सहुलियतको चामल लिन घुइँचो

दुल्लु । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखले २० प्रतिशत सहुलियतमा जेठ २४ गतेदेखि चामल बिक्री गर्न थालेको छ । सदरमुकामस्थित कार्यालयमा सहुलियतको चामल लिनेको सङ्ख्या बढेको छ । यसअघि चाडपर्वका बेला मात्र छुट दिँदै आएको खाद्यले सरकारले निषेधाज्ञा अवधिभर चामलमा २० प्रतिशत छुट दिएपछि चामल लिनेको घुइँचो लाग्ने गरेको पाइएको छ ।

खाद्य संस्थानले छुटको चामल दिएपछि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न समुदायलाई ठुलो राहत मिलेको छ । सस्तो दरमा चामल पाउँदा निकै राहत मिलेको रने बादीले बताए । ‘दिनभरी मजदुरी गरेर पेट पाल्थ्यौ, अहिले लकडाउनले सबै काम बन्द भयो, बजारको चामल किनेर खान धौधौ परेको बेला सस्तो चामल पाउँदा निकै राहत भएको छ’, बादीले खुसी व्यक्त गरे ।

बादी समुदायलाई मात्र होइन मजदुरी गर्ने, गरिब, असहाय र विपन्न परिवारलाई निकै राहत मिलेको छ । सहुलियतको चामल लिन दैलेख सदरमुकाम नारायण नगरपालिका, नौमुले गाँउपालिका, भगवतीमाई गाँउपालिका, दुल्लु नगरपालिका, भैरवीगाँउपालिका, महाबुगाँउपालिका लगायतबाट सर्वसाधारण आउन थालेका छन ।

सहुलियत दरको चामल लिन अहिले भीड लाग्ने गरेको कार्यालय प्रमुख रण बहादुर ऐरीले बताए । जेठ २४ देखि शुक्रबारसम्म दैलेखमा सय क्विन्टल चामल बिक्री भैसकेको र बिक्रि हुने क्रम बढेको ऐरीले जानकारी दिए । कोरोना महामारीको बेला नागरिकलाई छुटले विशेष राहत मिलेको छ ।

सोमवार, बुधबार र बिहीबार बिहान १० बजेदेखि ३ बजे सम्मका लागि बिक्री समय तोकिएको छ । खाद्यले प्रति परिवार एक जनालाई सम्बन्धीत व्यक्तिको नागरिकताको आधारमा २५ किलो चामल दिने गरेको छ । दैनिक ५० देखि ६० जना सर्वसाधारण चामल लिन आउने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया