सन्ध्याको विशेष कविगोष्ठी

काठमाडौं । साहित्य सन्ध्याले नियमित रुपमा गर्दै आएको कविगोष्ठीमा समसामयिक कविता वाचन गरिएको छ । भर्चुअल माध्यमबाट आयोजना गरिएको उक्त गोष्ठीमा चार दर्जन कविले कविता, गजल, हाइकु, मुक्तक आदि वाचन गरेका थिए । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.भीम खतिवडाले कोरोना महामारीले हामीलाई नकारात्मकताबाट सकारात्मकतातिर जान सिकाएको बताए । उनले भने, ‘यो बाँच्नु र बच्नुपर्ने समय हो । सन्ध्याले गएका शृंखलामा पनि विशेषज्ञ व्यक्तित्वबाट महामारीबाट कसरी बच्ने भन्ने विषयमा प्रशिक्षणमूलक कार्यक्रम नै आयोजना गरेको थियो । कोरोनाका कारण मान्छे मरे, गाउँ नै सोत्तर बनायो र सँगसँगै यसले मान्छेमा भयको विभेद ल्याउने काम पनि गरेको छ ।’ प्रा.डा.खतिवडाले कोरोनाले मानव जातिलाई सन्त्राससँगै चुनौतीको सामना गरेर अगाडि बढ्न अभिप्रेरित गरेको बताए । उनले भने, ‘नयाँ पुस्तालाई उज्यालो कसरी देखाउने ? प्रकृतिलाई कसरी सम्मान गर्ने र सन्तुलन कायम गर्ने ? जस्ता अनुशासनको पालना मानवबाट हुनु आवश्यक छ र हामी स्रष्टाले त्यसै दिशामा सिर्जना गर्नुपर्ने आवश्यकता छ ।’ उनले प्राकृतिक जीवनशैली नछाड्न आग्रह गर्दै कृत्रिम खानाले जीवनरक्षा गर्दैन भन्ने सन्देशका साथै जीवनमुखी स्वास्थ्यप्रति यसले सचेत पनि गराएको धारणा व्यक्त गरे । योग र प्राणायम मान्छेको जीवनरक्षाका साधन रहेछन् भन्ने कोरोनाले सिकाएको बताउँदै प्रा.डा.खतिवडाले थपे, ‘मानव सभ्यता अहिले तहसनहस भएको छ तर पनि मान्छेको चेतना आवश्यकतानुसार चुलिएको छैन ! अहिले प्रकृतिको रौद्र रूपले भूगोलमा बाढी आएको छ र मानव जीवनमै बाढी उर्लिएको छ ।’ उनले कार्यक्रममा वाचन गरिएका रचनाले समय सन्दर्भ र परिवेशलाई कलात्मक रुपमा उठान गरेको सुनाए ।

भर्चुअल कविगोष्ठीमा डिल्लीराज अर्याल, गायत्री लम्साल, डम्बर पहाडी, राममणि ढुंगेल, रश्मि रिमाल, कणाद महर्षि, नर्मदेश्वरी सत्याल, महेशराज खरेल, परशुराम पराशर, डा.राजेन्द्रप्रसाद अधिकारी, गोविन्द घिमिरे वेदमणि, ललिता दोषी, तारक धिताल, डा.बालचन्द्र मिश्र, विन्दु अधिकारी ढकाल, दुर्गा नेपाली, उमेश उपाध्याय, रमेश गौतम पाल्पाली, भक्ति घिमिरे, उर्मिला पन्त पाण्डेयले कविता, मुक्तक, गजल, हाइकु वाचन गरेका थिए । त्यस्तै, सीताराम नेपाल, गोपाल बराल, चूडा निर्भीक, पुण्यप्रसाद खरेल झापा, डा.खेमनाथ दाहाल, बेनीबहादुर थापा, अनिता लामा, तिला लेकाली, इन्दिरा दाहाल, रत्न उप्रेती, भगत दास श्रेष्ठ, ओमप्रसाद कोइराला, स्नेह सायमि, प्राज्ञ लक्ष्मी माली, खगेन्द्र दाहाल, गीता सापकोटा, गङ्गा कर्माचार्य पौडेल, विष्णुप्रभा उपाध्याय, गायत्री चापागाईँ, गोपाल मैनाली, प्रशान्त खरेल, डा.कृष्ण सुवेदी, विधान आचार्य, डा.भीम खतिवडा र राम विनयले पनि कविता, गीत, बालकविता, हाइकु, एलाक वाचन गरेका थिए ।

सो कार्यक्रममा वाचित रचनामाथि टिप्पणी गर्दै कवि जयन्ती स्पन्दनले सामाजिक तथा राजनीतिक विषयका कविता, गजल, हाइकु तथा मुक्तकले नेपाली समाजको वर्तमान परिवेश बोलेको बताइन् । उनले केही व्यंग्यात्मक र विद्रोहात्मक रहेका, केही सामाजिक–राजनीतिक पक्ष वा विषयसँग सम्बन्धित रहेका र केही तरल भावका कविता रहेको धारणा व्यक्त गरिन् । उनले भनिन्, ‘कवितामा समसामयिक विकृति र विसंगतिका प्रति आक्रोश व्यक्त गरिएको छ । लोभलालच मौलाएकोप्रति आक्रोश व्यक्त गरिएको छ । देखिएका विकृतिमा रमिते बन्नुपरेको पीडा पनि अभिव्यक्त भएको छ ।’ उनले अधिकांश कविताले उज्यालोको अपेक्षा गरेको जनाउँदै तिनमा विगतमा उज्यालोको खोजीका निम्ति जीवन अर्पण गरेको सम्झना गर्दै वर्तमानको खिचातानी र बेथितिका प्रति चिन्ता जाहेर गरिएको छ । कवितामा विवेक र ज्ञानको अपेक्षा रहेको छ, राजनीतिक आडम्बरका प्रति आक्रोश व्यक्त भएको छ, जनताको पीडाभन्दा परको सत्तामोहको खुलेर विरोध गरिएको छ ।’

स्पन्दनले कवितामा बोली र व्यवहारमा तालमेल नगर्ने राजनीतिका प्रति निन्दा गरिएको बताइन् । उनले आफ्नै गाउँसहर बिरानो भएकोमा चिन्ता व्यक्त गर्दै नेताको भाषण र उसको व्यवहार वान्ता आउने खालको रहेको जिकिर गरिन् । सीमा अतिक्रमणका कुरा, नेतृत्वको सत्तालिप्साका कुरा अनि दृष्टिभ्रम भइरहेको यथार्थका विषयलाई समेत कविताले उजागर गरेको सुनाउँदै उनले विज्ञानले चमत्कार गरिरहेको वर्तमानमा त्यही विज्ञानलाई निरीह पार्दै महामारीले मानिसको ज्यान लिइरहेको भन्दै चिन्ता प्रकट गरिन् । उनका अनुसार राजनीति धमिलिएकोप्रति चिन्ताजाहेर गर्दै समयको महत्ताबोध गर्नुपर्ने सन्देश पनि कविताले दिएका छन् । उनले थपिन्, ‘राजनीतिरूपी विषाक्त पोखरीमा शुद्धीकरण आवश्यक भएको, चाकडी र आडम्बरको अन्त्यको आग्रह गरिएको, प्रकृतिलाई दोहन मात्र होइन बुझ्नु पनि पर्ने आग्रह गरिएको, समयलाई नचिनेर फगत दास हुने प्रवृत्तिको पनि अन्त्य हुनुपर्ने आग्रह गरिएको, शोषण नहटेको र गधा बन्ने र बनाउने प्रवृत्तिका प्रति शालीन आक्रोश कवितामा व्यक्त भएको पाइन्छ ।’ स्पन्दनले मानवका सम्पूर्ण भोगाइ, जीवनपद्धति, विसंगत सत्तालिप्सा कवितामा ज्यादै सशक्तरूपमा आएको बताउँदै स्रष्टाले सत्यलाई सत्य र असत्यलाई असत्य नै भन्नुपर्छ, यो मान्यताबाट चाहिँ हामी पनि विचलित हुनुहुँदैन धारणा राखिन् ।

सो कार्यक्रममा प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा.जीवेन्द्रदेव गिरी, त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा.कृष्णप्रसाद घिमिरे, प्राज्ञ लक्ष्मी माली, पारिजात स्मृति केन्द्रका अध्यक्ष स्नेह सायमि, प्रा.डा.खेमनाथ दाहाल, डा.राजेन्द्रप्रसाद अधिकारी, साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्य, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, साहित्यकार पुण्यप्रसाद खरेल, स्रष्टा उमेश उपाध्याय, कणाद महर्षि, सीताराम नेपाल, डा.बालचन्द्र मिश्र, डा.कृष्ण सुवेदी (भारद्वाज मित्र), गायत्रीकुमार चापागाईं, डिल्लीराज अर्याल र गोपाल बराल, साहित्यकार गंगा कर्माचार्य पौडेल, अभियन्ता तारक धिताल लगायतका व्यक्तित्वको उपस्थित रहेको थियो । कार्यक्रम सन्ध्याका सल्लाहकार विधान आचार्यको प्रविधि व्यवस्थापन तथा उपाध्यक्ष रमेश पोखरेलको सम्पन्न भएको थियो ।

प्रतिक्रिया