खोजखबर

कैदीबन्दी बढी हुँदा संक्रामक रोगको जोखिम

सौर्य अनलाइन २०७८ भदौ ३१ गते २०:५३ मा प्रकाशित

बैतडी । जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा संक्रामक रोगको जोखिम बढेको छ । २५ जनाको क्षमता रहेको कारागारमा हाल ७५ कैदीबन्दी छन् । तीमध्ये ४२ कैदी र बाँकी थुनुवा रहेका कारागार प्रमुख अनिल तिवारीले जानकारी दिए । तेब्बर कैदीबन्दी हुँदा यहाँ सरुवा रोगको पनि जोखिम बढेको छ । भौतिक दुरी कायम हुने त कुरै छैन, कोरोनाको पनि जोखिम छ उनले भने, ‘कारागारभित्र ठाउँ नभएर टेन्ट हालेर राखेका छौँ, व्यवस्थापनमा निकै चुनौती छ ।’

‘कारागार भित्रैको कम्पाउन्डमा दुई टेन्ट हालेका छौँ, त्यसभित्र आठ शय्या लगाएर १३ जनालाई त्यहाँ बसोवासको व्यवस्था गरेका छौँ ’, प्रमुख तिवारीले बताए, ‘व्यवस्थापनमा चुनौती थपिएको छ, ठाउँ अभावमा एउटै शय्यामा तीन कैदीबन्दी सुत्ने गरेका छन् ।’ कैदीबन्दीलाई शौचालय प्रयोग र सरसफाइका लागिसमेत समस्या हुँदै आएको छ । उनीहरूमा कोरोना संक्रमणको जोखिम बढेकाले बाह्य भेटघाट पनि बन्द गरिएको छ । ‘सबैले खोप लगाए पनि जोखिम बढ्ने भएकोले बाहिरी भेटघाट बन्द गरेका हौँ’, प्रमुख तिवारीले भने, ‘विषेश परिस्थिति तथा मुद्दासँग सम्बन्धित भेटघाट भए, ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट र कोरोना खोप लगाएको कार्ड हेर्ने गरेका छौँ ।’

जिल्ला अस्पतालका प्रमुख डा.वसन्तराज जोशीले पनि कारागारमा संक्रमक तथा सरुवा रोगको जोखिम रहेको बताए । उनले भने, ‘थोरै मान्छे बस्नुपर्ने ठाउँमा बढी मान्छे लामो समयसम्म बस्दा जोखिम निकै हुन्छ ।’ यस्तो ठाउँमा क्षयरोग तथा श्वासप्रश्वाससम्बन्धी समस्या बढी देखिने सम्भावना हुन्छ । पुरानो र जीर्ण भवन पुनर्निर्माण नहुँदा यहाँ सुरक्षा चुनौती पनि थपिएको छ । ०४० सालमा निर्माण गरिएको कारागार पुनर्निर्माण नहुँदा जीर्ण बनेको हो । नयाँ भवन निर्माणका लागि कारागार व्यवस्थापन विभागमा लागत अनुमानसहितको योजना पठाइए पनि कहिले बन्ने भन्ने टुंगो छैन । प्रमुख तिवारीले भने, ‘नयाँ भवन बन्ने कुराको टुंगो लागेको छैन्, चार करोडभन्दा बढीको लागत इस्टमेट गरेर पठाइएको थियो ।’ कारागार सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय