निफ बिजेतालाई पुरस्कार

काठमाडौं । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) का बिजेतालाई आइतबार ट्रफी तथा नगद पुरस्कार प्रदान गरिएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बिजेतालाई पुरस्कार तथा ट्रफी प्रदान गरे । कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट २४ वैशाखदेखि २८ गतेसम्म चलेको उक्त फेस्टिभलमा नेपाल पनोरमातर्फका बिजेतालाई पुरस्कार प्रदान गरिएको हो ।

सो महोत्सवमा फिचर फिल्मको राष्ट्रिय प्रतिस्पर्धामा डान्डुप छिरिङ निर्देशित ‘आमा खान्डो’ उत्कृष्ट घोषित भएको थियो भने निर्देशनतर्फको अवार्ड पनि यही चलचित्रले हात पारेको थियो । बिजेता भएसँगै यस चलचित्रले एक लाख नगद पाएको छ । अभिनेतातर्फ पुरुष र महिला दुवैतर्फको अवार्ड शिरिष गुरुङको निर्देशन तथा छायांकन रहेको ‘लाटकोसेरो’ ले पाएको थियो । चलचित्रबाट नवीन शिल्पकार र सरिता गिरीले पुरस्कार पाएका थिए भने छायांकनतर्फको अवार्ड पनि यही चलचित्रले जितेको थियो । फिचरतर्फको उत्कृष्ट पटकथाको अवार्ड भने ‘सरिता टेल मि हु आइ एम’ बाट सर्जियो बासोले पाएका थिए ।

निफले कोरोना महामारीलाई लक्ष्य गर्दै यसै वर्षबाट महामारीलाई आधार बनाएर निर्माण गरिएका चलचित्रलाई पनि पुरस्कृत गर्ने निर्णय गरेको थियो । यस विधामा गणेश पाण्डेले निर्देशन गरेको ‘सिभिल सोल्जर्स’ उत्कृष्ट भएको छ । यो अवार्डको पुरस्कार राशि ५ सय डलर रहेको छ । कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले निफमा नेपाली चलचित्र निर्मातालाई समेत महोत्सवमा सहभागी गराउन आग्रह गरे । उनले भने, ‘नजिकको तिर्थ हेला भनेजस्तो महशुस भएको छ । हामीले नै यो निफलाई पनि कान्स वा बर्लिन बनाउन सक्ने । हामीले यस्ता अवार्डलाई होस्टेमा हैंसे गर्यौ भने मात्र यसले अन्तर्राष्ट्रिय मान्यता पाउने हो ।’ अध्यक्ष दाहालले सम्पूर्ण चलचित्र निर्मातालाई यस्ता फेस्टिभलमा सहभागी हुन आग्रहसमेत गरे । उनले बोर्ड आफैंले पनि अन्तर्राष्ट्रियस्तरको अवार्ड गर्ने योजना बनाइरहेको जानकारी दिँदै निफजस्ता अवार्ड ज्यादाभन्दा ज्यादा हुनुपर्ने जिकिर गरे ।

सो अवसरमा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान तथा निफका अध्यक्ष केपी पाठकले ५औँ संस्करणका लागि आवेदन खुल्ला गरेको बताए । उनले ७५ भन्दा बढी चलचित्र फ्रिवेमार्फत सहभागी भइरहेको जनाए । १ जुलाईबाट सुरु भएको आवेदन २५ डिसेम्बरसम्म सुचारु रहने जानकारी दिए । निफका अध्यक्ष पाठकले भने, ‘विदेशी चलचित्र निर्मातालाई भने कुरिअरमार्फत अवार्ड र प्रमाणपत्र पठाउने तयारी गरेका छौं ।’ महोत्सवमा निर्देशक तुलसी घिमिरे फिचर फिल्मतर्फका वल्र्ड पानारोमा र नेसनल फिचर्स अन्तर्गतका निर्णायक थिए । छिरिङले फिल्म सोसाइटीको अन्तर्राष्ट्रिय संगठन ‘इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिज’ को तर्फबाट प्रदान गरिने डन क्विजोट अवार्डको निर्णायकको भूमिका निभाएका थिए । लघुचलचित्रतर्फ राजभाइ सुवालले अन्य विदेशी फिल्ममेकरसँगै निर्णायकको भूमिका निर्वाह गरेका थिए । यस्तै, यसै विधामा निर्णय गर्न छिरिङसँगै इटलीकी लाउरा मानकुसो प्रिजटानो र भारतकी मधुरिमा बरुवा सेनको टोली रहेको थियो । उक्त महोत्सवभर चलचित्र प्रदर्शनसँगै नेपाली सिनेमासम्बन्धी विविध विषयमा बहस गरिएको थियो ।

प्रतिक्रिया