उत्कृष्ट गीतकारको पुरस्कारले थप चर्चित बनायो

                                                                                   रमेश दाहाल, गीतकार

आधुनिक गीत लेखनमा झण्डै तीन दशकदेखि सक्रिय छन् गीतकार रमेश दाहाल । अग्रज पुस्ताका कृष्णप्रसाद घिमिरे, रत्नशमशेर थापा, किरण खरेल, दिनेश अधिकारी, राजेन्द्र थापा, शुवासचन्द्र ढुंगेलजस्ता गीतकारबाट प्रभावित उनलाई रेडियो नेपालका गीति कार्यक्रमहरूले गीत लेखनमा प्रेरित गर्यो । ०४० को दशकदेखि लेखनमा लागेका उनी राष्ट्रिय, आधुनिक तथा पपविधाका गीत लेख्छन् । ०५७ सालदेखि गीत रेकर्ड भएका उनका गीतमा सामाजिक मौलिकता झल्कने गरेका छन् । उनका दुई वटा गीति संग्रह प्रकाशन भइसकेको छ र तेस्रो गीति संग्रह फूलको केस्रा प्रकाशोन्मुख छ । उत्कृष्ट गीतका लागि राष्ट्रिय स्तरका दर्जनौँ पुरस्कार प्राप्त गरेका छन् उनले । गीत संगीतका विभिन्न विषयमा दर्जनौँ आलेख प्रकाशित गरेका रमेशसँग सौर्य दैनिकका लागि बाबुराम सिग्देलले गरेको संवादको संपादित अंश :

 

तपाईंको बालापन कस्तो थियो ? कहाँ बिते बाल्यकाल ?
मेरो जन्म दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरीमा भएको हो । साधारण परिवारमा जन्मिएको हुँ म । हाम्रो परिवारमा पाँच जना थियौँ । म नौ वर्षको हुँदा आमा परलोक हुनुभयो । भाइहरू साना–साना थिए । समय बित्दै जाँदा म पढ्नका लागि चरिकोट आएँ । कालिञ्चोक माद्यमिक विद्यालयमा एकैपटक चार कक्षामा भर्ना भएर अध्ययन सम्पन्न गरेँ । म बालपनदेखि नै आफ्नै खुट्टामा उभिएको साधारण व्यक्ति हुँ । मैले जीवनका सुख दुःख सानै उमेरमा भोग्ने अवसर पाएँ । त्यसलाई म अवसरका रूपमा लिन्छु । त्यसैले होला जीवन कसरी जिउन पर्छ भन्ने सानैमा बुझेँ ।

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
गीतसंगीतमै व्यस्त छु । पुराना गीतको एल्बम निकाल्ने काम थालेको छु । तेस्रो गीत संग्रहको काम हुँदैछ । यसबाहेक म गीत रेकर्ड, सांगीतिक छलफल र खोजमूलक आलेखको तयारीमा अहिले व्यस्त छु । यी मेरा दैनिकी हुन् ।

तपाईंको बुझाइमा गीत के हो ?
मेरो बुझाइमा गीत मानिसका जीवनको विभिन्न आयामको कलात्मक प्रस्तुति हो । यो कहिले वियोगान्त, कहिले संयोगान्त त कहिले तटस्थ पनि हुन्छ । गीतमा कुन भाव र शब्द प्रस्तुति हुन्छ त्यसैको आधारमा त्यसलाई बुझनु पर्छ । यो प्रस्तुतिमा भर पर्छ । मैले बुझेको गीत यहि हो ।

रेडियो नेपालबाट दोस्रोपटक पनि पुरस्कृत हुनुभयो त्यति बेला कस्तो महसुस गर्नुभयो ?
आफूलाई निकै भाग्यमानी र सफल गीतकार रहेछु भन्ने लाग्यो । यो पुरस्कारका लागि संगीतकर्मीहरू वर्षौं प्रयासरत रहन्छन् । सरकारी स्तरबाट दिइने यो पुरस्कार झण्डै ५६ वर्ष पहिलेदेखि दिइँदै आएको छ । त्यसमा पनि मैले दुईपटक यो पुरस्कार पाएँ । यसले मलाई थप चर्चित र जिम्मेवार बनायो । यसले मलाई कर्तव्यनिष्ट र मिहिनेती बन्न प्रेरित भएको छ । यो मेरो लागि गौरवको क्षण पनि हो । एकपटक पुस्कार पाउँदा त निकै खुसी भइन्छ मैले त एउटै पुरस्कार दुईपटक पाएँ । यसले यो क्षेत्रमा मैले अझै मिहिनेत गर्नुपर्छ भन्ने लागेको छ ।

तपाईंको गीति लेखनका उपलब्धी के हुन् बताइदिनुस् न ?
मैले ०४८ सालदेखि आधुनिक गीत लेखेको हो । पहिलोपटक ०५२ सालमा लेखेको गीत मेरो गीत संग्रहमा समावेश छ । यसैका आधारमा भन्नुपर्दा मैले ०५२ सालबाट औपचारिक रूपमा गीत लेख्न थालेँ । ०५७ सालमा मेरो पहिलो गीत रेकर्ड भयो । ०६२ सालमा ‘बालुवाको घर’ र ०७५ सालमा ‘हिउँको पूmल’ गीत संग्रह प्रकाशित भए । मैले ३२ वटा एल्बममा गीत लेखेको छु । रेडियो नेपालको गीत प्रतियोगितामा दुईपटक उत्कृष्ट गीतकार भएँ । केही राष्ट्रिय अवार्ड प्राप्त गरेको छु । गीत लेखेर जीविकाको लागि पनि सहयोग पुगेको छ । मैले नाम र दाम कमाएको छु । हालसम्म लगभग तीन सय गीत रेकर्ड भएका छन् । सात सय जति गीत रेकर्ड हुन बाँकी छन् र थप गीत पनि लेख्दैछु । गीतले मलाई आत्मसन्तुष्टि, पहिचान र जीवन धान्न सहयोग पुर्याएको छ । मेरो उपलब्धी यही हो ।

कसरी यति राम्रा राम्रा गीत लेख्नुभयो ?
अध्ययन गरेर गीत लेख्ने भएकोले मेरा गीतमा विविधता आएको हो । म एउटै फर्मेटमा अर्को गीत लेख्दिनँ । गीतको फर्मेट एकै भए त्यो सिर्जनात्मक हुँदैन । यसैले म सकेसम्म फरकफरक फर्मेटमा गीत लेख्छु । यसैले फरक कथा, पात्र र शैलीमा गीत लेख्नु नै उत्कृष्ट गीत लेख्नु हो । देश–विदेशको जीवनशैली भोगेको, सानैदेखि संघर्ष गर्दै अगाडि बढेको व्यक्ति भएकाले पनि मेरा गीतमा त्यही लेख्छु । नेपाली जनजीवनका गीत स्रोतालाई मनपर्ने भएकोले मेरा गीत राम्रा भएका होलान् । गीत लेख्दा स्रोताको रुचीलाई ध्यान दिन सकियो भने पनि गीत राम्रा हुन्छन् ।

प्रेममा असफल भएर पनि गीत लेखेको सुनिन्छ नि हो ?
त्यो हल्ला मात्रै हो । हरेक मान्छेका आ–आफ्नै कथा हुन्छन् जसले लेख्नमा प्रेरित गर्छन् । प्रेम वियोगले पनि मानिसलाई लेख्न ऊर्जा दिन्छ । तर, म अरूका समस्यालाई आफ्नै समस्या सम्झन्छु र त्यसैका आधारमा पनि लेखिन्छ ।

गीतकार नबनेको भए त के बन्नुहुन्थ्यो होला ?
सिर्जनामा लाग्ने मान्छे योजना गरेर लाग्दैन । म मनमा गुम्सेर बसेका कुराहरूलाई बाहिर ल्याउन चाहान्छु । त्यो नै गीत बन्दो रहेछ । सायद म गीतकार नबनेको भए कवि हुन्थेँ कि ! तर, म जे विधामा भए पनि सिर्जनामा नै हुन्थेँ । यो मेरो ईश्वरीय वरदान कुनै न कुनै अर्को हिसाबले प्रस्फुटित हुन्थ्यो । तर, मेरो स्वभावै गीतकारको स्वभाव हो । किनभने घटनाहरूबाट दुःखी हुने मान्छे म झैँ गीतकार बन्छ । घटनाहरूबाट चाँडो उत्तेजित हुने मान्छे कवि बन्छ भनेर विद्वानहरू भन्छन् । ममा पनि त्यो लागू हुन्छ ।

धेरै गीतकार छायामा हुँदा तपाईंचाहिँ किन सबैको नजरमा पर्नुभयो होला ?
मलाई धेरैले मन पराउनका दुई कारण छन् । पहिलो, म मेरा रचनाका स्तर र दोस्रो मेरो व्यक्तिगत बानीव्यहोरा । म उत्कृष्ट गीतका लागि मिहिनेत गर्छु । गीत संगीतसँग सम्बन्धित सर्जक, साहित्यकार, विश्लेषक, पत्रकार, रेडियो, टेलिभिजनलगायत सकेसम्म सबैसँग नियमित सम्पर्कमा हुन्छु । सबैलाई आदर गर्छु र सकेसम्म व्यावहारिक हुन्छु । अरूलाई सकेको सहयोग पनि गर्छु र अरूबाट सहयोग पनि लिन्छु । यसैले मलाई सबैले रुचाएको होलान्जस्तोे लाग्छ । अरू त मेरो बारेमा मैलेभन्दा अरूले मूल्यांकन गर्ने हो ।

तपाईं गीतको पारिश्रमिक कतिसम्म लिनुहुन्छ, भन्न मिल्छ ?
त्यसको बारेमा यति नै लिन्छु भनेर यहाँ नभनौँ । तर, म काममा पनि मिहिनेत गर्छु र पारिश्रमिक कामका आधारमा लिन्छु । मसँग उत्कृष्ट गीत माग्न गायक र संगीतकार आउँदा मलाई राम्रै पारिश्रमिक दिन्छन् । व्यावसायिक गीतकार पैसा राम्रो लिन काम पनि उत्कृष्ट गर्छु । तर, मलाई बजारमा महँगो गीतकार भनेर भन्दा रहेछन् । सुनेर हाँसो पनि उठ्छ रमाइलो पनि लाग्छ । मिहिनेत गरेपछि त्यस अनुसारको पारिश्रमिक त लिनै पर्यो ।

वातावरण विज्ञानको विद्यार्थी भएर पनि गीतकारका रूपमा अब्बल कसरी हुनुभयो ?
वातावरण विज्ञान प्रकृतिकै अध्ययनगर्ने विज्ञान हो । यो शैक्षिक ज्ञानले मलाई हाम्रा वरपरको जीवन र जगत बुझ्न मद्दत गर्छ । मैले लेख्ने माटो र पानीका गीत, बादल र बर्षाका गीत, प्रकृतिका गीत हुन् । फेरि सिर्जनाको कुनै सीमा हुँदैन । सिर्जनशीलता ईश्वरीय वरदान पनि हो ।

भविष्यमा कस्ता गीत लेख्ने सोचमा हुनुहुन्छ ?
मेरा धेरै विषयवस्तुका गीत छन् । तर, मलाई वर्षौँदेखि बस्दै आएको आफ्नो जन्मथलोबाट विभिन्न कारणले टाढा भएका मानिसहरूको मनोविज्ञानलाई आत्मीकरण गरेर गीत लेख्न मन छ । ती गीतहरूले उनीहरूको मनमा मनोरञ्जन र एक्लोपनको सहारा पनि बनोस् भन्ने चाहना छ ।

अन्त्यमा केही भन्नु छ कि ?
नेपाली गीतसंगीतलाई माया गरौँ । अश्लीलता भनेको आधुनिकता होइन । त्यसैले समाजलाई दिशानिर्देश गर्ने गीतसंगीत सिर्जना गरौँ । संगीतले पनि समाजलाई सकारात्मक सोच दिन सकिन्छ । यसमा सबै पक्षले ध्यान दिनुपर्छ ।

प्रतिक्रिया