‘देशलाई कुनै पनि हालतमा दुर्घटनामा जान दिँदैनौं’

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देशलाई कुनै पनि हालतमा दुर्घटनामा जान नदिने जिकिर गरेका छन् । माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख पूर्णकुमारी सुवेदीका पिता हरीप्रसाद पौडेलको श्रद्धान्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले समृद्ध नेपाल र नेपाली जनताको मजबुत एकताका लागि आफु लडिरहने बताए ।

देशको समसामयिक राजनितिक अवस्था बारे चर्चा गर्दै उनले अहिले राजनीतिको आकाशमा देखिएको कालो बादल अन्त्य गरेर कुनैपनि राजनितिक दुर्घटना हुन नदिई देशलाई जोगाउन आफूहरु क्रियाशिल रहेको उल्लेख गरे । अध्यक्ष प्रचण्डले नेपाली जनताको बलिदानीपुर्ण संघर्ष, मधेस आन्दोलन र बृहत जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई उल्टाउन वर्तमान सरकार लागिपरेकोले यसलाई जसरीपनि रोकेर संविधान ट्रयाकमा ल्याई देशलाई अगाडि बढाउने बताए ।

आफूले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न प्रस्ताव सहित एमालेसँग पार्टी एकता गरेको बताउँदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले त्यसलाई चकनाचुर पारेको बताए । प्रधानमन्त्री ओलीको तानाशाही शैली अब देशले धान्नै नसक्ने बताउदै उनले छिट्टै देशले निकास पाउने विश्वास समेत व्यक्त गरे ।

सो अवसरमा अध्यक्ष प्रचण्डले स्वर्गिय हरीप्रसाद पन्डितले कम्यूनिस्ट आन्दोलनलाई ठुलो योगदान दिएको भन्दै पौडेल प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए । पौडेलको ९० बर्षको उमेरमा असार २ गते निधन भएको थियो ।

प्रतिक्रिया