चुल्हो ननिभ्न मुसहरलाई राहत

महोत्तरी । कोभिड–१९ महाव्याधिले काम गुमेर भोकै बस्नुपर्ने अवस्थामा पुगेका ४३ मुसहर परिवारले राहत पाएका छन् । गरिबी र अभावले कष्टकर जीवन बिताउँदै आएका जिल्लाको गौशाला नगरपालिका–४ मल्हनियाँपोखरीका ४३ परिवारलाई वैदेशिक रोजगारीमा अरब मुलुकमा रहेका युवाले ‘चुल्हो ननिभ्न’ राहत पठाएका हुन् । वैदेशिक रोजगारमा रहेका जिल्लाका ८० युवाले पठाएको रु दुई लाखबाट महोत्तरी टाइगर समाज सेवा टिम गौशालाले मंगलबार ४३ परिवार मुसहरलाई खाद्यान्न र सरसफाइका लागि अत्यावश्यक सामग्री वितरण गरेको हो ।

चामल–१५ किलो, दाल–२ किलो, आलु–५ किलो, खानेतेल–१ लिटर, नुन–१ किलो, तयारी खानेकुरा चिउरा–२ किलो र सरसफाइका लागि डिटोल साबुन–५ वटासहितको राहत सामग्रीको झोला ४३ परिवारले पाएका छन् । अहिले के खाउँ, भरे के खाउँला भन्ने चिन्ताले पिरोलिरहेका बेला यो सहयोगले पराले झुप्रामा आगो बाल्न पाइएको बस्तीकी इन्द्रा सादा मुसहरले बताए । असार पहिलो साताको झरीले पराले झुप्रा सबै चुहेर विजोग खेपिरहेका बेला विदेशमै रहेर पनि आपूmहरूलाई सम्झनेलाई बस्तीका मुसहरले आशिष दिएका छन् ।

‘कोरोनाले हामी काममा निस्कन पाएका थिएनौँ, बालबच्चा भोकले रुँदै थिए’, बस्तीका रामस्वरूप सादाले भने, ‘हाम्रै घरआँगनमा वडा कार्यालय छ, कोही फर्केर सोध्न आएनन्, विदेशमा बस्नेले सम्झे, तिनको जय होस् ।’ अहिले अप्ठ्यारोमा त्राण बचे बिस्तारै काममा निस्कन सहज हुने मुसहरले विश्वास पालेका छन् । कृषि मजदुरी गर्ने मुसहर धन सञ्चित गर्ने वा भोलि के खाने चिन्ता लिँदैनन् भन्ने तराईमा आमबुझाइ छ । अहिले र बढीमा आज साँझसम्मको खाना जोहो गरेर मुसहरको जिन्दगी चलेको मल्हनियाँपोखरीकै श्रीराम सुवेदी बताउँछन् । ‘कमाइ ल्यायो, भुटी खायो’ मुसहरका लागि तराईमा चलनचल्तीको आहान हो ।

संयुक्त अरब इमिरेट्स, कतार, कुवेतसहितका खाडी मुलुकमा कार्यरत जिल्लाकै ८० कामदारले आफ्नो छाक काटेर विपद्मा परेकालाई सहयोग गर्न रकम पठाइदिएका महोत्तरी टाइगर समाज सेवा टिम गौशालाका संयोजक धामी दीपेन्द्र महतोले बताए । प्राप्त रकमबाट जिल्लाका १ सय ८ परिवारलाई प्रतिपरिवार दुई हजार बराबरको सामग्री नघट्ने गरी वितरण गर्न लागिएको महतोको भनाइ छ । अब ६५ परिवार गौशालाकै छिमेकका अन्य स्थानीयतहका बस्तीबाट छानेर राहत दिइने महतोले बताए । वैदेशिक रोजगारीमा रहेका सहयोगीले चुल्हो निभ्नै लागेकालाई पहिचान गरेर ‘चुल्हो ननिभ्ने’ अभियानका रूपमा सहयोग परिचालन गराइदिन अपिल गरेका टाइगर समाजले जनाएको छ ।

प्रतिक्रिया