर तथा फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । द पाल्म ग्रुप प्रालिले निर्माण गरेको यो चलचित्रको छायांकन डोल्पाको फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका विकट गाउँबस्ती गरिएको हो । छायांकन तथा निर्देशन देवजंग थापाले गरेको यो चलचित्रमा हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई देखाइएको छ । अझै पनि डोल्पा, हुम्ला, मुगु, मुस्ताङ लगायतका हिमाली जिल्लामा कुप्रथाको रूपमा रहेको बहुपति प्रथालाई ‘टुल्की’ मार्फत देखाउने कोशिस गरिएको निर्माता शेखर लामाले बताए ।

बानेश्वरस्थित वन सिनेमाजमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको टिजर तथा फस्टलुक पोस्टर सार्वजनिक गरिएको हो । निर्माता लामाले भने, ‘नेपालमा अहिलेसम्म बहुपति प्रथामा आधारित कुनै पनि चलचित्र बनेका छैनन् । टुल्की पहिलो चलचित्र हो, निकै जोखिम मोलेर खिचिएको यस चलचित्रका लागि झण्डै चार वर्ष अनुसन्धान नै गरेँ ।’ उनले केही हिमाली जिल्लामा कायम रहेको यो प्रथाको नाममा महिलाले भोग्नुपरेको दुःखान्त कथा चलचित्रमा रहेको बताए । उनले भने, ‘बहुपति प्रथामा घरका कुनै एक भाइले विवाह गरेपछि अन्य दाजुभाइले विवाह गर्नुपर्दैन । जुन भाइले पहिला विवाह गरे तीनै भाइकी श्रीमतीसँग सबैले सामूहिक सन्तान जन्माउनेदेखि रात बिताउन पाउने प्रथा छ ।’

चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेमविवाह गरेर उपल्लोमा जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाको नाममा भोग्नुपरेको सामूहिक बलात्कारको दुखान्त कथावस्तुलाई उजागर गरिएको लामाको भनाइ छ । चलचित्रमा बहुपति प्रथामा मात्र सीमित नभई पश्चिम नेपालमा कुप्रथाको रूपमा व्याप्त छाउपडी प्रथालाई पनि उजागर गर्न खोजिएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा आरपी कर्माचार्य र शेखर लामाको लगानी रहेको छ । चलचित्रलाई विभिन्न फेस्टिभलमा सहभागी गराएपश्चात् मात्र सिनेमा घरमा प्रदर्शन गर्ने निर्माण पक्षको योजना रहेको छ ।

चलचित्रमा संगीत संजिव लिम्बुको रहेको छ । तारा थापा किम्भेको सम्पादन रहेको चलचित्रमा मिक्सिङ दीप तुलाधरले गरेका छन् । चलचित्रमा शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, सौजन सुब्बा, नरेन्द्र तामाङ, सोफिया लिम्बू, दीर्घ लामा, महेश लिम्बू, रत्नप्रसाद न्यौपाने, भक्तसिंह कठायत लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया