साढे ६७ अर्बको सेयर कारोबार

काठमाडौ । सातामा ६७ अर्ब बढीको सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेमा उत्साह देखिएको कारण सातामै २ सय ३१ कम्पनीको कारोबार भएको बजारमा ६७ अर्ब ७९ करोड ४५ लाख ४१ हजार २ सय ९८ रूपैयाँ बराबरका १५ करोड ६ लाख १२ हजार ७ सय ३८ कित्ता सेयर कारोबार भएका हुन ।

गत साता २ सय २९ कम्पनीको कारोबार भएको बजारमा ५० अर्ब ७७ करोड २५ लाख ७ हजार ६८ रुपैयाँ बराबरका ११ करोड ७५ लाख ८३ हजार ४ सय ८१ कित्ता सेयर कारोबार भएको थियो । सहज तरलता, सस्तो ब्याजदर अनि निषेधाज्ञाका कारण सानाठूला, नयाँ र पुराना सबैथरिका लगानीकर्ताको ध्यान सेयर बजारतिरै मोडिनुका साथै अनलाइन प्रणालीको विकासले देश–विदेशमा रहेका लगानीकर्तालाई कारोबार गर्न सहज हुँदा साताको बजारमा उच्च कारोबार भएको आकलन गरिएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजकि भएको दोश्रो दिन सेयर कारोबारमा बजारले नयाँ कीर्तिमान कायम गरेको थियो । १७ अर्ब बढीको सेयर कारोबार गर्दै कारोबार रकमले नेपाली पुँजी बजारको इतिहासमै नयाँ रेकर्ड कायम गरेको थियो । अनलाइन प्रणालीका कारण सेयर बजारमा देशभर भित्रका मात्र नभई विदेशमा रहेका नेपालीले समेत सजिलै सेयर कारोबार गर्न पाउने सुविधा उपलब्ध भएपछि सेयर कारोबारमा उत्साह देखिएको हो । कोभिडको कारण करिब १५ महिनादेखि अर्थतन्त्र प्रतिकुल रहेको छ । तर, सेयर बजारमा भने एक पछि अर्को नयाँ रेकर्ड बन्दै गएको छ । बजार परिसूचक मात्रै नभएर एक वर्ष अगाडि मुश्किलले १ अर्ब कारोबार हुने बजारमा एकैदिन १७ अर्ब भन्दा बढि कारोबार हुन थालिसकेको छ ।

नेपालको मात्रै नभएर कोभिडपछि विश्वकै सेयर बजार उचाइमा पुगेको छ । भारतीय सेयर बजार अहिले इतिहासकै उच्च बिन्दु नजिक रहेको छ भने विश्वका अन्य ठूला सेयर बजार पनि एक वर्षकै उच्च बिन्दुमा रहेका छन् । कोरोना संक्रमण बढेसगै सेयर बजारमा भने यसको सकारात्कम असर परेको देखिन्छ । साताको पाँच दिन कारोबार भएको बजारमा साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च वृद्धि देखिएको थियो । साताभर दुई दिन घटेको सेयर बजार तीन दिन बढेको थियो । पहिलो दिन आइतबार २ हजार ८ सय १५ दशमलव ४० को बिन्दुबाट सुरु भएको नेप्से सूचक १२ दशमलव ५४ अंकले बढेर २ हजार ८२७ दशमलव ९३ कोे बिन्दुमा पुगेको थियो । त्यस यता सोमबार र मंगलबार बजार निरन्तर घटेको थियो । सोमबार ४५ दशमलव २५ अंकले घटेको नेप्से सूचक मंगलबार ११ दशमलव ६८ अंकले घटेको हो । साताको चौथो दिन पुनः सुधार हुँदै सूचक ५५ दशमलव ७६ अंकले बढेको थियो भने अन्तिम दिन बिहीबार पनि सूचकमा २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ६८ को बिन्दुमा अंकमा पुगेको हो ।

प्रतिक्रिया