नगरपालिको विनाधितो विनाव्याजको ऋणबाट सयौँ युवा व्यवसायी भएका छन्

खड्गबहादुर खत्री, मेयर – कमलामाई नगरपालिका, सिन्धुली

कार्यकालको अन्तिम वर्षतिर हुनुहुन्छ, यो कार्यकाललाई आफैंले कसरी मूल्यांकन गर्नुहुन्छ ?
यो कार्यकाल मैले सफल भएको महसुस भएको छ । चुनावको वेला नगरपालिकावासीलाई गरेको प्रतिवद्धता पूरा गर्न सफल भएको छु । चुनावी घोषणापत्र अनुसारका ९० प्रतिशत काम पूरा गरेको छु । विभिन्न समस्या आए पनि त्यसको सामना गर्दै काम गरिरहेको छु । दिनरात नगरवासीको सेवाका लागि लागिरहेको छु । साच्चिकै म आफूलाई भाग्यमानी ठान्छु किनकि म मेयर भइसकेपछि आजका दिनसम्म मैले कुनै औषधि खानुपरेको छैन । नगरवासीको मायासँगै आशीर्वाद पनि पाएँ ।

जनताले साच्चिकै संघीयताको अनुभूत गर्न पाएका छन् त ?
म निवार्चित भएपछि नगरवासीहरूले संघीयताको अनुभूत गरेका छन् । स्वास्थ्य, शिक्षा, कृषिको क्षेत्रमा नगरवासीले सहज रूपमा सेवा लिन पाएका छन् । निवार्चित भएर आएपछि नगरपालिकाको प्रत्येक वडामा स्वास्थ्यचौकी स्थापना गरिएको छ । स्थानीयले निःशुल्क स्वास्थ्य उपचार पाएका छन् । कृषिका क्षेत्रमा कृषकलाई अनुदान दिइरहेका छौँ । कृषकले सहज रूपले अनुदान पाएका छन् । शिक्षाको क्षेत्रमा पनि परिवर्तन भएको छ । यस्ता परिवर्तनसँगै नगरवासीले साच्चिकै संघीयताको अनुभूत गरेको मैले महसुस मैले गरेको छु ।

शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत अधिकारका क्षेत्रमा भएका खास परिवर्तनको बारेमा केही भन्दिनु न ?
हिजोको दिनमा घण्टौँ हिँडेर स्वास्थ्य सेवा लिने नागरिकले अहिले आफ्नै ठाउँमा सहज रूपमा सेवा लिइरहेका छन् । घण्टौँ पैदल हिँडेर सदमुकाम आउने नागरिकको अहिले घरघरमा बाटो पुगेको छ । अँध्यारोमा बसिरहेका नागरिकको घरघरमा बिजुली बत्ती पुगेको छ । खानेपानीको समस्याको समाधान भएको छ । कमलामाई नगरपालिकालाई खरको छानोमुक्त नगरपालिका घोषण गर्न सफल भएका छौँ । युवा व्यवसायी बनेका छन् । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म पु¥याएका छौँ । शिक्षाको क्षेत्रमा सुधार भएको छ । विद्यालयमा आवश्यक खानेपानी, खेलमैदान, विद्यालय भवन, खेलकुदका सामग्री, दक्ष शिक्षक, विषयगत शिक्षक साथै शिक्षिकाको व्यवस्थाले शिक्षा क्षेत्रलाई झन् मजबुद बनाएको देख्छु ।

तथ्यांकको आधारमा भन्दा कुन कुन क्षेत्रमा के के परिवर्तन देखिएको छ त ?
कमलामाई नगरपालिकाको १४ वटै वडामा स्वास्थ्य चौकी निर्माण भएका छन् । मजदुरका परिवारले निःशुल्क स्वास्थ्य बिमा सेवा पाएका छन् । व्यवसाय गर्ने युवालाई विनाधितो मात्रै होइन विनाव्याज ऋण दिएका छौँ । हजारौँ युवाले रोजगारी पाएका छन् । खरको छाना हटाई जस्ताको छानो हालेका छौँ । सिन्धुलीगढीमा युद्ध संग्रहालय निर्माण भएको छ । हिजोको दिनमा फोहोरै फोहर साथै जथाभावी गाडी पार्किङ हुने सिन्धुलीमाढीको बसपार्क व्यवस्थित बनाउन सफल भएका छौँ । जसले गर्दा सदरमुकामको मुहार नै परिवर्तन भएको छ । नेपालीले देखाएको वीरताको नमुना स्थल सिन्धुलीगढीलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय हब बनाउन सफल भएका छौँ । सय वर्ष पार गरेका आमाबुबालाई दूधको व्यवस्था गरेका छौँ । बुबाआमाको मुस्कान स्वरूप दाँत हाल्ने तयारी गरेका छौँ ।

बेरोजगारी समस्याको बारेमा पनि केही परिवर्तन भएको छ कि ?
बेरोजगारीको समस्यामा धेरै परिवर्तन भएको छ । स्थानीयतहको सहयोगमा युवाहरूले आफ्नै ठाउँमा व्यवसाय गरिरहेका छन् । नगरपालिकाले दिएको विनाधितो विनाव्याजको ऋणबाट सयौँ युवा व्यवसायी भएका छन् । युवाहरू गाउँमै कृषि कर्ममा लागिरहेका छन् । विभिन्न विकास निर्माणका कामहरूमा रोजगारी पाएका छन् । हामीले युवा स्वरोजगार कार्यक्रम नै गरी युवाहरूलाई व्यवसायमा लाग्न सहयोगसमेत गरेका थियौँ ।

स्थानीय सरकार चलाउन खास समस्या के के रहेछन् ?
समस्या त धेरै छन् । समस्या मध्ये प्रमुख समस्या भनेको पार्टीगत स्वार्थको कारण राम्रै कामलाई पनि नराम्रो भन्दिने, नराम्रो लेख्दिने । बजेट अभावको कारण भने जस्ता विकास निर्माण काम सम्पन्न गर्न नसक्नु । स्थानीय सरकार एकरूपता नभएको कारण विकास निर्माणको काममा बाधा पुग्ने । साथै एकरूपता नभएको कारणले जतनाले पनि विश्वास नगर्नु । भष्ट्राचारको नियन्त्रण गर्न चुनौती छ ।

स्थानीय प्राकृतिक स्रोतसाधनको उत्खनन् र उपयोग कत्तिको व्यवस्थित गर्नुभएको छ ?
हामीसँग भएका स्थानीय स्रोतसाधनको व्यवस्थित नै गरेका छौ । नगरपालिका भित्रका प्राकृतिक स्रातेसाधन वडा स्तरबाटै कडाइको साथ व्यवस्थित गरिरहेका छौँ । प्रदेश तथा सघंले नै उत्खनन्लगायत काम हेर्ने भएकाले स्थानीय तहको अधिकारमा पर्दैन ।

आर्थिक पारदर्शिताका चुनौती के कस्ता छन् ?
चुनौतीहरू भन्ने हो भने धेरै छन् । तर, चुनौतीको बाबजुत पनि आर्थिक पारदर्शिताका लागि हरेक कर्मचारी, जनप्रतिनिधिलगायत सबैले काम गरिरहेका छन् ।

संघ र प्रदेश सरकारको व्यवहार कस्तो पाउनुभएको छ ?
संघ र प्रदेश सरकारसँगको समवन्यमा काम गरिरहेका छौँ । विकास निर्माणको काममा प्रदेश साथै संघले सहयोग गरिरहेको छ । नीतिगत कुरामा प्रदेश सरकारको काम गराइमा तालमेल मिलेको छैन । प्रदेशले जिल्लालाई बजेट विनियोजन गर्ने उक्त बजेटको कामको अनुगमन गर्ने अधिकार हामीलाई नदिने परिपाटी नराम्रो छ । संविधानले प्रदेश कार्यालयको परिकल्पना गरेको छ । यसले गर्दा एकद्वारप्रणालीमा समस्या आउने हो कि जस्तो लागेको छ ।

तपाईंले चाहेर पनि गर्न नसकेका काम केही छन् ?
यो कार्यकालमा जनताको चाहाना अनुसारको काम गरेको छु । तर, सडक खानेपानी, शिक्षालगायत आधारभूत क्षेत्रमा बजेट अभावको कारण योजना गरे अनुसारको काम गर्न पाइएन । कमलामाई नगरपालिकालाई खरको छानामुक्त नगर घोषण गरे पनि अझै कति वडामा खरका छाना छन्, त्यसलाई पूर्ण रूपमा हटाउन सकेका छैन । यो काम भने म मेरो कार्यकालमा पूरा गर्नेछु । अरू विकास निर्माणको दृष्टिकोणले सन्तोषजनक नै छ ।

अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?
मैले गरेका काम साथै चुनौतीको बारे तपाईंको मिडियाले ठाउँ दिनुभयो त्यसको लािग विषेश गरी तपाईंको मिडियालाई धन्यवाद ! म मेयर हुन्जेल होइन भोलि मेरो कार्यकाल सकिए पनि नगरपालिकाको विकासमा म सधैँलाग्ने प्रतिवद्धता गर्दछु ।
                                                                                       प्रस्तुति : उर्मिला भट्टराई

प्रतिक्रिया