बाढीपहिरोले थुनिएको मस्र्याङ्दी नदी विस्तारै खुल्दै

मनाङ । बाढीपहिरोका कारण विभिन्न स्थानमा थुनिएको मस्र्याङ्दी नदी अहिले विस्तारै खुल्दै गएको छ । मनाङ जिल्ला भई बग्ने मस्र्याङ्दी नदी पहिरो, ढुङ्गामाटो र काठदाउराले थुनिँदा पानी जमेर ठूलो बाँध बनेको थियो । जिल्लाको चामे, मुरेडाँडा र हुण्डेमा बाढीपहिरोका कारण नदी थुनिएको हो ।

उक्त स्थानमा थुनिएको नदी अहिले विस्तारै खुल्दै गएको प्रमुख जिल्ला अधिकारी विष्णुु लामिछानेले बताए । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा परेको थियो । आइतबार सशस्त्र प्रहरी बल नं। ३२ गुल्म मनाङ र नेपाल प्रहरीको सहायतामा नदी खुलाइएको हो ।

सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीले जोखिम मोलेर चामेबजार जाने ठूलो पक्की पुल जोगाएका हुन् । सशस्त्र प्रहरी बल नं. ३२ गुल्म मनाङका गुल्मपति होमनाथ पन्थीका अनुसार पुल भत्काउने खतरा बढेपछि मुढा काटेर पन्छ्याइएको छ । यस्तै मुरेडाँडा र हुण्डेमा भने नदी आफै खोलिएको हो ।

नदीमा पानीको सतह केही मात्रामा घटेको र तत्काललाई जोखिम टरेतापनि सर्तकता अपनाउन मनाङबासीलाई प्रशासनले आग्रह गरेको छ । यस वर्ष मनसुनको सुरुआतसँगै मनाङमा बाढीपहिरोले ठूलो क्षति पुर्याएको छ । जिल्लामा चार वटा स्थानीय तह रहेका छन् ।

चार स्थानीय तहमध्ये चामे, नासोँ र ङिस्याङ गाउँपालिका बाढीपहिरो दुबैबाट पूर्णरुपमा प्रभावित बनेका छन् भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित भएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।

आज मात्र नार्पाभूमीका पहिरोपिडितका लागि सदरमुकाम चामेबाट राहतको सामग्री लगेर वितरण गरेको उनले बताए । नार्पामा माटाका घरहरु धेरै भएको र अत्यधिक पानी पर्दा घर भासिएको प्रमुख जिल्ला अधिकारी लामिछाने बताए ।

प्रतिक्रिया