‘एक’ डिजिटल प्लेटफार्ममा

काठमाडौं । मनोज पण्डित निर्देशित चलचित्र ‘एक’ डिजिटल प्लेटफार्ममार्फत प्रदर्शनमा आउने भएको छ । कोरोनाका कारण यसअघि प्रदर्शन स्थगित गरिएको यो चलचित्र सिनेमा हल नखुल्ने अवस्था आएपछि डिजिटल माध्यमबाट आउन लागेको हो । निर्माण पक्ष हल खुल्ने सुनिश्चिता नभइ पछि प्रदर्शनका लागि प्लेटफार्मकै विकल्पमा पुगेको हो ।

निर्देशक पण्डितले भने, ‘चलचित्र तयार भएको करिब डेढ वर्ष भइसक्यो तर तत्कालै महामारी नियन्त्रण हुने र हल सामान्य अवस्थामा फर्कने अवस्था देखिएन, त्यसैकारण डिजिटल प्लेटफार्ममै रिलिज गर्ने निष्कर्षमा हामी पुगेका हौं ।’ उनले नेपालमा कोही पनि निर्माताले नयाँ चलचित्र डिजिटल माध्यमबाट रिलिज गर्ने हिम्मत नगरेका बेला आफूहरुले सुरु गर्न लागेको बताए । उनले भने, ‘हामीले हिम्मत गरेका छौं । हेरौं, परिणाम के हुन्छ !’

निर्देशक पण्डितले नेपालमा उपलब्ध सबै डिजिटल प्लेटफार्मबाट भदौमा चलचित्र प्रदर्शनमा निर्माण पक्ष जुटेको जनाए । उनले भने, ‘तर, ठ्याक्कै मिति भने केही दिनपछि सार्वजनिक गर्नेछौं ।’ नेपालको राजनीतिक विषयमा बनेको यस चलचित्रमा देशलाई एउटा संकटबाट बचाउन गरिएको प्रयत्नलाई प्रस्तुत गरिएको छ । नेपालको राजनीति गञ्जागोल बनिरहेका बेला प्रदर्शनमा आउन लागेको यस चलचित्रले राजनीति विकृतिलाई कलात्मक रुपमा उठान गरेको निर्माण पक्षले जनाएको छ । यस चलचित्रमा अभिनेता प्रमोद अग्रहरि, विशाल पोखरेल, ज्योत्सना योगी, प्रमोद खड्का लगायतका कलाकार प्रमुख भुमिका छ । यसअघि निर्देशक पण्डितले ग्रेटर नेपाल, ‘दासढुंगा’, ‘बधशाला’, ‘खाग’ लगायतका चलचित्रको निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया