बाटोको अभावले स्याउले बजार पाउन सकेन

मनाङ । यसवर्ष जिल्लामा उत्पादित स्याउ बजारमा पुग्न सकिरहेका छैनन् । विगतका वर्षमा भदौ महिना लाग्नासाथ स्याउ बजारमा पुर्याउन सुरु गरिन्थ्यो । नासो गाउँपालिका–९ स्थित दानाक्यु एग्रो फार्म प्रालिका सञ्चालक राजु गुरुङले सडक नहुँदा यसवर्ष स्याउ टिप्न र बजारसम्म पु¥याउन ढिलो भएको बताए । उनले भने, ‘विगतका वर्षमा यतिखेर स्याउ टिप्न चटारो हुन्थ्यो । यसवर्ष स्याउ टिप्न र बजार लैजान सक्ने अवस्था छैन । कतै सडक नहुँदा बारीमा नै कुहिने त होइन भन्ने चिन्ता लागेको छ ।’

उनका अनुसार सय रोपनीका फार्ममा लगाइएको स्याउ मध्ये ३० रोपनी पहिराले बगाउँदा ४० लाख क्षति भएको छ । उनीजस्तै जिल्लाका आफ्नै बारीमा व्यावसायिक स्याउखेती गर्दै आएका किसान सडक नहुँदा मर्कामा परेका छन् । यसपटकको बाढीपहिराले स्याउखेती गर्ने किसान वढी समस्यामा परेका जनाइएको छ । बजारमा स्याउ पु¥याउन मुस्किल भएको नासो–८ ताचैका किसान सोलबहादुर गुरुङले बताए । उनले भने, ‘दसैँ अगाडिसम्म सडक सुचारु भएमा स्याउ पु¥याउन सकिन्छ कि भन्ने आशा जागेको छ ।’

एग्रो मनाङका प्रमुख सोमराज गुरुङले यतिखेर स्याउ बजारमा पु¥याउनुपर्ने भए पनि सडकका कारण पु¥याउन नसकिएको बताए । ‘गतवर्ष यो सिजनमा प्याकिङ गरिन्थ्यो । यसवर्ष पनि दसैँसम्म सडक निर्माण हुने खबर पाएका छौँ । सोहीअनुसार प्याकिङको काम थालेका छौँ । सडक बनेपछि बजारमा पु¥याउने तयारीमा छौँ’, उनले भने ।

यसैबीच डुम्रे–बँेशीसहर–चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युत विलास पन्तले सदरमुकाम चामेसम्म असोजसम्ममा सडक सञ्चालन गराउने तयारीमा रहेको जानकारी दिए । मर्मत तथा संभार र निर्माण जारी रहेकोे उनले बताए । ‘सडक मर्मत तथा संभार भइरहेको छ । वर्षा भइरहेकाले समस्या भने आइरहेको छ । एक ठाउँमा बनायो अर्को स्थानमा भत्किन्छ । यो समस्याले सडक निर्माणमा अलि ढिलाइचाहिँ भएकै हो’, उनले भने ।

उनका अनुसार अगामी दसैँ अगावै जिल्ला सदरमुकामसम्म सवारी सञ्चालन गर्ने योजनासहित काम भइरहेको छ । माथिल्लो मनाङ जाने सडक अन्तर्गतको तलेखु–भ्राताङ भिरमा ब्लास्टिङ गर्ने सबै सामग्री उपलब्ध गराउँदै काम पनि भइरहेको उनले बताए । सो सडकखण्ड १ सय ७ किलोमिटरमध्ये लमजुङको बँेसीसहरदेखि नासो गाउँपालिका–१ खोत्रोसम्मको ३५ किमी सडक निर्माण भइसकेको छ ।

त्यस्तै चामे गाउँपालिकामा स्थानीयवासीको सहयोगमा पालिकाम पूरै सवारी आवतजावत भइसकेको उनले बताए । उनका अनुसार अब उक्त सडक खण्ड अन्तर्गतको खोत्रोदेखि तिमाङसम्म करिब १५ किलोमिटर सडक निर्माण हुन बाँकी छ । माथिल्लो र तल्लो मनाङलाई जोड्नका लागि करिब साढे दुई महिनापछि तलेखु–भ्राताङ भिरमा चट्टान काटेर सडक निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ । उक्त सडक निर्माण भएपछि सर्वसाधारणलाई आवतजावत तथा सामग्री ढुवानीमा सहज हुनेछ ।

प्रतिक्रिया