दुर्गम बस्तीको आँगनमै खानेपानीको धारा

दैलेख । जिल्लाको डुंगेश्वर गाउँपालिका–३ कल्सेढुंगा गाउँका दुर्गम बस्तीमा खानेपानीको धारा जडान गरिएको छ । गाउँपालिकाको केन्द्रभन्दा झण्डै चार घण्टाको पैदल यात्रापछि पुगिने यस गाउँमा हालसम्म पनि सडकको पहुँच पुगको छैन । सडक सञ्चार र खानेपानीसम्मेत नपुगेको दुर्गम गाउँको बस्तीको आँगनमै अहिले खानेपानीको धारा जडान गरिएको छ ।

स्थानीय टेकबहादुर पुनको आँगनमै खानेपानीको घारा आएपछि खुसी देखिन्छन् । आफ्नो आमाबुबाले घरमा पानी ल्याउनका लागि लेक काटेर पानी ल्याउने गरेको अनुभव सुनाउँदै टेकबहादुरले भने कैयौँ वर्षदेखिको सपना पूरा भएको छ । वर्षातमा धमिलो पानी खानुपर्ने बाध्यता रहेको यस गाउँका बस्तीको अब आँगनमै पानी आएको छ । दुई घण्टा हिँडेर पानी ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

जनजातिको बसोवास रहेको कल्सेढुंगा गाउँका ३५ घरमा पानीको धारा जडान भएका छन् । गाउँमै रहेको स्कुल र पाहुना घरमा समेत खानेपानीको धारा जडान गरिएको छ । स्थानीयले बाहिरबाट कल्सेढुंगा गाउँमा जाने पाहुनाका लागि बस्नलाई पाहुना घर (अतिथि गृह) निर्माण गरेका छन् ।

हेल्भेटास नेपालको सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजीकरणमा एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमले गाउँमा खानेपानीको सुविधा पु¥याएको हो । परियोजनाका अनुसार ३१ लाख ४९ हजार रुपैयाँ लगानीमा कल्सेढुंगा खानेपानी तथा सरसफाइ योजनामार्फत गाउँमा खानेपानीको सुविधा पुगेको हो । जुन ठाउँको खानेपानी सरसफाइ योजनाको सामाजिक सेवा केन्द्र (सोसेकका संस्थापक अध्यक्ष हिरासिंह थापा लगायतको टोलीले निरीक्षणसमेत गरेका छन् ।

गाउँदेखि करिब २८ सय मिटर दुरीमा रहेको मुहानबाट पानी ल्याइएको छ । गाउँमा क्रमशः एक, तीन र ६ घनमिटरको पानीट्यांकी निर्माण भएका छन् । गाउँमा पर्याप्त खानेपानी सुविधा पुगेपछि स्थानीयले व्यक्तिगत सरसफाइमा समेत ध्यान दिन थालेका छन् भने सरसफाइका सूचकहरू पूरा भएको छ । अहिले गाउँका सबै घरमा भाँडा सुकाउने पक्की चाङ, फोहोर फाल्ने खाडल निर्माण गरेका छन् ।

प्रतिक्रिया