त्रिभुवन विमानस्थलबाट तीन किलो सुनसहित दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलोग्राम ३६० ग्राम सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौंबाट विराटनगर जान लागेको श्री एयरलाइन्सको उडान चेकजाँचका क्रममा उक्त गरगहनासहित कैलाली वदगोरिया गाउँपालिका–१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषा जनकपुर उपमहानगरपालिका–२ का ४७ वर्षीय मुरारीराज अधिकारीलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

भण्डारी र अधिकारीको ब्याग एक्सरे मेसिनमा चेक गर्ने क्रममा रु दुई करोड २४ लाख ९२ हजार ३९७ मूल्य बराबरको सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले भण्डारीको साथबाट २२ क्यारेटको ५१५ ग्राम सुनका विभिन्न गहना र अधिकारीको साथबाट २४ क्यारेटको ५९७ ग्राम, २२ क्यारेटको एक हजार ५५२ ग्राम तथा पत्थर जडित १४ क्यारेटको ६९६ ग्राम सुनका विभिन्न गहना बरामद गरेको छ ।

पक्राउ व्यक्तिलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि ललितपुरस्थित राजस्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया