मिर्गाैला पीडितलाई लोभ्याएर अनुदान अर्काे वडामा

काभ्रे । पाँचखाल नगरपालिकाले बाख्रा अनुदान दिने भन्दै मिर्गाैला पीडित बस्तीका परिवारहरूलाई लोभ्याएर अनुदान अर्कै वडामा वितरण गरेको छ । पाँचखाल नगरपालिका–७ जोरपीपलस्थित अति विपन्न तथा मिर्गाैलापीडित ८० घरधुरीलाई बाख्रा अनुदान वितरण कार्यक्रम राखिएकोमा आवको अन्त्यमा आएर गरिएको निर्णयलाई समेत लात हान्दै नगरपालिकाले अनुदान प्याकेज कार्यक्रम पाँचखालको ९ र ११ वडामा लगि वितरण गरिएको स्थानीय रमन परियारले बताए ।

०७७ फागुन ६ गते वडा–५ का वडाध्यक्ष बालकृष्ण सापकोटाको संयोजकत्वमा बसेको पाँचखाल नगरपालिकाको कृषि तथा पशुपन्छी शाखाको समितिले वडा–७ को मिर्गाैला पीडित जोरपीपल बस्तीलाई लक्षित गर्दै बाख्रापालन व्यवसायको लागि १५ लाख दिने निर्णय बैठकबाट गरिएकोमा सो निर्णयलाई लात हान्दै अनुदान अर्काै वडामा वितरण गरिएको हरिशरण मिजारले बताए ।

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुँमागाईं र पशु विकास अधिकृत दत्तप्रसाद गौतमसहित वडाध्यक्ष बालकृष्ण सापकोटा, सदस्यहरू माइली दनुवार र हरिशरण मिजार सदस्य रहेको हस्ताक्षर गर्दै सो निर्णय गरेको थियो । यस सन्दर्भमा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले नवज्योती नामक संस्थाले सो ठाउँमा बाख्रा अनुदानको कार्यक्रम गरेकोले राज्यको सेवा सुविधा दोहो¥याएर पर्ने भएपछि अनुदानको कार्यक्रम अर्काे पहरी बस्ती र अन्य वडाका विपन्न वर्गलाई दिइएको बताएका छन् ।

यता स्थानीय बुद्ध तामाङ भन्छन्, ‘पाँचखाल नगरपालिकाले पार्टी हेरिरहेको पाइयो । हाम्रो वडामा फरक राजनीतिक दृष्टिकोण राख्नेले जितेकै कारण हामीलाई हर कुराहरूबाट पन्छाइने कार्य गर्दै आएको छ । मान्छेलाई आश्वासन दिएर, लोभ्याएर अन्तिम अवस्थामा आएर आफैँले गरेको निर्णयलाई लत्याएर यस्तो हर्कत गरेको छ । यहाँ विपन्न माथि उठून् भन्ने भावनाभन्दा पनि राजनीतिक टिकाउने बिकाउने र आफू सधैं प्यारो बन्ने खेल भइरहेको छ ।’ उनले कुराकानीका क्रममा दुःखेसो पोखे विपन्नको उत्थानको नाममा आउने सबैखाले कार्यक्रममा हामीलाई विभेद गरिँदै छ ।

प्रतिक्रिया