अग्रज पत्रकार आचार्यको ८२ वर्षको उमेरमा निधन

गण्डकी । नेपाल पत्रकार महासंघ कास्की शाखाका संस्थापक सदस्य तथा अग्रज पत्रकार तिलक आचार्यको ८२ वर्षको उमेरमा आज निधन भएको छ । विसं १९९५ चैतमा पर्वतको विहादीमा जन्मिएका अग्रज पत्रकार आचार्य केही समय अगाडिदेखि मधुमेह, उच्च रक्तचाप र जन्डिस रोगबाट ग्रसित थिए । उनको छोरेपाटनस्थित आफ्नै निवासमा निधन भएको हो ।

स्व आचार्यका दुई छोरा र दुई छोरी छन् । अग्रज पत्रकार आचार्य पाँच दशकभन्दा लामो समयसम्म सक्रिय पत्रकारितामा थिए । उनिसहित पोखराका अन्य बुद्धिजीवीसमेत मिलेर ‘नौलो डाँको’ साप्ताहिक सञ्चालन गरेका थिए । उनी तत्कालीन क्षेत्रीय अदालत बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्तासमेत थिए ।

वाम बुद्धिजीवी स्व आचार्य देशमा परिवर्तनका लागि भएका सबै आन्दोलनमा सहभागी भए । निडर र सधैँ अग्रगमनको पक्षमा लाग्ने अग्रज पत्रकार आचार्यको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अभिभावक गुमाएको छ ।

उनको आजै सेतीनदीस्थित रामघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । पत्रकार महासंघ कास्की शाखाकी अध्यक्ष विमला भण्डारीले आज एक शोक विज्ञप्ति प्रकाशित गर्दै यस दुःखद् घडीमा स्व आचार्य प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना एवं शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेकी छन् ।

प्रतिक्रिया