खेल मैदान निर्माणमा विवाद : स्थानीयवासीले गरे वडा कार्यालयमा तालाबन्दी

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–५ काडामाण्डौको वडा कार्यालयमा तालाबन्दी गरिएको छ । खेल मैदान निर्माणमा एकलौटी उपभोक्ता समिति बनाएर अनुपयुक्त ठाउँमा निर्माण गर्न लागेको भन्दै स्थानीयवासीले ताला बन्दी गरेका हुन् ।

गाउँपालिकास्तरीय खेल मैदान निर्माणका लागि रु ३० लाख बजेट विनियोजन गरिएको थियो । गाउँपालिकाको क्रमागत योजनामा रहेको उक्त खेल मैदान निर्माणमा विवाद सिर्जना भएपछि स्थानीयवासीले काम रोक्न माग गर्दै ताला लगाएको स्थानीयवासी खडक साउदले जानकारी दिए ।

विवाद समाधानपछि मात्रै काम सुरु गर्नुपर्ने, उपभोक्ता समितिमा हेरफेर गर्नुपर्ने र सबैलाई पायक पर्ने ठाउँमा मैदान निर्माण गर्नुपर्र्ने स्थानीयवासीको माग छ । सामुदायिक वनमा निर्माण हुँदै गरेको उक्त खेल मैदान एकलौटीरूपमा उपभोक्ता समिति बनाएर वडा कार्यालयको सिफारिसविना निर्माण गर्न लागिएको स्थानीयवासीको आरोप छ ।

खेल मैदान सबैको पायक पर्ने ठाउँ काडामाण्डौं मावि वा सोही नजिकको सामुदायिक वनमा बनाउन पर्नेमा गाउँपालिका अध्यक्षको घरनजिकको सामुदायिक वनमा बनाएको भन्दै स्थानीयवासीले ताला लगाएको वडाध्यक्ष पदमबहादुर धानुकले जानकारी दिए ।

असार मसान्त सकिनै लाग्दा गाउँपालिकाले हतार हतारमा उक्त योजनाको शुरुआत गरेका कारण पनि अहिले विवाद सुरु भएको अर्का स्थानीयवासी गम्भीर खड्काले जानकारी दिए ।

प्रतिक्रिया