स्मृतिका पानामा राजकुमार

ललितपुर । डेढ महिनाअघि दिवंगत भएका चर्चित मूर्तिकार राजकुमार शाक्यको ४५ औं स्मृतिका दिन पुस्तक प्रकाशन गरिएको छ । स्याक्रेड ग्यालरीले प्रकाशन गरेको ‘स्मृतिका पानाहरुमा वरिष्ठ मूर्तिकार राजकुमार शाक्य’ पुस्तकको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले एक समारोहका बीच विमोचन गरे । उनले नेपाली कला जगतले मूधन्र्य कलाकार गुमाएको बताउँदै धातुपत्रकलाका सिद्धहस्त कलाकार राजकुमारले नेपाली परम्परागत कलाको विकासमा महत्वपूर्ण योगदान दिएको जनाए । कुलपति कर्माचार्यले भने, ‘मूर्तिकार शाक्यको निधनले नेपाली कला जगत मात्र नभई राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको छ । उहाँको निधनले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, कलाकार तथा कलाप्रेमी स्तब्ध भएका छौं ।’ उनले पुस्तक प्रकाशन गरेर स्याक्रेड ग्यालरीले उदाहरणीय काम गरेको बताए ।

कार्यक्रममा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा हस्तकला विभाग प्रमुख धर्मराज शाक्यले नेपाली धातुपत्रकलामा राजकुमार जत्तिको प्रतिभाशाली व्यक्तित्व कमै रहेको जनाए । प्रतिमालक्षणसहति कलामा सीप र सिर्जनाको संयोजन गर्न सक्ने व्यक्तित्वका रुपमा आफूले राजकुमारलाई चिनेको धर्मराजले बताए । उनले भने, ‘राजकुमारको योगदानलाई चीरस्थायी बनाउन उहाँका कृतित्व तथा व्यक्तित्वलाई व्यापक रुपमा प्रचार प्रसार गरिनु पर्दछ ।’

कार्यक्रममा अक्षेश्वर महाबिहारका अध्यक्ष राजेश शाक्यले नेपालको प्राचीन कला, संस्कृति संरक्षणमा आफ्नो कला र सीपबाट पृथक छाप दिन सफल कलाकार राजकुमारको असामयिक निधनले होनाहार कलाकार नेपालले गुमाएको बताए । उनले एउटा कुशल कलाकारको स्मृतिमा पुस्तक प्रकाशन गर्नु आफैमा असल काम भएको सुनाउँदै कलाकार राजकुमारको योगदानलाई राष्ट्रले नै सम्झनुपर्नेमा जोड दिए । पुस्तकका सम्पादक उप–प्रा. नानी हेरा शाक्यले छोटो समयमा कुशल र सिद्धहस्त कलाकारको कृतित्व र व्यक्तित्व झल्किने पुस्तक ल्याउन सकिएको बताइन् । उनले पुस्तकमा कलाकार राजकुमारको कृतित्व र व्यक्तित्वका बारेमा विभिन्न व्यक्तिका विचार समेटिएको जनाइन् । पुस्तकका संयोजक एवं स्याक्रेड ग्यालरीका सञ्चालक सुजाता शाक्यले नेपाली कला क्षेत्रका नक्षत्रका रुपमा परिचित राजकुमारले धातुपत्रकलामा महत्वपूर्ण योगदान दिएको धारणा व्यक्त गरिन् । उनले पुस्तकमा राजकुमारको योगदान कृतिलाई केलाउने कामसमेत गरिएको भनाई राखिन् । प्रसिद्ध पौभा कलाकार लोक चित्रकारले नेपाली कला जगतमा चित्र, मूर्ति, डिजाइन तथा तिनको व्यवस्थापन गर्न सक्ने खुबी कलाकार राजकुमार रहेको बताए । उनले राजकुमारको निधनले नेपाली कला जगतका लागि निकै पीडादायी बनेको विचार व्यक्त गरे ।

अन मेटलका विश्वास बज्राचार्यले राजकुमार विशिष्ट प्रतिभा भएका विश्वस्तरीय नेपाली कलाकार भएको बताए । कार्यक्रममा भाजुरत्न शाक्यले कलासँगै राम्रो प्रशिक्षकका रुपमा राजकुमार नेपाली कलाक्षेत्रमा परिचित व्यक्तित्व रहेको भनाई राखे । स्याक्रेड ग्यालरीका सञ्चालक उजय बज्राचार्यले नेपाली कला क्षेत्रले असल अभिभावक गुमाएको बताए । उनले कलाकार राजकुमारको सम्मानमा पुस्तक प्रकाशन गरेको जनाए । कार्यक्रममा वागमती प्रदेशसभा सदस्य शोभा शाक्यले भौतिक जीवनले विश्राम लिए पनि राजकुमार आफ्ना महान तथा उच्चस्तरका कलाकृतिसँगै जीवित रहने विचार व्यक्त गरिन् । उनले भनिन्, ‘उहाँका अपूर्ण सपनालाई साकार पार्न परिवार, समाजसँगै कलाक्षेत्र र सिंगो देश नै लाग्नुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘महान कलाकारको रुप परिचित राजकुमारको कृतित्व र व्यक्तित्वको सम्मान स्वरुप ४५ दिनको पुण्यतिथिमा स्याक्रेड ग्यालरीले विभिन्न व्यक्तित्वका लेखरचनासहित पुस्तक ल्याएको हो ।’ पुस्तकमा १७ वटा लेखक रचना रहेका छन् ।

प्रतिक्रिया