जीर्ण पुलका कारण आवतजावतमा समस्या

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाका बासिन्दालाई जिल्ला सदरमुकाम महेन्द्रनगरसम्म आवतजावत गर्न महाकाली नदीमाथि बनाइएको झोलुंगे पुल जीर्ण भएकोे छ । पुलका विभिन्न ठाउँका स्टिल डेक र स्टिल डेकमुनिका सपोर्ट एङ्गल टुटेका छन् । ठाउँठाउँमा पुल ठड्याउन राखिएका नटबोल्ट पनि खसेका कारण कुनै बेला पनि दुर्घटना हुनसक्ने देखिन्छ ।

मोटरसाइकल र साइकलमा पुलको क्षमताभन्दा बढी सामान बोक्ने गरेका कारण पुल जीर्ण भएको हो । पुलका स्टिल डेक ठाउँठाउँमा टुट्दा पनि यस्ता सवारी साधनको आवागमन भने जारी छ । पुल जीर्ण बनेकाले नगरपालिकाले दुर्घटना हुन नदिन स्थनीयवासीलाई सावधानीपूर्वक आवतजावत गर्न आग्रह गरेको छ ।

‘मोटरसाइकलमा चालकसहित दुई जना मात्र आवतजावत गर्न सुरक्षामा खटिएका प्रहरीले भनेका छौँ’, नगरप्रमुख वीरबहादुर सुनारले भने, ‘मोटरसाइकलमा सामान ढुवानी गर्दा अधिकतम ५० किलोसम्म सामान पुल भएर बोक्न दिइने व्यवस्था गरिएको छ । दूध बोक्ने मोटरसाइलमा भने भारको अधिकतम भार नदेखिने हुँदा त्यसलाई नियन्त्रण गर्न सार्वजनिक सूचना जारी गरिएको र पुल मर्मतका लागि पहल पनि भइरहेको छ ।’

दुई वर्षअघि सुदूरपश्चिम सरकारले ६० लाखको लागतमा ठेक्कामार्फत पुल मर्मत गरिएकोे थियो । डडेल्धुराको खाम्पाचे÷देवभूमि कन्स्ट्रक्सन तथा क्वालिटी सप्लायर्स अमरगढी–५ जेभीले पुल मर्मत गरेको एक वर्ष नपुग्दै पुनः जीर्ण भएपछि दोधारा चाँदनी नगरपालिकाले पुनः मर्मत गरेको थियो ।

महाकाली नदीपारिको उक्त नगरपालिका जोड्ने १ हजार ४ सय ५२ मिटरको नेपालकै सबैभन्दा लामो सो पुल ०६१ सालमा ९ करोड ४२ लाख ४१ हजारमा निर्माण गरिएको थियो ।

प्रतिक्रिया