दुर्गेशलाई बहिष्कार गर्दै प्रतिष्ठान

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाको शब्द, संगीत तथा स्वर रहेको ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ गीत विवादमा तानिएको छ । गीत सार्वजनिक भएपछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले उनलाई बहिष्कार गर्ने जनाएको हो । प्रतिष्ठानको आइतबार बसेको केन्द्रीय समितिको वैठकले गायक एवं मोडल थापालाई संस्थागत रुपमै बहिस्कार गर्ने निर्णय गरेको हो । प्रतिष्ठानका उप–महासचिव एवं विकृति विसंगति न्यूनिकरण विभाग समितिका संयोजक शिव हमालले वैठकले दुर्गेशलाई संस्थागत ढंगले नै बहिष्कार गर्ने निर्णय गरेको बताए । तिजको सन्दर्भ पारेर गायक दुर्गेशले केही दिन पहिले ल्याएको उक्त गीतको ‘ख्यास्स पुतली’ शब्दप्रति आपत्ति जनाएको हो । गीत सार्वजनिक हुनुअघि नै प्रतिष्ठानले उक्त शब्दप्रति आपत्ति जनाएको थियो ।

गीत तिजको मर्मविपरित रहेको जनाउँदै प्रतिष्ठानले गीतले मौलिक कला तथा संस्कृतिमाथि प्रहार गर्ने जनाउँदै आपत्तिजनक शब्द फेरबदल गरी प्रस्तुत हुन आग्रह गर्दै गायक दुर्गेशलाई पत्र नै काटेको थियो । गायक दुर्गेशले प्रतिष्ठानको उक्त आग्रहलाई बेवास्ता गर्दै गीत सार्वजनिक गरे । यस्तै, गीतको शब्दप्रति आपत्ति जनाउँदै सामाजिक सञ्जालदेखि महिला एवं महिलासँग सम्बन्धित संस्थाले विरोध जनाएका छन् । यता प्रतिष्ठानले आफूहरुको आग्रहलाई बेवास्ता गर्दै गीत सार्वजनिक गरेपछि गायक दुर्गेशलाई संस्थागत रुपमै बहिस्कार गर्ने निर्णय गरेको जनाइएको छ ।

हमालका अनुसार गायक दुर्गेशलाई प्रतिष्ठानको आजीवन सदस्यबाट निलम्बन गर्ने, सेवा सुविधाबाट बञ्चित गर्ने, प्रतिष्ठानको कुनै पनि कार्यक्रममा नबोलाउने, प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग गीतमा सहकार्य नगर्ने, मेला–महोत्सवमा नबोलाउने गरी प्रतिष्ठानका जिल्ला शाखा एवं आयोजकलाई आग्रह गर्ने निर्णय गरेको छ ।

यसैबीच दुर्गेशले प्रतिष्ठानले आफूलाई अन्याय गरेको जिकिर गरेका छन् । उनले गाउँघरतिर बोलिने शब्दलाई आफूले गीतमा प्रयोग गरेको बताए । उनले गाउँतिर ‘ख्यास्स’ भन्ने शब्द व्यापक रुपमा प्रचलनमा रहेको र त्यसलाई आफूले गीतमा प्रयोग गरेको सुनाए । उनका अनुसार उक्त शब्दको अर्थ ‘बल्ल खाइस्’ भन्ने हुन्छ । उनले भने, ‘त्यसमा नराम्रो भन्न खोजेको जस्तो मलाई लाग्दैन । तैपनि उहाँहरुले कसरी बुझ्नु भो त्यसबारेमा मलाई केही थाहा भएन ।’

गायक थापाले गीत आउनु केही महिनाअघि नै पोस्टर सार्वजनिक गरे पनि प्रतिष्ठानले कुनै चासो नदिएको बताए । उनले भने, ‘त्यो पोस्टर भाइरल भयो । उहाँहरुले केही पनि एक्सन लिनुभएन । अन्तिममा गीत सार्वजनिक हुनुभन्दा एकदिन अघिमात्रै पत्र पठाउनुभएको थियो । त्यो पत्र पनि औपचारिक रुपमा नभई म्यासेन्जरबाट आएको थियो ।’

उनले प्रतिष्ठानले आफूसँग छलफल नगरेको गुनासो पोखे । उनले छलफल गरी यो शब्दलाई हटाउँ भनेको भए आफूले हटाउने बताए । उनले भने, ‘पहिले पनि विवाद भयो । प्रहरी कार्यालय गएँ । त्यतिबेला पनि अग्रजको आग्रह अनुसार गीत हटाएको थिए ।’
उनले प्रतिष्ठानले कलाकारप्रति समान व्यवहार नगरेको आरोप लगाउँदै यसअघि पनि थुप्रै अपाच्य गीतमा प्रतिष्ठानले चासो नदिएको जिकिर गरे ।

उनले प्रतिष्ठानका जिम्मेवार व्यक्तिले अपाच्य गीत ल्याउँदा केही नगरेको आरोप लगाए । उनले थपे, ‘उहाँहरुले मलाई मात्र देख्नुभएको छ कि के हो ?’ गायक दुर्गेशले संस्थागत एवं सामाजिक बहिष्कार गर्ने अधिकार संस्थामा होला र भनेर प्रश्न समेत गरेका छन् । उनले गीतमा प्रयोग गरिएको शब्द गाउँघरमा प्रयोग भइरहने भएकाले अन्यथा नलिन आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया