कार्यालयको मिलेमतोमा मोही हटाउन व्यक्तिको थर नै गायब

रौतहट । जग्गा दलाल र सरकारी कार्यालयको मिलेमतोमा कतिसम्म गैरकानुनी काम हुन्छ भन्ने उदाहरण बनेको छ चन्द्रपुर–४ मा रहेको १३८५ नम्बर कित्ताको १८ धुर जग्गा । मोहीको नाम थर रहँदारहँदै भूमि सुधार तथा मालपोत कार्यालय गौरले मोहीयानी हक भएका व्यक्तिलाई मृत्यु भइसकेको र नातागोता कोही नरहेको भन्दै बेपत्ते ठहर गरेर १८ धुर जमिनलाई लगतबाट हटाउने फैसला गरेको लामो समयपछि खुल्न आएको छ । ०२१ सालको सर्वे नापीअनुसार नापी कार्यालयको फिल्डबुकमा साविक चन्द्रनिगाहपुर गाविस–१ स्थित किता नम्बर २ सय २० को १९ कठ्ठा जमिनमा गोमाकुमारी मगर जग्गाधनी रहेको जग्गाको मोही महलमा किसान बखतबहादुर चौहान क्षेत्री नै कायम रहेको भए पनि उक्त जमिन खरिद गरेका शंकर राय यादवको कित्ता नम्बर १३८५ को १८ धुर जमिनमा मोही बखतबहादुर चौहान क्षेत्रीको पूरा नाम भूमि सुधार तथा मालपोत कार्यालय गौरको स्रेस्तामा रहे पनि कार्यालयले थर हटाएर गलत प्रक्रिया अपनाउँदै आर्थिक चलखेलमा मोही लगत कट्टा गरेको पाइएको हो ।

भूमि सुधार तथा मालपोत कार्यालय गौरले जग्गाधनीको मिलोमतोमा किता नम्बर २२० को जमिनको मोही बदर गर्दै किता नम्बर ५७० र ५७१ कायम गरेको र सोही आधारमा पुनः कित्ता नम्बर ५७१ बदर गरी किता नम्बर ७५९ र ७६० कायम गरेपछि कायम भएको कित्ता नम्बर ७६० बदर गरी १०१३ र १०१४ कायम गरेको पाइएको छ । त्यस्तै कित्ता नम्बर १०१४ बदर गरी र १०३२, १०३३ र १०३४ कायम गर्दै कित्ता नम्बर १०३४ बदर गरी १०८४ र १०८५ कायम गरेको खुल्न आएको हो । सोही १०८५ नम्बर किताको १८ धुर जमिनको मोही बखतबहादुर चौहान क्षेत्रीको गलत प्रक्रियाबाट भूमी सुधार तथा मालपोत कार्यालय गौरले मोही हटाउने फैसला गरेपछि उनका नातीले अख्तियारमा समेत उजुरी दिएका छन् ।

सो जमिनको १ नम्बर मोहीको लगत स्रेस्तामा मोही बखतबहादुर चौहान क्षेत्री हुँदाहँुदै भूमि सुधार तथा मालपोत कार्यालय गौरले बखतबहादुर मात्रै जनाएर ०७६ साल भदौ २ गते तत्कालीन कार्यालय प्रमुख सीताराम थापाको इजलासले मोही कायम रहेको उक्त जमिनको लगत कट्टा गरेर मालपोत कार्यालय चन्द्रनिगाहपुरमा स्रेस्ता जनाउन पत्राचार गरेर मोठबाट मोहीको नाम हटाइसकेको छ । चन्द्रपुर नगरपालिका–४ का अध्यक्ष अमर आलेले समेत पेस गरेको स्रेस्ता नहेरीकनै बखतबहादुरको ०३२ साल अगावै कालगतिले मृत्यु भएको र निजको पत्नी, छोरा, छोरी, दाजुभाइसमेत कोही नभएको सिफारिस गरेका छन तर बखतबहादुर चौहान क्षेत्रीको जिल्ला प्रशासन कार्यालय रौतहटबाट ०३५ असोज ११ गते नागरिकताको प्रमाण पत्र बनेको अभिलेखमा उल्लेख छ । वडाध्यक्ष आलेले सिफारिस लिन आउँदा लालपुर्जामा बखतबहादुर मात्रै रहेकोले सोही आधारमा आपूmले सिफारिस गरेको बताए पनि उनले जारी गरेको सर्जमिन मुचुल्कामाथि नै शंका उत्पन्न भएको छ । उता बखतबहादुर चौहान क्षेत्रीको नाती कौशल चौहानले ०६४ साल चैत ४ गते हजुरबुबाको निधन भए पनि वडा कार्यालयले गैरजिम्मेबार तबरले ०३२ सालम मृत्यु भएको सिफारिस गरेको र सर्जमिन मुचुल्कामा समेत जथाभावी नाम राखेर सिफारिस गरी आपूmहरूको हक मार्न खोजेको आरोप लगाए ।

प्रतिक्रिया