मध्यपश्चिम विश्वविद्यालयका दुई उपप्राध्यापक बर्खास्त

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयले केन्द्रीय क्याम्पस अन्तर्गतका दुई उपप्राध्यापकलाई बर्खास्त गरेको छ । इञ्जिनीयरिङ सङ्काय स्नातकोत्तर कार्यक्रमका निर्देशक उपप्राध्यापक विश्वनाथ यादव र कानून सङ्काय अन्तर्गत ‘स्कूल अफ ल’का उपप्राध्यापक सुजन पन्तलाई बर्खास्त गरेको विश्वविद्यालयले जनाएको छ । बर्खास्तमा परेका यादव स्थायी उपप्राध्यापक र पन्त करारका हुन् ।

उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले कार्यक्रम निर्देशक यादवले आफूखुशी विद्यार्थीलाई नम्बर दिएको र पन्तले परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक गरेको प्रमाणित भएपछि बर्खास्त गरेको जानकारी दिए ।

‘यो अक्षम्य शैक्षिक अपराध हो, प्राज्ञिक मर्यादामा आँच आउने काम भयो’, विश्वविद्यालयद्वारा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उपकुलपति सिंहले भने, ‘छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा उहाँहरुलाई निष्काशन गरिएको छ ।’ स्कूल अफ ल’ का पन्तलाई तीन महिनाअघि नै निलम्बन गरिए पनि छानबिन समितिको निष्कर्षपछि बर्खास्त गरिएको हो ।

उपप्राध्यापकद्वयलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी उपप्राध्यापक पदबाट बर्खास्त गरिएको छ । यादवले आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुशी नम्बर दिएर पास गराएको आरोप छ । विद्यार्थीको आन्तरिक मूल्याङ्कनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर यादवले आफूखुशी नम्बर दिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

स्ट्रक्चरल इञ्जिनीयरिङ विषयको अन्तिम सत्रको प्रयोगात्मक परीक्षामा उपप्राध्यापक यादवले आफूखुशी नम्बर दिएको पाइएको छानबिन समितिको ठहर छ । उपकुलपति सिंहले उनिहरूलाई विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन नियमावली २०६९, परिषद् ३३ को नियम १७४ बमोजिम प्रा. डा. दीपबहादुर रावलको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनका आधारमा बर्खास्त गरिएको बताए ।

प्रतिक्रिया