मल्लको संयोजकत्वमा सहयोग समिति

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची लगायतका क्षेत्रमा आएको बाढीबाट प्रभावितको दीर्घकालीन व्यवस्थापनका लागि कलाकारले समिति गठन गरेका छन् । अभिनेता कृष्ण मल्लको संयोजकत्वमा सिन्धुपाल्चोक गृहजिल्ला भएका जितु नेपाल, अभिनेता श्वेता खड्का, संगीतकार चेतन सापकोटा, कृष्ण ढुंगाना लगायतको सहभागितामा समिति गठन गरिएको हो ।

शनिबार राजधानीमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङ, मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्याल लगायतका जनप्रतिनिधिको उपस्थितिमा समिति गठन गरिएको संगीतकार सापकोटाले जानकारी दिए ।

सो समितिले सिन्धुपाल्चोकमा बाढी प्रभावित क्षेत्रमा भत्किएका संरचनाको पुननिर्माणको लागि कोष स्थापनाका लागि आह्वान गर्नेछ । अभिनेता मल्लले तत्काललाई राहत भन्दा पनि दीर्घकालीन रुपमा व्यवस्थापनका लागि समिति गठन गरिएको बताए । उनले भने, ‘घर बगाएका परिवार अहिले अन्यन्त्र आश्रय लिएर बसिरहेका छन् । उनीहरुलाई दीर्घकालीन घरको आवश्यकता छ । घरको पुननिर्माण, त्यस्तै पुल र विद्यालयको पुननिर्माण लगायतका लागि हामी कलाकारले औद्योगिक घराना, गैरआवासीय नेपाली र आफ्ना प्रशंसकहरुलाई सहयोगको आह्वान गर्छौ ।’ उनले आवश्यक थप योजना बनाउन समितिको बैठक आगामी १० गते बस्ने जानकारी दिए । उनका अनुसार कलाकार संघ, प्राविधिक संघ, निर्माता संघ, सांगीतिक संघ लगायतका संघसंस्था लगायत अन्य कलाकारलाई समेटिने छ ।

यसैबीच बाढी प्रभावितका लागि अभिनेता मल्लको संयोजकत्वमा समिति गठन भएसँगै अभिनेत्री करिश्मा मानन्धरले एक लाख सहयोग गर्ने घोषणा गरेकी छन् । उनले बाढीपीडितलाई वर्षायाममा ओत लाग्ने छानोको व्यवस्था होस् भनेर सहयोगको घोषणा गरेकी हुन् । उनले यो विपद्को घडीमा सबैलाई सहयोग गर्न आव्हानसमेत गरेकी छन् ।

यस्तै, बाढीपीडितलाई अभिनेता श्वेता खड्का, पूजा शर्मा, आँचल शर्मा लगायतले मेलम्ची पुगेरै राहत वितरण गरेका छन् । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र अभिनेत्री स्वस्तिमा खड्का, सुरवीन वान्तवा पनि मेलम्ची पुगेरै राहत वितरण गरेका छन् । उनीहरुले डसना, ब्लयाकेंट, म्याट ५०–५० थान वितरण गरेका हुन् । यसैगरी उनीहरुले चामल, चाउचाउ, बिस्कुट, सेनेटरी प्याड पनि वितरण गरेका छन् ।

प्रतिक्रिया