नेपाली आधुनिक मूर्तिका सुत्रधार

देवेन्द्र थुम्केली

प्रारम्भ
कला संवेगबाट उत्पन्न हुने सिर्जनात्मक रूप हो । भौतिक रूपमा प्रकटीकरण हुने मानवीय गतिविधिको अति उच्च रूप पनि हो । यसमा मनोविज्ञान, समाज, धर्म, संस्कृति, बिम्ब–प्रतिबिम्ब, विज्ञान, मानव, प्रकृति तथा चराचर जगतका शाश्वत विषयलाई कलात्मक रूपमा उनिएको हुन्छ । कलामध्ये पनि मूर्तिकला एक विशिष्ट विधा हो । यसमा दर्शक÷भावकले आफूलाई भौतिक रूपपै सिर्जनात्मक स्वादको परख गर्न सक्ने तागत राख्दछ ।

कलाको यही विशिष्ट विधामा सात दशकदेखि सक्रिय व्यक्तित्व ठाकुरप्रसाद मैनाली नेपाली आधुनिक मूर्तिकला क्षेत्रका विशिष्ट प्रतिभाका रूपमा परिचित छन् । उनका मूर्तिमा राष्ट्र र राष्ट्रियताको भावलाई बिम्बात्मक रूपमा उधिनिएको पाइन्छ । उनलाई नेपाली मूर्तिकलामा विधिवत् रूपमा आधुनिकता भित्र्याउने श्रेय पनि जान्छ । यस्तै, नेपाली मूर्तिकलामा वातावरणीय अर्थात् स्मारकीय कला निर्माण र कलाको संस्थागत विकासका निम्तिसमेत मैनालीको विशिष्ट योगदान रहेको छ ।

 

परिचय
१९९१ साल असार ७ गते काभ्रेको वाल्टिङमा जन्मिएका ठाकुर स्व.रामप्रसाद मैनाली र स्व.इन्द्रमायाका सुपुत्र हुन् । हाल रातोपुल सिफलमा रहेर कलाकर्म गरिरहेका उनले भारतको बरौदास्थित महाराजा सियाजीरायो विश्वविद्यालयबाट मूर्तिकला विषयमा स्नातक गरेका छन् । उनले उक्त विश्वविद्यालयबाट अध्ययन गरेर फर्केपछि नेपाली मूर्तिकलामा नयाँ धारको सुरुआत भएको मान्न सकिन्छ । परम्परागत तथा वस्तुवादी धारमा प्रवाहित नेपाली मूर्तिकलालाई नयाँ गोरेटोमा हिँडाउने मैनालीले सुरुताका निकै चुनौतीको सामना गर्नुपरेको थियो ।

ठाकुरप्रसाद मैनाली

कलामा योगदान दिएकै कारण मैनालीले वीरेन्द्र राष्ट्रिय कला स्वर्ण पदक, श्री ५ वीरेन्द्र शुभराज्यभिषेक पदक, सुप्रबल गोरखा दक्षिणाबाहु (तृतीय), वीरेन्द्र गद्दी आरोहण पदक, वीरेन्द्र ऐश्वर्या सेवा पदक, विश्यात त्रिशक्ति पट्ट (तृतीय) लगायतका पदक तथा सम्मान पाएका छन् । उनले राष्ट्रिय कला प्रदर्शनीमा समेत प्रथम पुरस्कार पाएका छन् । यस्तै देश विदेशमा भएका विभिन्न कला प्रदर्शनीमा उनले पुरस्कार पाएका छन् भने विभिन्न संघसंस्थाबाट दर्जनौँ सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । यसैगरी उनका नेपाललगायत विश्वका विभिन्न मुलुकमा कला प्रदर्शनी भएका छन् ।

मूर्तिकलामा आधुनिकता
समयको गतिशील प्रवाहसँगै मानवीय क्रियाकलापमा नयाँपन थपिँदै जान्छ । नयाँ नयाँ चीज थपिँदै जानेक्रममा मानवले आफूलाई अझ सचेत ढंगले अगाडि बढाउँदै लगेको पाइन्छ । युग परिवर्तन भएसँगै हरेक चीजमा नयाँपन थपिँदै जान्छ । कलामा पनि यो क्रम पाषाण युगदेखि नै निरन्तर चलिरहेको छ । ढुंगे हतियार बनेदेखि प्रारम्भ भएको मानिएको मूर्तिकलाको विकास आजसम्म आइपुग्दा निकै समृद्ध र वैभवशाली बन्न पुगेको छ । पाषाण युगदेखि मानव जीवनको एक अंगको रूपमा विकसित हुँदै आएको यस विधाको जगमा मानव जातिले आफ्नो पहिचान र सभ्यताको निर्माण गर्न सकेको हो ।

मेसापोेटामिया, इजिप्ट, सिन्धुघाँटी, चिनियाँ, ग्रीक, रोमन, नेपाली आदि सभ्यता पनि कलाकै कारण मौलाउँदै फस्टाएका हुन् । मूर्तिकला त यसको जीवन्त पक्ष नै रहन गएको छ । कला नभएको भए सायद यी सभ्यताको पहिचान नै हुने थिएन । पूर्वीय र पश्चिमी सभ्यतासँगै धार्मिक र यथार्थपरक हुँदै कलाको विकास हुँदै आएको पाइन्छ । विश्वमा विकास भएको विज्ञान र सञ्चारले कलामा पनि आमूल परिर्वतन ल्याउने आधार खडा ग¥यो । विज्ञानको विकाससँगै कला अझै व्यापक र सिर्जनात्मक बन्दै गइरहेको छ ।


युरोपको पुनर्जागरण कालमा कलामा आएको नयाँ दृष्टिकोण र मानव जातिमा आएको चेतनाले कलालाई उचाइमा पु¥याउन सम्भव भयो । इटालीमा माइकलएञ्जेलोजस्ता कलाकारले मूर्तिकलाको विकासमा निकै काम गरे । यसैगरी मूर्तिकलाको इतिहासमा अमूर्तताको प्रयोग ब्राँकुसीले गरे । बिसौं शताब्दीपछि कलामा देखापरेको आधुनिक चिन्तन र त्यसको प्रभावले मानवजातिकै समृद्धतालाई अझ उचाइमा पु¥याउन सम्भव भएको तथ्यलाई नकार्न सकिन्न ।

बिसौँ शताब्दीको प्रारम्भसँगै कलामा आधुनिकता आएको हो । विभिन्न कलाकारले गरेका प्रयोगबाट नै कलामा नयाँ र आधुनिक शैलीको विकास हुन सकेको हो । मूर्तिकलामा भने पाब्लो पिकासोले गर्दा नयाँ र आधुनिक शैलीको विकासमा सघाउ पुग्न सक्यो । उनले बनाएका उमेन्स हेड १९०९ र म्यान्डुलिन सन् १९१४ काठमा बनाएका मूर्तिले नै आधुनिकताको ढोका खोल्न मद्दत ग¥यो । विश्वप्रसिद्ध मूर्तिकार अगस्त रोदिनलाई आधुनिक मूर्तिकला सुरु गर्ने कलाकारको रूपमा लिइन्छ । उनले परम्परागत मूर्तिलाई अभिव्यञ्जना शैलीमा ढालेर आकृतिमा नयाँ र मौलिकपन दिने कोशिस गरेका थिए । उनकै पदचाप समाउँदै धेरैले त्यही शैलीमा मूर्ति बनाए ।

त्यसैगरी मूर्तिकार ब्राँकुसीले मूर्तिमा आकृतिलाई मोडेर वस्तुनिरपेक्ष आकार दिने कार्य गरे । सन् १९०७ मा उनले बनाएको ‘द किस’ मूर्तिले विश्व मूर्तिकलामा नयाँ मोड दियो । मूर्तिकार हेनरी मुर, अर्बेटो ज्याकोमिती, उम्रेतो बुकियोनी लगायतका मूर्तिकारले मूर्तिकलाको क्षेत्रमा आधुनिकता ल्याउन महत्वपूर्ण योगदान दिएका छन् ।

नेपालमा आधुनिक मूर्तिकलाको विकास
नेपालमा आधुनिक मूर्तिकलाको विकासको विधिवत् विकास ०१८÷०१९ सालदेखि भएको मानिन्छ । हुनत् यस विषयमा विभिन्न तर्क आइरहेका छन् । तर, व्यवस्थित रूपमा मूर्तिकलामा आधुनिकताको सुरुआत ठाकुरप्रसाद मैनालीले गरेको पाइन्छ । हुनत् नेपाली कलामा आधुनिक परिवेशको आधार निर्माण भने सन् १८१६ सुगौली सन्धिपछि भएको मान्नुपर्दछ । नेपाल–इस्ट इन्डिया कम्पनी (बेलायत) बीच भएको यो सन्धिपछि नेपालमा पश्चिमी प्रभाव ह्वात्तै बढ्यो । काठमाडौंमा बेलायतको स्थायी ढंगले कुटनीतिज्ञ बस्न थालेपछि नेपाली कलामा पश्चिमी प्रभाव बढेको हो । त्यसको प्रभाव कला, साहित्य तथा संस्कृति लगायतका क्षेत्रमा विस्तारै पर्दै जान थाल्यो । खासगरी बेलायती कलाकारले बनाएका सालिक नेपालमा प्रतिस्थापन गरेर नयाँ आधार खडा गर्न खोजेको देखिन्छ । १९९१ सालमा नेपाल आर्ट स्कुल खुलेसँगै कलाको औपचारिक अध्ययन सुरु भयो । यसले पनि नेपाली कलामा पश्चिमी वस्तुवादी शैलीलाई अंगीकार गर्दै अगाडि बढेको देखिन्छ । कलाका आधारभूत विषय अध्यापन गराउने परिपाटी अनुरूप चित्र तथा मूर्तिको अध्ययन उक्त संस्थामा गराइयो ।

चित्रमा चन्द्रमानसिंह मास्के र तेजबहादुर चित्रकारले १९८० सालकै दशकमा पश्चिमा वस्तुवादी शैलीमा काम गरेका थिए । उनीहरूले भारतको कलकत्तामा गएर कलाको औपचारिक अध्ययन गरेर फर्किसकेपछि नेपालमा यसै आधारमा कलाको अध्ययन गर्ने जमात बढ्दै गयो । अर्थात् १९८० सालपछि नेपाली कलामा देखिएका आधुनिक प्रवृत्ति र तिनमा पाइने सुक्ष्म नेपालीपनले विश्वस्तरसम्म पुग्नलाई बाटो खुलेको थियो ।
नेपाली मूर्तिकलामा नयाँपनको सुरुवात्को चरणलाई केलाउनेक्रमा कला शिक्षालाई लिनुपर्ने हुन्छ । खासगरी पश्चिमी शैलीमा आधारित शिक्षाले नेपाली कलामा समेत त्यसको प्रभाव पर्न गयो र नयाँपन देखाप¥यो । नेपाल आर्ट स्कुल पछि जुद्धकला पाठशालामा पढेका विद्यार्थीले के कति कला बनाए त्यसको अध्ययन हुन सकेको छैन । तर नेपालमा आधुनिक चिन्तन वा शैलीमा मूर्तिकलाको व्यवस्थित सुरुवात् भने २०१८ सालपछि ठाकुरप्रसाद मैनालीले गरेको देखिन्छ । यथार्थपरकबाट पर सरेर उनले आधुनिक मूर्ति निर्माण गरेको पाइन्छ । भारतको बरौदास्थित एमएस विश्वविद्यालयबाट मूर्तिकला विषय अध्ययन गरेका मैनालीले नेपाली मूर्तिकलामा नयाँ धारको सुरुआत गरेका हुन् ।


मैनालीका आधुनिक मूर्ति
मैनालीले ०१८÷०१९ सालपछि आधुनिक मूर्तिकला निर्माणमा दत्तचित्त भएर लागेको देखिन्छ । उनले मूर्तिकलामा चलेका परम्परागत मान्यतालाई भत्काउँदै आफूले पढेको र अभ्यास गरेको आधुनिक शैलीमा साना तथा ठूला आकारका मूर्ति निर्माण गरेको पाइन्छ ।
उनले माटो, सिमेन्ट, धातु लगायतका माध्यममा मूर्ति बनाएको पाइन्छ । नेपालका परम्परागत मौलिक विषयलाई बिम्बको रूपमा प्रयोग गर्दै उनले तिनमा कलाको सौन्दर्यकरण भरेको देखिन्छ । विश्वमा चलेको आधुनिक धारलाई नेपालमा सुरु गर्दै प्रदर्शनी तथा प्रतिस्थापना गर्ने कार्यमा मैनालीले महत्वपूर्ण योगदान रहेको छ ।

विश्व भूमण्डलीकरणको युगमा छ । प्रविधि र सूचनाले मान्छेलाई एकै ठाउँमा केन्द्रित गरेको छ । यस्तो परिवेशमा पनि मैनालीले आफ्नो मन र कर्मले कलाक्षेत्रमा समर्पित रही सचेत ढंगले आफ्नो यात्रालाई अविराम अगि बढाइरहेका छन् । उनका कला वैश्विक परिदृश्यमा समेत परिचित हुने खालका छन् । स्थानीय विषय, मौलिक बिम्ब र प्रतीकको संयोजनद्वारा प्राणित उनका कलामा देखिने सामयिकता र प्रस्तुति आधुनिक नेपाली मूर्तिकलाका आधार हुन् ।

मौलिक विषयले समाज र देशको पहिचानलाई चिनाउने गर्दछ । यस कार्यमा मैनालीले आफूलाई सचेततापूर्वक प्रस्तुत गरेको पाइन्छ । मौलिक विषयलाई सचेत ढंगले मूर्तन गर्दै उनले विश्व परिदृश्यमा चलेका कला चिन्तन र शैलीमा नेपाली कलालाई डो¥याउने प्रयत्न गरेको देखिन्छ । खासगरी आधुनिक मूर्तिकलाको जगलाई नेपालमा स्थापित गर्ने श्रेयसँगै उनले अभियानकै रूपमा सार्वजनिक स्थलमा आधुनिक मूर्ति प्रतिस्थापना गर्ने कार्यमा अग्रसर रहेको पाइन्छ । यसरी आधुनिक मूर्तिकलामा उनको अभियानले सार्थकता पाउँदै गयो र त्यसले इतिहाससमेत खडा गर्न सक्षम भयो ।

कलाको संंस्थागत विकासमा मैनालीको योगदान
मूर्तिकला रचनासँगै मैनालीले नेपालमा कलाको संस्था विमासमा महत्वपूर्ण योगदान दिएका छन् । उनले कलालाई संस्थागत रूपमा विकास गर्नुपर्दछ भन्ने मान्यतानुसार संरचना निर्माणमा काम गरेको पाइन्छ । नेपालमा कलाको विकास सरकारी तहबाटै हुनुपर्छ भनेर त्यसको अगुवाई समेत गरेको पाइन्छ । यसै सिलसिलामा नेपाल ललितकला संस्था (नाफा) को स्थापना हुन सक्यो । उक्त संस्थाले नेपाली कलाको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ ।

मैनालीले नाफा स्थापनाका लागि दिएको योगदान नेपाली कलाजगतका लागि एउटा सराहनीय काम रहन गएको छ । तत्कालीन युवराज वीरेन्द्र शाह अध्यक्ष रहेको नेपाल ललितकला संस्था (नाफा) ले २०२२ सालदेखि नियमित रूपमा राष्ट्रिय कला प्रदर्शनी ग¥यो । हुनत यो संस्था स्थापनाका लागि मैनालीले २०२० सालदेखि मिहिनेत गरेको पाइन्छ ।

२०३४ सालमा प्रज्ञा प्रतिष्ठानमा नाफा गाँभिएपछि नेपाली कलाकारले ललितकला प्रज्ञा प्रतिष्ठान स्थापनाको माग राखेर आन्दोलन गरे । यो आन्दोलन निरन्तर ०४६ सालको परिवर्तनपछिसम्म पनि चलिरहयो । परिवर्तनपछि बनेका सरकारको ध्यान प्रतिष्ठान स्थापना खासै जान नसके पनि मैनाली लगायतका अग्रज कलाकारले त्यो विषयलाई घच्घचाइरहे । ०५१ सालमा प्रतिष्ठान स्थापना गर्ने सरकारी कदम राजनीतिक कारणले सफल हुन नसके पनि त्यसलाई निरन्तर कला क्षेत्रको आवश्यकता हो भन्ने आवाज व्यक्तिगत तथा संस्थागत रूपमा मैनालीले उठाउँदै आए ।
यस्तै, मैनाली नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा उपकुलपति (२०६७–०७१), नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञपरिषद् सदस्य २०६१, नेपाल ललितकला संस्था (नाफा) मा १२ वर्षजति सदस्यसचिव भइ कार्य गरेका छन् । यस्तै उनी नेपाल बाल संगठन, मैनाली समाज, नेपाल कलाकारकर्मी संघ, नेपाल सांस्कृतिक प्रतिष्ठान, लालुपाते सांस्कृतिक परिषद्, अखिल भारत नेपाल छात्र संघ, नेपाल छात्र संघ, लगायतका दर्जनौं संघसंस्थामा रही सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय भएका थिए ।


वातावरणीय/स्मारकीय मूर्ति निर्माण
मैनालीको नेपालमा स्मारकीय अर्थात् वातावरणीय मूर्ति निर्माणमा विशिष्ट योगदान रहेको छ । उनले २०२० सालको दशकबाट नै यसको सुरु गरेको पाइन्छ । सार्वजनिक स्थलमा ठुला आकारका मूर्ति निर्माण गरी त्यसलाई आममानिसमा समक्ष प्रस्तुत गर्ने काममा उनको अग्रसरता निकै प्रशंसनीय छ । आधुनिक धारमा वातावरणीय कला निर्माण गर्ने जस मैनालीलाई नै जान्छ । यस्ता कलामा उनले नेपालका मौलिक विषय, श्रम, धर्म–संस्कृति, सामाजिक–राजनीतिक विषय आदिलाई सापेक्षित रूपमा उधिनेको पाइन्छ ।

मैनालीले बनाएका केही कलाकृति
मूर्तिकार ठाकुरप्रसाद मैनालीले सिर्जना गरेका मूर्तिकलामा नेपालको जनजीवन र विकासको प्रतिनिधित्व गर्ने ३५ फिटको ‘निर्माण’ शीर्षकको मूर्ति २०२३ साल रहेको छ । ‘बुद्धि र बलको योग’ शीर्षकको १० फिटको मूर्ति कृषि विकास बैंक २०३४, कृषि कार्यहरू ८ फिट अग्लो मूर्ति, कृषि विकास बैंक रामशाह पथ २०३५, दुरसञ्चार विकास २०३५, ६ फिट अग्लो दुरसञ्चार संस्थान नक्साल, काठमाडौं, कृषि गतिविधि ६ ओटा २०३६, कृषि विकास बैंक रामशाह पथ, १० फिट अग्लो ‘ज्ञानको ज्योति’ २०३७, दुरसञ्चार संस्थान बबरमहल, १२ फिट अग्लो ‘शिक्षा’ २०३७, त्रिभुवन विश्वविद्यालय त्रिवि कीर्तिपुर, ६ फिट अग्लो ‘विकास’ २०३८, परवानीपुर सिमरा पर्सा, १४ फिट अग्लो ‘शक्ति’ २०३८, कुलेखानी जलविद्युत घुर्सिङ, ८ फिट अग्लो ‘कृषक’ २०३९, कृषि सेवा आयोजना केन्द्र काठमाडौं, ७ फिट अग्लो ‘ज्ञान र सेवाको मन्दिर’ २०३९, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, १० फिट अग्लो ‘कम्प्युटर मस्तिष्क’ २०४०, राष्ट्रिय कम्प्युटर केन्द्र सिंहदरबार, २० फिट अग्लो ‘ज्ञान विज्ञानको केन्द्र’ २०४१, दीपेन्द्र प्रहरी आवासीय विद्यालय ककनी, ७ फिट अग्लो ‘विकासको गति’ २०४२, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, १० फिट अग्लो ‘सञ्चारको गति’ २०४३, अन्तर्राष्ट्रिय दूरसञ्चार भवन त्रिपुरेश्वर, ८ फिट अग्लो ‘प्रकाशको मन्दिर’ २०४४, कलुखानी दोस्रो, भैसे, १० फिट अग्लो ‘कृषक’ २०४४, रामपुर कृषि क्याम्पस चितवन, ९ फिट अग्लो ‘विकास’ २०४५, इञ्जिनियरिङ अध्ययन संस्थान, लामाचौर पोखरा, १० फिट अग्लो ‘गौरीशंकर’ २०४५, दीपेन्द्र सभागृह पोखरा, ९ फिट अग्लो ‘दुरसञ्चारको गति’ २०४६, दुरसञ्चार संस्थान चावहिल, ९ फिट अग्लो ‘शिवशक्ति’ २०४६, सिफल काठमाडौं, ९ फिट अग्लो ‘विद्युत विकास’ २०४७, मस्र्याङ्दी जलविद्युत, ८ फिट अग्लो ‘जीवनज्योति’ २०४७, सैनिक अस्पताल छाउनी, पाँच फिट अग्लो ‘ओम नम शिवाय’ २०४८, बुद्ध गान्धी प्रतिष्ठान, लाजिम्पाट, आठ फिट अग्लो ‘प्रहरी स्मारक’ २०५१, प्रहरी प्रधान कार्यालय नक्साल, पाँच फिट अग्लो ‘ओम’ २०५२, नौ फिट अग्लो ‘प्रकृति’ २०५७ र सात फिट अग्लो ‘आस्था’ शीर्षकको मूर्ति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वर आदि रहेका छन् । यीसँगै मैनाली साना–ठूला गरी सयौं मूर्ति बनाएका छन् ।

कलाकृतिका विशेषता
विशेष गरी साहित्य, राजनीतिक गतिविधि तथा सामाजिक क्रियाकलापमा संलग्न हुँदै कलाकर्मको बाटोमा अग्रसर भएका मैनालीले विभिन्न चुनौतीको सामना गर्दै नेपाली मूर्तिकलामा आधुनिकतालाई विधिवत् रूपमा विकास गरेको पाइन्छ । मूलतः नेपाली कलामा मैनाली आधुनिकता भित्र्याउने, स्मारकीय कला निर्माण गर्ने र कलाको संस्थागत विकासमा महत्वपूर्ण योगदान दिएको पाइन्छ । आधुनिक मूर्तिमा धार्मिक, सांस्कृतिक, प्रकृति, मौलिक÷स्थानीय विषयलाई प्रयोग गर्दै आएका मैनालीका सिर्जनामा नेपालका विभिन्न सांस्कृतिक वैभवलाई बिम्बात्मक तथा प्रतीकात्मक रूपमा उतारेको पाइन्छ । उनमा नेपाली मौलिकतालाई कलाका विश्वपरिदृश्यमा देखापरेका शैलीगत चिन्तनमा ढाल्दै तिनमा आधुनिकता भर्न सक्ने सबल पक्ष रहेको पाइन्छ । परम्परागत धारमा प्रवाहित नेपाली मूर्तिकलामा नवीन सोच र आयाममा काम गर्ने स्रष्टाको परिचय बनाएका मैनाली विषय, शैली, प्रस्तुति, सान्र्दभिकता, प्रविधि तथा विधिमा समेत सचेत ढंगले आफूलाई पस्कँदै आएका छन् । मैनालीका मूर्तिमा राष्ट्र र राष्ट्रियताप्रतिको भावना जागृत भएको पाइन्छ । वास्तवमा मूर्तिमा मानवीय भावनाको उद्घाटनसँगै प्रकृति, देश, भूगोल, विभिन्न जनजातिका संस्कार, धार्मिक बिम्व, संस्कृति तथा राष्ट्रिय पहिचान बोकेका विविध पक्षहरूको प्रतीकात्मक रूपमा कलामा मूर्तन भइरहेको हुन्छ । मैनाली यी पक्षमा समेत सचेतापूर्वक उभ्याएको पाइन्छ ।

निष्कर्ष
नेपाली आधुनिक मूर्तिकलामा मूर्धन्य व्यक्तित्व ठाकुरप्रसाद मैनालीको विशिष्ट योगदान रहेको छ । आधुनिक नेपाली मूर्तिकलाको सुरुवात्, विकास तथा त्यसको सामाजिक स्वीकार्यता बढाउने कार्यमा समेत उनले विशिष्ट भूमिका खेलेका छन् । कला रचना, कलाको संस्थागत विकास तथा स्मारकीय÷वातावरणीय मूर्तिकला निर्माणमा मैनालीले नेपाली कला जगतलाई अतुलनीय योगदान दिएका छन् । अथक मिहिनेत र निरन्तरले उनी नेपाली आधुनिक मूर्तिकला क्षेत्रका मूर्धन्य व्यक्तित्वको रूपमा परिचित बन्न सफल भएका छन् ।

०१८÷०१९ सालदेखि नेपाली आधुनिक मूर्तिकलाको उन्नयनमा लागेका मैनालीको सक्रियता आज अद्यापिसम्म पनि निरन्तर चलिरहेको छ । कर्म र मिहिनेतको योगबाट जन्मिएको व्यक्तित्वका रूपमा मैनालीलाई लिन सकिन्छ । भावपरकका साथै जीवनका कटुयथार्थका विषयलाई आधुनिक शैलीमा मूर्तन गर्दै मूर्तिकार मैनालीले कला रचना गर्दै आएको देखिन्छ । विषयलाई गहन र फराकिलो तबरले व्यक्त गर्दै समयापेक्ष भावलाई मूर्तन गर्ने कौशलता उनका मूर्तिमा अनुभूत गर्न सकिन्छ । विषयप्रतिको गहन बुझाइ, साधना, संघर्ष, मिहिनेत र प्रस्तुतिमा सिर्जनात्मक क्षमताले उनका कला आकर्षक बन्न गएका छन् । यस्तै, मैनालीले कविता, गीत तथा साहित्यमार्फत आफ्नो बहुआयमिक व्यक्तित्वलाई समेत उजागर गर्दै आएको पाइन्छ ।

प्रतिक्रिया