अर्थतन्त्रसंग प्रत्यक्ष जोडिने वर्गलाई खोप दिन माग

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र संग प्रत्यक्ष जोडिएका बर्गालाई खोप उपलब्ध गराउन सरकारसंग माग गरेको छ ।महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल सहितको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय शेर बहादुर तामालाई भेट गरी अर्थतन्त्रसंग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी, श्रमिक, कामदार र कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेका हुन ।

सो अवसरमा महासंघका तर्फबाट समग्र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रका उद्यमी व्यवसायीले निषेधाज्ञा र बन्दाबन्दीका समयमा अग्र भागमा रहेर उपभोग्य वस्तुको निर्वाध उत्पादन र वितरणका लागि काम गरीरहेकाले यो क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए । जीर्ण भएको अर्थतन्त्रको चक्का चलाउन, अर्थतन्त्रलाई लयमा फर्काउन र सरकारका आर्थिक लक्ष्यलाई पुरा गर्न समेत यो वर्गलाई खोपमा पहिलो प्राथमिकतामा राख्नुपर्नेमा अध्यक्ष गोल्छाले जोड दिएको महासंघले जनाएको छ । महासंघका सदस्य जिल्ला÷नगर उद्योग वाणिज्य संघ, वस्तुगत एवं द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, र एसोसिएट अन्तरगतका सबैलाई अवको प्राथमिकतामा खोप दिने व्यवस्था मिलउनुपर्नेमा निजी क्षेत्रले स्वास्थ्यमन्त्रीसंगको भेटमा बताएका हुन ।

कोभिड १९ को महामारी र त्यसको नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा र वन्दावन्दीका समयमा पनि उद्यमी व्यवसायीले निर्वाध रुपमा उत्पादन र आपूर्ति व्यवस्थापनमा काम गरेका भन्दै संकटको घडिमा निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था महासंघ र यसको सिंगो सञ्जालनै आपूर्ति व्यवस्थापन, महामारी नियन्त्रण, स्वास्थ्य पूर्वाधार निर्माण सहित राहत सेवा प्रदान गर्न अहोरात्र खटिरहेको र आगामी दिनमा पनि क्रियाशील रहने प्रतिवद्धता महासंघका तर्फबाट सो अवसरमा व्यक्त गरिएको थियो ।

महासंघसंगको भेटवार्तामा मन्त्री तामांगले अर्थतन्त्रसंग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी र यस क्षेत्रमा कार्यरत सबै कामदार कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड विरुद्धको खोप उपलव्ध गराउने प्रतिवद्धता जनाएका थिए । कोभिडले समग्र अर्थतन्त्रनै जर्जर बनाएकाले अर्थतन्त्रलाई तत्काल तङग्रने वातावरण बनाउन यस क्षेत्रमा जोडिएका सबैलाई खोप दिई काममा फर्काउन जरूरी भएको कुरालाई सरकारले मनन गरिसकेकाले उद्योग व्यवसायसंग प्रत्यक्ष जोडिएको जनशक्तिलाई खोप लगाउन आफूले पहिलो प्राथमिकता दिएर जाने विश्वास दिलाएको पनि महासंघले जनाएको छ ।

प्रतिक्रिया